बेलायतका सडकमा अब चालकरहित गाडी 

नवीन पोखरेल

लन्डन — बेलायत सरकारले चालकरहित गाडीको प्रविधि परीक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । यस वर्षको अन्तिम सम्ममा परीक्षण गरी सन् २०२१ सम्म बेलायतका सडकमा चालकरहित सवारीसाधन गुडाउने लक्ष्य सरकारको छ ।

सन् २०१७ मा अर्थमन्त्री फिलिप ह्यामण्डले ड्राइभररहित गाडीको प्रविधि विकासका लागि बजेट छुट्ट्याएका थिए । यसका लागि चार वर्षको लक्ष्य राखिएको थियो । विश्वको नयाँ औद्योगिक क्रान्तिको कारक बन्न यस्तो प्रविधि जरुरी भएकाले सरकारले लगानी गर्ने बेलायती अर्थमन्त्रीको उद्घोष थियो ।

Citizen


विश्वमै चालकरहित सवारीसाधन प्रविधिमा बेलायतको अग्रणी भूमिका रहने र यो सुरक्षित हुने सरकारको विश्वास छ । सुरक्षा संवेदनशीलता तथा सावधानीको नियम पालना गर्नुपर्ने भएकाले यस प्रविधिको परीक्षणका लागि बेलायत सरकारले नयाँ सुरक्षा नीति पनि तर्जुमा गरेको छ ।

अमेरिकामा यस्तो प्रविधि विकासमा केही निजी कम्पनी लागेपनि बेलायत सरकार आफैँ यसतिर अग्रसर भएको हो । यस्तो प्रविधिले मानवीय नियन्त्रण हटाएर आफूले चाहेको स्थानमा गाडी ड्राइभ
गर्नेछ ।

बेलायतमा सन् २०१५ मा पहिलोपटक चालकरहित गाडीको सुरक्षा परीक्षण नियम बनाइएको थियो । उक्त परीक्षण नियमावलीमा गाडीको सुरक्षा जानकारी, परीक्षण रिपोर्ट, परीक्षण अगाडि गर्नुपर्ने जोखिम अवधारणा साथै सरकारी निकाय,आपत्कालीन सेवा तथा यस परीक्षणबाट असर पर्ने व्यक्तिहरूलाई खबर गर्नुपर्ने उल्लेख छ ।

सन् २०३५ सम्ममा बेलायतमा ७ करोड ६० लाख चालकरहित सवारी साधन हुने र यस्तो प्रविधिको विकासले बेलायतमा मात्र ५२ अर्ब पाउन्ड बराबरको अटोमोबाइल व्यवसाय फस्टाउने भविष्यवाणी गरिएको अर्थ व्यवस्थापन जानकार विकलचन्द्र आचार्यले बताए । आउँदो १५ वर्षमा मानिसले चलाउने भन्दा चालक बिनै गुड्ने गाडीको सङ्ख्या निकै बढी हुने विश्वास करिब दुई तिहाइ बेलायती सवारी चालकको छ ।

चालकरहित गाडीको विकासको सबैभन्दा ठुलो फाइदा सडक दुर्घटना कम हुनुका साथै कन्जेसन कम हुने भएकाले व्यापक जनसमर्थन छ । प्रविधि विकाससँगै सवारीसाधन व्यवसायमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ ।

चालकरहित कारभित्र रहने सेन्सरले ठुलो परिणाममा तथ्याङ्क निकाल्छ । जति यस्तो प्रविधिको विकास हुन्छ, तथ्यांकहरु नयाँ, परिस्कृत र शक्तिशाली हुने विश्वास गरिएको छ । प्रविधिको नयाँ विकाससँगै जनविश्वास तथा व्यवसायका अरू आयाम पनि थपिँदै जाने छन् ।

चालकरहित गाडी प्रविधिका आलोचकहरूले भने सरकारले व्यक्तिमाथि निगरानी तथा नियन्त्रण बढी गर्ने भन्दै विरोध गरेका छन् । चालकरहित गाडीको पांग्रामा इन्टरनेट जडित कम्प्युटर हुने भएकाले राज्यलाई को कहाँ छ भन्ने थाहा पाउन सजिलो हुने र व्यक्तिको गोपनीयता कम हुने आलोचकहरूको तर्क छ ।

विश्वमा गाडी सुरुवातको इतिहास १३० वर्ष लामो छ । यो इतिहासमा प्रविधिको विकास रफ्तारमा अगाडि बढेको छ । अहिले सामान्य लाग्ने गाडीको बत्ती, सिट बेल्ट, वाइपर आदि आविष्कारताका अनौठो ठानिएका थिए ।

प्रकाशित : फाल्गुन १९, २०७५ १७:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल-भारत सीमाबाट दुई युवतीको उद्धार, तीन मानव तस्कर पक्राउ

कमल पन्थी

बर्दिया — रसुवाकी दुई युवतीलाई प्रहरीले नेपाल-भारत सीमाबाट उद्धार गरेको छ । साविक यार्सा गाविस ५ कि १८ र २० वर्षीया ती युवतीलाई कुवेत र ओमनमा रोजगारी दिने भन्दै भारतको दिल्ली लैजाने क्रममा बढैयाताल गाउँपालिका-८ कर्णालीपुरबाट उद्धार गरिएको हो ।

तीन दलाललाई पक्राउ गरी उनीहरुलाई उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रकाउ परेका सुर्खेत गुर्भाकोट नगरपालिका ११ का ओकिलबहादुर मल्ल, दाङ तुलसीपुर-५ कि मैमी सार्की र रसुवा यर्सा गाउँपालिका १ का कामी थोक्रालाई मानव बेचविखन विरुद्धको मुद्दा दायर गरिएको छ । सार्की दिल्ली बसेर मानव बेचविखनको काम गर्दै आएको ईलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले जनाए । सार्की पनि एक वर्ष ओमन बसेर फर्केको कान्तिपुरसँग बताइन् ।

पक्राउ परेका मल्ल दिल्लीमा मम बेच्ने गरेका छन् । थोक्राले एक वर्षअघि विवाह गरेकी श्रीमतीसमेत बेचेको आशंका प्रहरीको छ । प्रहरीले तीन जनाविरुद्ध आइतबार मानव बेचबिखनको मुद्दा दायर गर्दै अदालतबाट सात दिनको म्याद लिएको छ ।

गत साउन यता प्रहरीले भारत लैजान लागेका १० जना महिला बालबालिकालाई उद्धार गरेको छ ।

प्रकाशित : फाल्गुन १९, २०७५ १७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT