ट्रिनिटी कलेजमा साइटेक म्यानेजमेन्ट एक्स्पो

प्रदर्शनी अवलोकन गर्नेको घुइँचो

काठमाडौँ — ट्रिनिटी इन्टरनेसनल कलेज डिल्लीबजारमा बुधबार अन्य दिनको तुलनामा विद्यार्थीको भीड निकै थियो । विज्ञान, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीले कक्षामा सिकेका सैद्धान्तिक ज्ञान प्रदर्शन गर्न क्याम्पस परिसरमा थुप्रै स्टल राखेका थिए ।

ट्रिनिटी कलेजमा साइटेक म्यानेजमेन्ट एक्स्पो

‘ट्रिनिटी साइटेक म्यानेजमेन्ट एक्स्पो’ नाममा सञ्चालित एकदिने प्रदर्शनीमा काठमाडौंका अन्य कलेजका विद्यार्थीहरूले बनाएका रोबोट, सौर्य उर्जालगायत उपकरण प्रदर्शनी स्टलमा सजाएर राखेका थिए । साथै उनीहरुले प्रदर्शनी अवलोकन गर्नेलाई ती उपकरणको दैनिक जीवनमा उपयोगिताबारे जानकारी गराए । प्रदर्शनीमा राखिएकामध्ये ‘स्मार्ट सिटी’ले अवलोकनकर्ताको ध्यान खिचेको थियो । जुन स्टल पेन्टागन कलेजका मनिष शर्मासहितको टोलीले यो तयार पारेको हो ।


‘यहाँ विमानस्थल नजिकै होटेल र अस्पताल छ । ताकि बाहिरबाट आउनेलाई भित्री सहर पस्न नपरोस्' आफूहरुले बनाएको संरचना देखाउँदै शर्माले भने, 'हवाइ सेवामार्फत आएका बिरामीलाई अस्पताल नजिक परोस् ।’ ढल र त्यसलाई पुन:प्रयोग गर्न सकिने प्रविधि पनि उनको स्मार्ट सिटीमा देखाइएको थियो । सहरभन्दा केही टाढा विश्वविद्यालय राखिएको छ । घरैघर र संरचना भएको सहरमा हरियाली पनि उत्तिकै व्यवस्थापन गरिएको छ ।

यस्तै होटेल व्यवस्थापनका विद्यार्थीले बनाएको योमरी र छोयलाको स्वाद लिइरहेका भेटिए सञ्जीव ठाकुर । ‘यो परिकार पहिले सुनेको थिइनँ,’ उनले थपे, ‘साथीले बोलाएपछि प्रदर्शनी हेर्न आएँ । राम्रै रहेछ ।’ एक्स्पोमा ३ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको कलेजका व्यवस्थापन संकाय निर्देशक दिनेश कट्टेलले बताए ।


एक्स्पो संयोजक मनोज वैश्यले विद्यार्थीको रुची र क्षमता उजागर गर्न प्रदर्शनी आयोजना गरिएको जनाए । राजधानीका अन्य कलेजले आयोजना गर्ने एक्स्पोमा विज्ञानसँग सम्बन्धित सामग्री तथा उपकरणलाई प्राथमिकता दिने भए पनि ट्रिनिटीले व्यवस्थापनका विद्यार्थीहरुको ज्ञान र सीपलाई उत्तिकै महत्व दिएको देखिन्थ्यो ।

वैश्यले भने, ‘व्यवस्थापनका विद्यार्थीको रिसर्च, बिजनेस आइडिया, विभिन्न परिकार सजाएर राखेका छन् ।' प्रदर्शनीमा राष्ट्रिय रोबोटिक्स लिगका नाममा रोबोटहरूको फुटबलसमेत आयोजना गरिएको थियो ।


१८ कलेजले सहभागिता जनाएको एक्सपोमा ट्रिनिटी कलेजका विद्यार्थीले ४१ स्टल राखेका थिए ।

प्रकाशित : माघ १६, २०७५ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?