१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

भ्यागुता अध्ययनका लागि पहिलो पटक नागरिक वैज्ञानिक अभियान

गोविन्द पोखरेल

काठमाडौँ — भ्यागुता प्रजातिको पहिचान,अध्ययन र संरक्षणका लागि पहिलो पटक ‘नागरिक वैज्ञानिक’ अवधारणमा आधरित अभियान सुरु गरिएको छ । भ्यागुताको अनुसन्धान, संरक्षण,सम्वर्द्धन र जनचेतना फैलाउने उद्देश्यले वातवरण संरक्षण तथा अध्ययन केन्द्र (इन्प्रोक्स), उभयचर तथा सरिसृपका साथीहरु (क्यारोन),वन्यजन्तु संरक्षण संघ (डब्लूसीएन)नेपाल, गोल्डेन गेट कलेज लगायत अन्य संस्थाहरुले पहिलो पटक ‘क्रोकिङ मनसुन–२०१९ः भ्यागुता तथा पोखरी खोजका लागि नागरिक अभियान’ सुरु गरेका हुन् ।

भ्यागुता अध्ययनका लागि पहिलो पटक नागरिक वैज्ञानिक अभियान

विगतका वर्षहरुमा पनि काठमाडौं उपत्यकामा भ्यागुताका प्रजातिको अध्ययन गरिएपनि नागरिक वैज्ञानिक अवधारणा प्रयोग गरी पहिलो पटक सुरु गरिएको अभियानका संयोजक एवं क्यारोनका उभयचर तथा सरिसृप अध्येता प्रकाशचन्द्र अर्यालले जानकारी दिए ।


वैज्ञानिक अनुसन्धानमा योगदान गर्ने सर्वसाधरणहरुलाई नागरिक वैज्ञानिक भनिन्छ । अभियान अन्तर्गत पहिलो चरणमा सर्वसाधरणहरुलाई उपत्यकामा पाइने भ्यागुताको प्रजातिबारे जानकारी र बासस्थाको तथ्यांक लिइने इन्प्रकोक्सका सचिव एवं वैज्ञानिक चन्द्रमणि अर्यालले जानकारी दिए ।


अभियानको दोस्रो चरणमा ताल तथा पोखरी र त्यहाँ हुनसक्ने भ्यागुताहरुको पहिचान गरी तस्बिर लिइनेछ । सम्बन्धित विज्ञहरुले तस्बिरको आधारमा भ्यागुताको प्रजातिहरु पहिचान गर्नेछन् ।


किन अध्ययन गर्न लागियो भ्यागुता ?

बढ्दो सहरीकरण,प्रदूषण र पानीका स्र्रोतहरु सुख्न थालेपछि काठमाडौंका पाइने भ्यागुताहरु समस्यामा पर्न सक्ने भएकाले अभियान सञ्चालन गर्न लागिएको डब्लूसीएनकी निर्देशक एवं वातवरणविद् सञ्जिवनी योञ्जनले बताइन् ।

पारिस्थितकीय प्रणालीमा भ्यागुता लगायतका जीवहरुले खाद्य चक्रमा महत्वपूर्ण योगदान गर्छन् । भ्यागुता जस्ता उभयचर जीवहरुको संख्या घट्दा मानिसको दैनिक जीवनमा असर गर्नु साथै लामखुट्टे लगायतका किराहरु बढ्ने सक्ने भएकाले पनि भ्यागुताको अनुसन्धान तथा संरक्षण आवश्यक रहेको जैविक विविधता विज्ञ एवं साउथ चाइना एग्रिकल्चरल युनिभर्सटिको विद्यावारिधी शोद्यार्थी दीपक खड्का बताउँछन् । उनका अनुसार भ्यागुताले लामखुट्टे लगायत अन्य किट/किराहरु खाइदिएर मानव तथा बालिमा लाग्ने रोगहरु नियन्त्रण गर्न महत्वपूर्ण योगदान गर्छ ।


काठमाडौंमा कति छन् भ्यागुताका प्रजाति ?

नेपालमा हालसम्म ५६ प्रजातिका उभयचर(जमिन र पानी दुवैमा बस्ने जीव)हरु पाइन्छन् । एम्फिबिया वेभका अनुसार नेपालमा ५३ प्रजातिका भ्यागुताहरु पाइन्छन् । जसमध्ये काठमाडौं उपत्याकामा यसअघि गरिएका अनुसन्धानबाट १० प्रजातिका भ्यागुताहरु पाइएको थियो ।

काठमाडौंमा पाइने भ्यागुताका प्रजातिहरुमा एमोलोप्स फर्मोसस, माइक्रोहाइला ओर्नाटा, नानोराना लेबिगी लगायत छन् । सन् २०१३ मा गरिएको अनुसन्धानमा काठमाडौं उपत्याकामा ८,सन् २०१८ मा १० प्रजातिका भ्यागुता भेटिएपछि अनुसन्धाकर्ताहरु उत्साहित छन् । यस वर्षको यो अभियानमा अघिल्ला वर्षहरुमा गरिएको अनुसन्धानभन्दा फरक आउने अपेक्षा लिइएको आयोजक संस्थाहरुले दाबी गरेका छन् ।


कम छ भ्यागुताको अनुसन्धान् :

सन् २००४ पछाडि विश्वमा प्रत्येक वर्ष कम्तिमा सयवटा नयाँ प्रजाति पत्ता लाग्ने गरेको छ । पृथ्वीमा हालसम्म ८ हजार ७२ प्रजातिका उभयचर पाइएको छ । जसमध्ये ७ हजार १२२ प्रजातिका भ्यागुता पाइन्छन् । ती मध्ये नेपालमा ५३ प्रजातिको अभिलेख देखिन्छ । प्रदूषित सहर काठमाडौंमा मात्रै १० प्रजातिका भ्यागुताहरुको अभिलेख हुन्छ भने नेपालमा भ्यागुताको संख्या ५३ नभएर त्यो भन्दा बढी हुनसक्ने अनुसन्धानकर्ता अर्यालको दाबी छ ।


पारिस्थितकीय प्रणालीको सन्तुलन,वातवरणीय सन्तुलन,लामखुट्टे तथा किरा नियन्त्रण,पानी शुद्धिकरण,उत्पादकत्व बढाउनका लागि भ्यागुताको भूमिका महत्वपूर्ण मानिन्छ । सफा पानीमा मात्र पाइने एमोलोप्स फर्मोसस् जस्ता भ्यागुताका प्रजातिहरु जैविक सूचक रुपमा लिइने गरिन्छ ।


खानाका लागि पाहा प्रजातिको भ्यागुताको शिकार, कक्षा ११मा प्रयोगात्मक अभ्यासमा प्रयोग, भू–उपयोगमा आएको परिवर्तन्, पानीको प्रदूषण जस्ता अन्य मानवीय क्रियाकलापहरुले भ्यागुताको प्रजाति संकटमा पर्दै गइरहेका छन् ।

जलवायु परिवर्तनका कारण भ्यागुताको विशिष्ट किसिमको जीवनचक्रमा पनि असर पर्याउने गरेको छ । ‘गोल्डेन टोड’ प्रजातिको भ्यागुता संसारबाटै लोप भएर जानुमा जलवायु परिवर्तनलाई पनि कारक मानिन्छ ।


नेपालमा कृषि क्षेत्रमा विषादीहरुको प्रयोगले ससना जीवहरुमा नकारात्मक प्रभाव पर्दै गएपनि पर्याप्त अनुसन्धान नभएको इन्प्रोक्सका सचिव चन्द्रमणि अर्यालले बताए । उनका अनुसार भ्यागुता सम्बन्धिको अनुसन्धान धेरै कम हुँदा यसका अन्य आयामहरु बारे बुझ्न कठिनाई भइरहेको छ ।


नागरिक वैज्ञानिक अवधारणा अन्तर्गत यस वर्ष भ्यागुता सम्बन्धि जनचेतना फैलाउने,अनुसन्धान गर्ने,प्रजाति पहिचान गर्ने, जस्ता अन्य कार्यहरु गरिने अभियानका संयोजक अर्यालले जानकारी दिए । अभियान यो मनसुनभर चल्नेछ । भ्यागुता तथा काठमाडौंका पोखरीसम्बन्धि रुची राख्ने सबैले सहभागिता जनाउन सकिने उनले बताए । हाल यो अभियानमा विभिन्न विश्वविद्यालय तथा संरक्षण क्षेत्रमा काम गर्ने संस्थाहरुका प्रतिनिधि, विद्यार्थी,अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्रकृतिमा अभिरुची राख्ने सर्वसाधारणहरु जोडिएका छन् ।

प्रकाशित : श्रावण २५, २०७६ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?