सूचना प्रविधि मेला सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंमा सूचना प्रविधि मेला क्यान इन्फोटेक २०१९ मंगलबारबाट सुरु भएको छ । मेलाको यो २५ औं संस्करण हो । भृकृटीमण्डपमा आयोजित मेलाको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकल बाँस्कोटाले सरकारले डिजिटल नेपालको नारा लिएकाले यो क्षेत्रमा सरकारको ध्यान गएको बताए । 

‘सूचना प्रविधि क्षेत्र व्यक्ति, वर्ग, घरानाको रहेन । घर/घरमा पुग्न पर्‍यो । यसमा क्यान मात्रै होइन, कनेक्टिभिटीको कुरा पनि जोडिन्छ, कनेक्टिभिटी सुदूरपश्चिमदेखि प्रदेश/प्रदेशमा छैन,’ उनले भने, ‘सस्तो र सुलभ पहँुच पुर्‍याउने हिसाबमा काम गरौं ।’

सूचना प्रविधि क्षेत्रलाई विकास गर्न विशेष आर्थिक क्षेत्र (सेज) मा पनि प्राथमिकता दिएको बताए । ‘अब बन्ने सेजमा आईटी क्षेत्रका लागि सम्बन्धित मन्त्रालयमा पठाएका छौ,ं’ उनले भने, ‘काम क्रमश: भइरहेको छ । लगानी सुरक्षित होस्, पारदर्शिता पनि खोजौं ।’

कनेक्टिभिटीमा स्वदेशी व्यवसायीले ठेक्का लिए पनि समयमै काम गर्न नसकेको उनले बताए । ‘सरकारले नबुझेका कुरा बुझाउनु होस् । गतिमा काम गरौं, आफ्ना तर्फबाट पनि इमान्दारिता साथ काम गरौं,’ उनले भने, ‘सरकारले हुम्लाजुम्ला, दार्चुलामा पनि कनेक्टिभिटी पुर्‍याउन चाहन्छ ।’

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आईटी क्षेत्रको कर घटाउनुपर्ने बताए । अनावश्यक करले सेवाग्राहीलाई महँगो पर्ने बताए । व्यवसायीले पनि उपभोक्ताको सन्तुष्टितर्फ ध्यान दिनुपर्ने बताए । ‘सेवा राम्रो नहुञ्जेल व्यवसाय सफल हुँदैन । शुल्कअनुसार सेवा सुविधा दिनुपर्छ,’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले सूचना तथा सञ्चार क्षेत्रमा सरकारी नीति र बजेट हुनुपर्ने बताए । सरकारले डिजिटल नेपालको कुरा गरे पनि कुनै सुविधा दिन नसकेको उनले बताए । सूचना प्रविधिका दक्ष जनशक्ति बढे पनि व्यावसायिक वातावरण बन्न नसकेको उनले बताए ।

‘काभ्रेको आईटी पार्क सदुपयोग हुन सकेको छैन । डिजिटल नेपालको लागि ७ प्रदेशमा आईटी पार्क चाहिन्छ,’ उनले भने, ‘आईटी पार्क हुँदा स्वदेशमै रोजगारी बढ्न सक्छ ।’

क्यान महासंघका महासचिव रञ्जित पोदारका अनुसार मेलामा १७५ स्टल छन् । अधिकांशले नयाँ सफ्टवेयर, हार्डवेयर, प्रविधि र अफररूहरू सार्वजनिक गरेका छन् ।

मेलामा रोबट ब्याटल मुख्य आकर्षण बनेको छ । ‘हरेक वर्ष प्रविधिले फड्को मारेको छ । क्यान इन्फोटेकले डिजिटल पेमेन्टका लागि ठूलो भूमिका खेल्नेछ,’ उनले भने । मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।

मेलामा एकैथलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने जनाएको छ । नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि मेलामा रहेको आयोजकले जनाएको छ ।

मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहने जनाएको छ । मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ । जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल गराइने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा प्रथम र द्वितीय हुने टिमलाई नगद पुरस्कार प्रदान गरिने महासचिव पोदारले बताए । मेला २० गतेसम्म चल्नेछ ।

प्रकाशित : माघ १६, २०७५ ०९:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नलगाड र सेनाबीच सहमति

भीमबहादुर सिंह

जाजरकोट — नलसिंहगाड हाइड्रोपावर कम्पनी र नेपाली सेनाबीच बिस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सहमति (एमओयू) भएको छ । सेनाले पहुँचमार्ग र ड्रिफ्ट टनेल टेस्टमा बिस्फोटक पदार्थ बिस्फोट गराउन कम्पनीसँग आइतबार सहमति गरेको हो ।

सहमति नहुँदा दुई महिनादेखि पहुँचमार्ग निर्माण र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को ड्रिफ्ट टनेल टेस्ट कार्य रोकिएको थियो । दुई पक्षबीच सम्झौता भएपछि सोमबारदेखि कार्यक्षेत्रमा बिस्फोटनको कार्य सुरु भएको ज्वाला दल गणका प्रमुख सेनानी तथा गणपति शैलेन्द्र कोइरालाले बताए । उनका अनुसार केही समय सेनाले एमओयूबिनै बिस्फोटनको कार्य गरेको थियो । एमओयूमा बिस्फोटनमा खटिएका सेनाको बिमा, दैनिक भम्रण भत्ता, खाजा तथा खाना भत्ता, सुरक्षालगायत सेवा सुविधा उल्लेख छ । ‘एमओयू नहुँदा बिस्फोटनजस्तो जोखिमको कार्य कसरी गर्ने भन्ने थियो,’ उनले भने, ‘अब कामले गति लिन्छ ।’

एमओयूका कारण पहुँचमार्गको चट्टानमा खोपेका २ हजार ७ सय ‘होल’ बिस्फोट हुन नसकेको खडका कृष्ण निर्माणका प्रोपाइटर रत्नबहादुर खडकाले बताए । यसले गर्दा पहुँचमार्ग निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । कम्पनीले सेनासँग एमओयू गरिसकेकाले बिस्फोटनको कामले गति लिने उनले बताए । त्यस्तै ड्रिफ्ट टनेल टेस्ट कार्यमा बिस्फोटन नहुँदा डीपीआर अलपत्र परेको कम्पनीका इन्जिनियर पदम थापाले बताए । नलसिंहगाड हाइड्रोपावर कम्पनीको डीपीआर, पहुँचमार्ग, मुआब्जा वितरण, कन्स्ट्रक्सन पावर निर्माणलगायत कार्यमा ढिलाइ भएको थापाले बताए । कम्पनीको डीपीआरमा ढिलाइ हुँदा आयोजना नै अलपत्र पर्ने हो कि भन्ने शंका बढेको थियो । डीपीआर सुरु भएको ३२ महिनामा ६५ प्रतिशत काम मात्र पूरा हुँदा स्थानीय स्तरमा यस्तो शंका गरिएको थियो ।

३० महिनामा सम्पन्न गर्ने सर्तसहित अस्ट्ेरलियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालि जेभीले डीपीआर गर्न नलगाड हाइड्रोपावर कम्पनीसँग सम्झौता गरेका थिए । कम्पनीले ड्रिलिङ कार्य ८० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको उनले बताए । परामर्शदाता कम्पनीले पावरहाउस साइडमा ३ सय ४५ मिटर ड्रिफ्ट टनेल टेस्टको कार्य गर्नुपर्नेमा १ सय ५५ मिटर मात्र भएको उनले बताए । त्यस्तै बाँधस्थलमा २ सय ४० मिटर ड्रिफ्ट टनेल टेस्टको कार्य गर्नुपर्नेमा उक्त कार्य सुरु भएको छैन ।

देशकै ठूलोमध्येको एक हाइड्रोपावर कम्पनीको डीपीआर बन्न ढिलाइ हुँदा जिल्लाबासी चिन्तित बनेका छन् । डीपीआर गर्ने समय अवधि गत मंसिरमा सकिएपछि छ महिना थप गरिएको छ । डीपीआरको महत्त्वपूर्ण पक्ष वातावरणीय प्रभाव मूल्यांकनका लागि गर्नुपर्ने ड्रिफ्ट टनेल टेस्ट कार्य रोकिँदा समस्या भएको थियो ।

प्रकाशित : माघ १६, २०७५ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT