कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तयार भयो हातैले बोक्न मिल्ने साइकल

करीब २० माईलप्रतिघन्टा (एमपीएच) को अधिकतम् बेगमा गुडाउन सकिन्छ
दिनेश यादव

काठमाडौँ — बेलायती एक कम्पनी कम समयमै सजिलसँग फोल्ड गर्न सकिने साईकल बजारमा ल्याएको छ । यसअघि बजारमा रहेको ‘ब्रम्प्सन बाइसाइकल’ कै रुप र आकारलाई थप मोडिफाइ गर्दै ‘गोसाईकल’ ले नयाँ साइकल उपभोक्ता माझ पस्केको हो । ‘गोसाईकल जिएक्स’ नाम दिइएको यो एउटा पूर्ण विद्युतीय बाईसाईकल हो । 

तयार भयो हातैले बोक्न मिल्ने साइकल

यो साईकललाई एक पटक मात्र फोल्ड गरेपछि सजिलै जहाँसुकै पनि लान मिल्छ । घर या कार्यालयको थोरै स्थानमा यसलाई पार्किङ गर्ने सकिने गरि डिजाइन गरिएको छ । धेरै ठाउँ नओगट्ने भएकाले कर्मचारीहरुलाई यसमा यात्रा गर्न सजिलो हुने दाबी कम्पनीको छ ।


निर्माता कम्पनीका अनुसार यो साईकललाई करीब २० माईलप्रतिघन्टा (एमपीएच) को अधिकतम बेगमा गुडाउन सकिन्छ । एक पटक चार्ज गरेपछि ४० माईल्स (६५ किलोमिटर) को यात्रा यसबाट सजिलै गर्न सकिनेछ । यति मात्रै होइन, चार्ज सकिएको अवस्थामा पेडल पनि दिन मिल्ने खालको सुविधा छ ।


रातभरी चार्जमा छाडेर बिहानै आफ्नो गन्तव्यमा पुग्नका आफ्ना साथी बनाउन सकिन्छ । यसमा प्रयोग गरिएको शक्तिशाली लिथियम ब्याट्रीका कारण मात्र ७ घन्टामा यो पूर्ण चार्ज हुन्छ । उपभोक्तामैत्री यो बाइकको पार्टहरु हलुका धातुहरुबाट बनाइएको छ । खासगरी यसको पाङग्रा म्याग्नेसियम मिश्रित धातुबाट निर्माण गरिएको छ ।


यो साईकलको तौल करीब १७ दशमलव ८ किलोग्राम मात्रै छ । यसमा जडान गरिएको एपबाट आफूले पार गरेको दूरी र उक्त दूरी पार गर्न कति क्यालोरी खपत भयो भन्ने जानकारी पनि लिन सकिन्छ । यो साईकललाई मात्र सात सेकेण्डमै फोल्ड या मोड्न सकिन्छ । लुगाफाटा र लगेजसहित सय किलोग्रामसम्मको तौल यो ई–बाइकले सजिलै धान्न सक्छ ।


अप्ठेरो बाटाहरुमा यसलाई फोल्ड गरेर सजिलै बोकेर लान पनि मिल्छ । फोल्ड गरेपछि एउटा ट्राभल सुटकेस झै गुडाएरै समेत लग्न मिल्छ । यो साइकल ‘गोसाइकल’को तेस्रो सदस्य हो । यसअघि कम्पनीले ‘गोसाइकल जीएस मोडल’ र ‘सुपरचार्जड गोसाइकल जीथ्री’ ल्याइसकेको छ । गोसाइकका संस्थापक रिचार्ड थर्पेले भने, ‘हाम्रो पछिल्लो जीएक्स मोडेल साँच्चिकै स्टाइलिस र हलुका छन्, बाटो राम्रो नभएको या चलाउन मन नलागेको अवस्थामा यसलाई फोल्ड गरेर सजिलै डोर्याउन मिल्ने गरी बनाइएको छ । ’


उनले यो बाईसाइकलेले साँच्चीकै दैनिक यात्रालाई सजिलो बनाउने विश्वास आफ्नो रहेको बताए । ‘यो हाम्रो स्वास्थ्यका लागि पनि उपयोगी र सहरी जीवनशैलीलाई थप सुगमताका साथ दिगो बनाउनमा सहयोगी बन्न सक्छ ’ उनले थपे ।


कम्पनीले यो मोडेल प्रि–अर्डरमा हालका लागि बेलायतमा उपलब्ध गराउने जनाएको छ । यसको मूल्य २ हजार ८ सय ९९ पाउण्ड निर्धारण गरिएको छ । भिडभाड भएको बसमा यात्रा गर्दा खेप्नु पर्ने सास्तीलाई यसले कम मात्रै गर्दैन , अनावश्यक रुपमा सडकमा हुने ट्राफिक जामको झनझटबाट पनि मुक्ति दिलाउने कम्पनीले जनायो ।


पैसा र समय दुवैको बचत गर्न यो गोसाइकल जिएक्सले उपभोक्तालाई सहयोग गर्ने दाबी गरिएको छ । अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार यसअघि विश्वकै चर्चित आइकोनिक फोल्डिन बाइक बनाउने बेलायतको लण्डनमा मुख्यालय रहेको कम्पनिले ‘ब्रम्पसन बाइकल’ बनाएको थियो । उक्त बाइकले पनि खुबै चर्चा पाएको थियो ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : फाल्गुन ७, २०७५ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?