कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

किसानको साथी बन्यो कृषि एप्स

‘स–सानो जानकारी पाउन कहाँ जाँउ भनेर भौतारिनु पर्दैन, ‘एप्स छिटो र सजिलो माध्यम बनेको छ ।’
मधु शाही

बाँके — ‘केएफ’का नामबाट मोबाइल सन्देश आयो । सकुन्तला केसी जुरुक्क उठिन् । चासो दिएर सन्देश पढिन्, जसमा लेखिएको थियो, ‘आलु र तरकारीमा ढुसी नाशक विषादी प्रयोग गर्नुहोला ।’ केएफ भनेको सकुन्तलाको कृषि फ्रेन्ड हो ।

कोहलपुर–७ की ३४ वर्षीया सकुन्तलाले बीएफ (ब्वाइ फ्रेन्ड)को सट्टा रमाइलो भाव र गहिरो अर्थ लाग्ने ठानेर केएफ (कृषि फ्रेन्ड) नामले कृषि एप्स सेभ गरेको बताइन् । अहिले उनका लागि कृषि फ्रेन्ड सबैभन्दा भरपर्दो साथी बनेको छ ।


कृषि एप्समार्फत प्राप्त हुने सूचना यहाँका किसानका लागि महत्त्वपूर्ण बन्दै छन् । कृषि साथीका रूपमा प्रविधि विस्तार भएको छ । प्रविधिको विकाससँगै किसानले पनि आफूलाई अपडेट गरिरहेका छन् । सकुन्तला तरकारी खेती गर्छिन् । त्यसैले यही एप्सले उनलाई कृषिसम्बन्धी जानकारी दिने गरेको छ । उनले तीन वर्षअघि जिल्ला कृषि कार्यालयबाट कृषि सिम ल्याएकी थिइन् । त्यही नम्बरबाट उनले निरन्तर कृषिसम्बन्धी सूचना पाइरहेकी छन् । सकुन्तलाले भनेजस्तै प्रविधिलाई केएफ अर्थात् कृषि फ्रेन्ड बनाएका थुप्रै कृषक छन् यहाँ ।


खजुरा–२ का गेहेन्द्र धितालले पनि कृषि इन्फो सिम प्रयोग गरिरहेका छन् । तरकारी कसरी लगाउने भन्ने विषयमा दिएका सूचना उनी खासै हेर्दैनन् । लामो समयदेखि कृषिमा बिताएका उनी कामले अभ्यस्त भइसकेका छन् । तर, कृषि सूचनाको जानकारी उनलाई मौसम गडबड भएका बेला अत्यन्त आवश्यक पर्छ । खास गरी धान खेती, गहु खेती गर्ने बेला मौसमको जानकारी हुनैपर्छ । ‘मौसम ठिक छैन । आज धान नकाटनु भनेर सूचना आउँछ,’ उनले भने, ‘त्यतिबेला मान्नैपर्छ ।’ मौसमसम्बन्धी जानकारी लिएर धेरै किसानको बाली नष्ट हुनुबाट जोगाएको अनुभव छ ।


किसानहरू आफ्नै काममा व्यस्त हुन्छन् । उनीहरूले बनाएका कृषि योजना भुल्न पनि सक्छन् । त्यस्तो बेला एप्स र एसएमएसले सम्झाएर धेरै गुन लगाएको कृषक धितालले बताए । खजुरा–९ का दिलकुमार रेग्मीले कृषि एप्स चलाउनकै लागि स्मार्ट फोन खरिद गरेका छन् । च्याउ खेती कसरी गर्ने ? यसको सबै जानकारी उनले एप्सबाटै पाएका हुन् । दुई कट्ठा जमिनमा च्याउ खेती गर्दै आएका रेग्मीले च्याउसम्बन्धी कुनै पनि सूचना खोज्नुपर्‍यो भने उनी एप्समा हेर्छन् । ‘स–सानो जानकारी पाउन कहाँ जाउँm भनेर भौतारिनु पर्दैन,’ उनले भने, ‘एप्स छिटो र सजिलो माध्यम बनेको छ ।’


कोहलपुर–५ का ५७ वर्षे किसान पन्टु चौधरीले एप्स डाउनलोड गरेको मोबाइल बोकेका छन् । तर, खोलेर हेर्न त्यति भ्याउ पाउँदैनन् । तरकारी खेती गर्दै आएका उनले १८ वर्षे छोराको सहयोगमा एप्स चलाउन सिक्दै गरेको बताए । एप्समा सूचनाको घण्टी बज्यो भने उनी छोराको सहारा लिन्छन् । ‘पढ्न त्यति जान्दिनँ, छोराले सुनाउँछ,’ पन्टुले रमाइलो मान्दै भने, ‘खेतीबारे सबै जान्दो रहेछ । यो त गज्जबकै जिनिस रहेछ ।’


कृषिमा प्रविधिको भरपूर प्रयोग गर्नेमध्ये अधिकांश युवा रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । उनका अनुसार इन्टरनेटमा सर्च गर्दा कृषि घर, स्मार्ट कृषि, कृषि इन्फो, कृषि गुरुलगायत थुप्रै एप्स पाउन सकिन्छ । जसलाई डाउनलोड गरेर किसानले कृषि उपयोगी जानकारी लिन सक्छन् ।


खास गरी मौसमसम्बन्धी दिइने सूचनाले किसानको खेती बाली सुरक्षित हुने गरेको ढकालले सुनाए । यद्यपि, बाँकेमा अधिकांश किसान प्रविधिको प्रयोग गर्न सिपालु छैनन् । जानेकाले भने सदुपयोग गरेर राम्रो लाभ उठाइरहेका छन् । ‘युवा कृषकचाहिँ सूचना प्रविधिसँग नजिक छन्,’ उनले भने, ‘उनीहरू अपडेट भइरहन्छन् । पाएको सूचना प्रयोगसमेत गर्छन् ।’

प्रकाशित : माघ ६, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?