बेलायतका सडकमा अब चालकरहित गाडी 

नवीन पोखरेल

लन्डन — बेलायत सरकारले चालकरहित गाडीको प्रविधि परीक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । यस वर्षको अन्तिम सम्ममा परीक्षण गरी सन् २०२१ सम्म बेलायतका सडकमा चालकरहित सवारीसाधन गुडाउने लक्ष्य सरकारको छ ।

बेलायतका सडकमा अब चालकरहित गाडी 

सन् २०१७ मा अर्थमन्त्री फिलिप ह्यामण्डले ड्राइभररहित गाडीको प्रविधि विकासका लागि बजेट छुट्ट्याएका थिए । यसका लागि चार वर्षको लक्ष्य राखिएको थियो । विश्वको नयाँ औद्योगिक क्रान्तिको कारक बन्न यस्तो प्रविधि जरुरी भएकाले सरकारले लगानी गर्ने बेलायती अर्थमन्त्रीको उद्घोष थियो ।


विश्वमै चालकरहित सवारीसाधन प्रविधिमा बेलायतको अग्रणी भूमिका रहने र यो सुरक्षित हुने सरकारको विश्वास छ । सुरक्षा संवेदनशीलता तथा सावधानीको नियम पालना गर्नुपर्ने भएकाले यस प्रविधिको परीक्षणका लागि बेलायत सरकारले नयाँ सुरक्षा नीति पनि तर्जुमा गरेको छ ।


अमेरिकामा यस्तो प्रविधि विकासमा केही निजी कम्पनी लागेपनि बेलायत सरकार आफैँ यसतिर अग्रसर भएको हो । यस्तो प्रविधिले मानवीय नियन्त्रण हटाएर आफूले चाहेको स्थानमा गाडी ड्राइभ

गर्नेछ ।


बेलायतमा सन् २०१५ मा पहिलोपटक चालकरहित गाडीको सुरक्षा परीक्षण नियम बनाइएको थियो । उक्त परीक्षण नियमावलीमा गाडीको सुरक्षा जानकारी, परीक्षण रिपोर्ट, परीक्षण अगाडि गर्नुपर्ने जोखिम अवधारणा साथै सरकारी निकाय,आपत्कालीन सेवा तथा यस परीक्षणबाट असर पर्ने व्यक्तिहरूलाई खबर गर्नुपर्ने उल्लेख छ ।


सन् २०३५ सम्ममा बेलायतमा ७ करोड ६० लाख चालकरहित सवारी साधन हुने र यस्तो प्रविधिको विकासले बेलायतमा मात्र ५२ अर्ब पाउन्ड बराबरको अटोमोबाइल व्यवसाय फस्टाउने भविष्यवाणी गरिएको अर्थ व्यवस्थापन जानकार विकलचन्द्र आचार्यले बताए । आउँदो १५ वर्षमा मानिसले चलाउने भन्दा चालक बिनै गुड्ने गाडीको सङ्ख्या निकै बढी हुने विश्वास करिब दुई तिहाइ बेलायती सवारी चालकको छ ।


चालकरहित गाडीको विकासको सबैभन्दा ठुलो फाइदा सडक दुर्घटना कम हुनुका साथै कन्जेसन कम हुने भएकाले व्यापक जनसमर्थन छ । प्रविधि विकाससँगै सवारीसाधन व्यवसायमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ ।


चालकरहित कारभित्र रहने सेन्सरले ठुलो परिणाममा तथ्याङ्क निकाल्छ । जति यस्तो प्रविधिको विकास हुन्छ, तथ्यांकहरु नयाँ, परिस्कृत र शक्तिशाली हुने विश्वास गरिएको छ । प्रविधिको नयाँ विकाससँगै जनविश्वास तथा व्यवसायका अरू आयाम पनि थपिँदै जाने छन् ।


चालकरहित गाडी प्रविधिका आलोचकहरूले भने सरकारले व्यक्तिमाथि निगरानी तथा नियन्त्रण बढी गर्ने भन्दै विरोध गरेका छन् । चालकरहित गाडीको पांग्रामा इन्टरनेट जडित कम्प्युटर हुने भएकाले राज्यलाई को कहाँ छ भन्ने थाहा पाउन सजिलो हुने र व्यक्तिको गोपनीयता कम हुने आलोचकहरूको तर्क छ ।


विश्वमा गाडी सुरुवातको इतिहास १३० वर्ष लामो छ । यो इतिहासमा प्रविधिको विकास रफ्तारमा अगाडि बढेको छ । अहिले सामान्य लाग्ने गाडीको बत्ती, सिट बेल्ट, वाइपर आदि आविष्कारताका अनौठो ठानिएका थिए ।

प्रकाशित : फाल्गुन १९, २०७५ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?