कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इन्स्टाग्राम, ह्वाट्सयाप र म्यासेन्जर एकीकृत गरिने

एजेन्सी

सिलिकन भ्याली — सामाजिक सञ्जाल फेसबुकले सन्देश प्रवाहका लागि प्रयोग हुँदै आएका म्यासेन्जर, इन्स्टाग्राम र ह्वाट्सयापलाई एकीकृत गर्ने योजना बनाएको छ । फेसबुकका अनुसार तीनवटै एप्लिकेसनहरु हालकै अवस्थामा रहनेछन् ।

इन्स्टाग्राम, ह्वाट्सयाप र म्यासेन्जर एकीकृत गरिने

तर तीनवटै एप्लिकेसनबीच सम्बन्ध स्थापित गरिने भएकाले एकबाट अर्कामा सजिलै सन्देश पठाउन सकिनेछ ।


फेसबुकका अनुसार यसका लागि प्रक्रिया सुरु गरिएको र अझै केही समय लाग्नेछ । यसबारे पहिलो पटक अमेरिकी अखबार न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो । अखबारका अनुसार फेसबुकका संस्थापक मार्क जुकरबर्गको व्यक्तिगत योजनाअनुसार उक्त प्रक्रिया सुरु गरिएको हो ।


प्रक्रिया पूरा भएपछि फेसबुकको म्यासेन्जर प्रयोगकर्ताले सजिलैसँग प्रत्यक्ष रूपमा ह्वाट्सयाप वा इन्स्टाग्राम प्रयोगकर्तालाई सन्देश पठाउन सक्नेछन् । हाल भने यी एप्लिकेसनबीच त्यसरी सन्देश पठाउन वा प्राप्त गर्न सकिँदैन ।


न्युयोर्क टाइम्सका अनुसार तीनैवटा एप्लिकेसन एकीकृत गर्ने प्रक्रिया सुरु भइसकेको छ । यो यस वर्षको अन्त्यसम्ममा सकिने जनाइएको छ । मूलत: सञ्चारका लागि प्रयोग हुने फेसबुक म्यासेन्जर, इन्स्टाग्राम र ह्वाट्सयाप एप्लिकेसन हाल एकअर्काका निकट प्रतिस्पर्धीका रूपमा रहेका छन् ।


तीनवटा एप्लिकेसनका सुविधालाई एउटैमा समावेश गर्ने काम फेसबुकको हो । त्यसो गर्दा फेसबुकलाई अन्यसँग प्रतिस्पर्धा गर्न नयाँ सुविधाहरु विकसित गर्नु नपर्ने देखिन्छ ।


फेसबुकका अनुसार यो प्रक्रियाले आफ्नो सम्भावित ग्राहकलाई सन्देश पठाउन व्यवसायीलाई एउटै मञ्च उपलब्ध गराउनेछ । त्यसका साथै फेसबुकलाई आफ्ना कपितय तथ्यांक प्रयोगकर्तासम्म पुर्‍याउन सहज तथा प्रभावकारी हुने जानकारहरुको भनाइ छ ।


फेसबुक संस्थापक जुकरबर्गले तीनवटा एप्लिकेसनका प्रयोगकर्ताले एउटा मात्रै सञ्चालन गर्दा हुने भएकाले समयको बचतसमेत हुने दाबी गरेका छन् । नयाँ सुविधा सुरु भएपछि फेसबुकले गुगल तथा एप्पलको आईम्यासेजसँग पनि प्रतिस्पर्धा गर्न सक्ने प्रविधिसम्बन्धी अनलाई द भर्जकी मकेना केलीले बताइन् ।


‘हामीले सबैभन्दा उत्तम र प्रभावकारी सन्देश प्रवाह गर्ने उपायको खोजी गरेका हौं । मानिसले सन्देश प्रवाह छिटो, सरल, भरपर्दो र सुरक्षित होस् भन्ने चाहन्छन्,’ फेसबुकले विज्ञप्तिमार्फत भनेको छ । फेसबुकले त्यस्तो एप्लिकेसन व्यवस्थित र प्रभावकारी हुन सक्छ भन्ने बृहत् छलफलपछि काम सुरु गरेको जनाएको छ ।


पछिल्ला दिनमा फेसबुकमाथि आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचना संरक्षण गर्न नसकेको आरोप लागेपछि मार्क जुकरबर्गले नयाँ योजना ल्याएको न्युयोर्क टाइम्सले दाबी गरेको छ । त्यसरी ३ एप्लिकेसनलाई एकअर्कामा लिंक गरिँदा निमयनकारी निकायलाई अर्कोबाट निरीक्षण गर्नसमेत सहज हुने बताइएको छ ।

प्रकाशित : माघ १२, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?