काठमाडौँ — अन्तरिक्ष वैज्ञानिकहरूले पहिलोपटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक गरेका छन् । इभेन्ट होराइजन टेलिस्कोप (ईएचटी) परियोजनामा सामेल वैज्ञानिकहरूले विश्वभरका ६ वटा दूरबिनको उपयोग गर्दै यो तस्बिर निकालेका हुन् ।
यसलाई अन्तरिक्ष विज्ञानमै ठूलो फड्को मानिएको छ । विश्वका ६ ठाउँमा पत्रकार सम्मेलन गरेर ब्ल्याक होलको वास्तविक तस्बिर सार्वजनिक गरिएको हो । यसअघि फिल्म, तस्बिरलगायत मार्फत सार्वजनिक ब्ल्याक होलको तस्बिर काल्पनिक थियो ।
आकाशगंगा ‘एम ८७’ मा ५ करोड ५० लाख प्रकाशवर्ष टाढा रहेको यो ‘ब्ल्याक होल’ को तस्बिरमा ग्यास र प्लाज्माको सुन्तला रङको प्रकाश निस्किरहेको देखिएको छ । ब्रह्माण्डको दूरीमा भने करिब ५ करोड ५० लाख प्रकाशवर्षको दूरीलाई अति कम मान्ने गरिन्छ । सूर्यको प्रकाश पृथ्वीसम्म पुग्न करिब साढे ८ मिनेट लाग्छ । प्रकाश एक वर्षमा जति टाढासम्म पुग्छ त्यसलाई एक प्रकाश वर्ष भनिन्छ ।
‘यो तस्बिरमा कैद भएको प्रकाश ५ करोड ५० लाख प्रकाशवर्ष अगाडिको हो,’ नेपाली भौतिकशास्त्री एवं ब्ल्याक होलमै विद्यावारिधि गरेका प्राध्यापक डा.उदयराज खनालले कान्तिपुरसँग भने, ‘त्यो बेलाको प्रकाश भर्खर आइपुगेको हो ।’ वैज्ञानिकहरूले ब्ल्याक होलको तस्बिर कैद गर्नु असम्भव ठानिरहेका थिए । ‘कालो धब्बा कसरी देख्ने ? देखिँदैन भनेर सबै चुप लागेर बस्थे,’ डा.खनालले भने । ब्ल्याक होलको तस्बिर खिच्नु सुरुवात मात्र भएको र अब यसको डाइनामिक्स, विकासक्रम आदिको अध्ययन गर्न उपयोगी हुने खनालले बताए । ‘तर यसको फल पाउन निकै समय लाग्न सक्छ, यो आइन्स्टाइनको समीकरणअनुसार नै हो, तर सय वर्षपछि थाहा पाइयो,’ खनालले भने ।
ब्ल्याक होलको तस्बिर खिच्न म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, अमेरिका र म्याक्स प्लैक इन्स्टिच्युट, जर्मनीको अगुवाइमा खगोल वैज्ञानिकहरूले विश्वभर फैलिएको रेडियो टेलिस्कोपको एउटा नेटवर्क बनाएका थिए । यसैलाई इभेन्ट होराइजन टेलिस्कोप परियोजना भनिन्छ । अमेरिकाको हवाई तथा एरिजोना, स्पेन, मेक्सिको, चिली र दक्षिण ध्रुवमा रहेको टेलिस्कोपलाई जोडेर एउटा ठूलो टेलिस्कोप बनाइएको हो । यसै टेलिस्कोपको सहयोगमा वैज्ञानिकहरूले आकाशगंगाको केन्द्रमा स्थित ‘मेसियर ८७’ ब्ल्याक होलको अध्ययन गरेका हुन् ।
के हो ब्ल्याक होल ?
ब्ल्याक होल धेरै शक्तिशाली गुरुत्त्वाकर्षण क्षेत्र भएको खगोलीय शक्ति हो । यसको तान्ने क्षमताले केही पनि बाँच्न सक्दैन । ब्ल्याक होलको चारैतिर एउटा सीमा हुन्छ । त्यो सीमालाई इभेन्ट होराइजन भनिन्छ । त्यसमा वस्तु झर्न त सक्छ तर फिर्ता आउन सक्दैन । यसैले यसलाई ब्ल्याक होल भनिएको हो । यसले आफू माथि पर्ने सबै प्रकाशलाई अवशोषित गरेर त्यसको सट्टामा केही परावर्तित गर्दैन ।
ब्ल्याक होल अत्यन्त घनत्व भएको पिण्ड हो । यसको गुरुत्त्वाकर्षणबाट प्रकाशको किरणलाई समेत बाँच्न सम्भव छैन ।
ब्ल्याक होलको अस्तित्वको सिद्घान्त १८ औं शताब्दीमा गुरुत्त्वाकर्षणको नियमको आधारमा आयो । यसअनुसार कुनै पिण्डको जति बढी द्रव्यमान (भार) हुन्छ या त्यसको आकार जति सानो हुन्छ, त्यो पिण्डको सतहमा त्यति नै बढी गुरुत्त्वाकर्षणको बल अनुभव हुन्छ । जब एउटा विशाल ताराको मृत्यु हुन्छ अनि ब्ल्याक होल जन्मिन्छ । ठूलो ताराको मृत्युपछि यो यति बढी खुम्चिन्छ कि सबैथोक आफ्नैभित्र समाउन थाल्छ । ब्ल्याक होलको भित्र हेर्नसमेत असम्भव छ ।
प्रकाशित : चैत्र २९, २०७५ १२:२८