कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपबाट चालकको निगरानी

परासी — लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने प्रावधान व्यवसायीले नटेरेपछि ट्राफिक प्रहरीले प्रविधिमार्फत त्यसको कार्यान्वयन गर्न थालेको छ । त्यसका लागि पश्चिम नवलपरासीको भुमहीबाट आइतबारदेखि ‘ट्राफिक कम्युनिकेसन एप’ सञ्चालनमा ल्याइएको छ । 

एपबाट चालकको निगरानी

एपमार्फत ट्राफिक प्रहरीले अब लामो दूरीमा सवारी सञ्चालन गर्ने व्यवसायीले एक चालकको भरमा सवारी चलाएको कार्यालयबाटै पत्ता लगाउनेछ । लामो दूरीमा एक चालकले सवारी चलाउँदा थकान बढी हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एपमार्फत निगरानी थालिएको प्रहरीको दाबी छ ।

यसले सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने विश्वास प्रहरीको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा लामो दूरीका सवारी साधनमा २ चालक अनिवार्य हुनुपर्ने प्रावधान भए पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा दुर्घटना बढेपछि नेपाल प्रहरीले प्रविधिमार्फत नियम पालना गराउन सुरु गरेको प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए ।

नेपाल प्रहरीले सुरु गरेको ट्राफिक कम्युनिकेसन एपको आइतबार सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले भुमहीमा उद्घाटन गरेका हुन् । ‘नवलपरासी जिल्ला दुर्घटना बढी हुने स्थानमा पर्छ । यसको प्रयोगले चालकमा सचेतना बढ्ने र थकाइका कारण हुने दुर्घटनामा कमी आउनेछ,’ उनले भने, ‘लामो दूरीका सवारीसँगै अन्य सार्वजनिक सवारीमा पनि यो प्रविधि प्रयोग गरेर तथ्यांक राख्न आवश्यक छ ।’


उनका अनुसार एपमा ट्राफिक सन्देश प्रवाह गर्ने व्यवस्था छ । एप ओराकल कम्पनीले जाभा प्रोग्रामिङबाट एन्ड्रोइड भर्सनमा विकास गरेको हो । एप प्रयोगका लागि एन्ड्रोइड भर्सन ६ वा सोभन्दा माथिको मोबाइल फोन र इन्टरनेटका लागि मोबाइल डाटा वा वाइफाई सुविधा हुनुपर्ने पश्चिम नवलपरासीका ट्राफिक प्रमुख हेमबहादुर शाहीले बताए ।

उनका अनुसार एप प्रयोगकर्ताले सवारी साधन रहेको स्थान थाहा पाउन सक्नेछन् । त्यसैगरी, एपमा चालकको लाइसेन्स नम्बर, टाइम कार्डको समय गुज्रिए/नगुज्रिएको समेत पत्ता लाग्ने सुविधा छ ।

सवारी साधनमा चालक परिवर्तन भए/नभएको र निश्चित विन्दुमा सवारी चालकको तस्बिर खिची सवारी साधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरिन्छ । मुलुकका जुनसुकै कुनाबाट पनि चालकको फोटोसहितको विवरण हेर्न सकिने भएकाले सुरक्षा अवस्था मजबुत पार्न पनि यसले सहयोग पुर्‍याउनेछ ठानिएको छ ।

प्रहरीका अनुसार एप पहिलो चरणमा पश्चिम नवलपरासीको भुमही, बाँकेको कोहलपुर, काठमाडौंको नागढुंगा र सर्लाहीको कर्मैयाबाट सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित : माघ २९, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?