इतिहास पुरुष : ‘तीन लाल’को सालिक बेहाल

गणेश राई

मन्थली — रामेछाप जिल्लाको सदरमुकाम मन्थली फाँट । यही फाँटको एक तह उचाईको टारमा माझीबस्ती फैलिएको छ । यही माझी बस्तीको तल्लो छेउतिर थोरै क्षेत्रफल पर्खाल र तारबारभित्र एउटै ठाउँ तीन ऐतिहासिक पुरुषको अर्धकदको सालिक राखिएका छन् । जसलाई भनिने रहेछ– ‘तीन लाल ।’

सालिकको बायाँबाट क्रमश: सहिद गंगालाल श्रेष्ठ, कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र राणाकालमा ‘मकैखेती’ पुस्तकका लेखक कृष्णलाल अधिकारी रहेछन् । सालिकको अगाडि भागमा लेखिएका यी व्यक्तित्वको नामको अक्षर खुइलिइसकेका छन् । यी ढुंगेसालिक मूर्तिकार रामकृष्ण भण्डारीले कुँदेका हुन् । मुस्किलले अनुमान गर्न सकिने मिति २०५२ साल उल्लेख छ । कसले बनाएको भन्ने कतै देखिदैन । जिल्ला विकास समितिको सहयोगमा बनाइएको भन्ने स्थानीय बताउँछन् । सालिकमा उल्लेख परिचय खुइलिइसकेकोले नवआगन्तुक जोकोहीले यी ‘तीनलाल’बारे जानकारी पाउने नसक्ने स्थिति छ ।
 
वरिपरि बोटबिरुवा रोपिएका छन् । सरसफाई कसैले गरेका छैनन् । मन्थली पुगेका आगन्तुहरू यस ठाउँमा पुग्छन् । साहित्यकार तथा समाजसेवी जगदीश घिमिरे प्रतिष्ठानको निमन्त्रणामा मन्थली पुगेको साहित्यकार टोलीलाई यहाँ अवलोकन गराइएको थियो । वरिष्ठ नाटककार अशेष मल्ल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मातृका पोखरेल, साहित्यकारहरू रोचक घिमिरे, ज्ञानुवाकर पौडेल, महेश प्रसाई, लक्ष्मण गाम्नागे, रमेश पौडेल, रुपक बनबासी, पत्रकार राजकुमार बानियालगायत सहभागी थिए । मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले अवलोकन गराएका थिए ।

को हुन् तीनलाल ?
देश नेपालमा जहानियाँ राणाशासनबाट मुक्ति दिलाउने चार सहिदमध्ये गंगालाल श्रेष्ठ एक हुन् । उनी काठमाडौं जन्मिएका र पिता भक्तलाल श्रेष्ठको जागिरको सिलसिलामा रामेछापमा हुर्किएका थिए । उनकै भाइ हुन्– पुष्पलाल । पुष्पलाल रामेछापको भँगेरीमा जन्मे, हुर्केका थिए । उनी जन्मिएको घर भत्किइसकेको छ भने उक्त ठाउँमा एउटा ढुंगा चिनो राखिएका छ । 

कृष्णलाल अधिकारीलाई नेपालका प्रथम साहित्यिक सहिदका रुपमा लिइन्छ । रामेछापकै कठजोर गाविस–६ तिल्पुङ गाउँ (हाल– मन्थली नगरपालिका–४)मा वि.सं. १९४४ माघ २४ गते उनको कृष्णलाल अधिकारीको जन्म भएको थियो । राणा कालमा मालअड्डाका सुब्बा रहेका कृष्णलालले ‘मकैको खेती’ भन्ने किताब लेखेवापत राणाशासक जेल हालेका थिए । उक्त किताबमा उनले मकै खेती गर्दा, मकै भण्डारण गर्दा दुई किसिमको कीरा लाग्ने उल्लेख गरेका थिए । ‘कालाटाउके’ र ‘राताटाउके’ कीरा लाग्ने, त्यसमध्ये राताटाउके खतरनाक हुन्छ भनेर उल्लेख गरेका थिए । त्यसरी ‘राताटाउके’ भनेर राणाशासकलाई लक्षित गरेको भन्दै उनका विपक्षले शासकलाई पोल लगाउपछि जेल हालिएका थिए । १९८० सालमा कारागारमै उनको निधन भएको थियो ।

दलीय पकड
रामेछापमा जन्मे तथा हुर्केका यी तीन व्यक्तित्वलाई विशेषगरी नेकपा (एमाले) ‘तीनलाल’को उपमा दिएर उसकै अगुवाईमा सालिक २०५४ सालतिर सालिक स्थापना गरिएको हो । एमालेनिकटले ‘तीनलाल एफएम’ रेडियो नै सञ्चालन गर्दैआएका छन् । यो कामलाई नेपाली कांग्रेस पक्षले त्यत्ति रुचाएका छैनन् । ‘यी ‘तीनलाल’को सालिकमा वर्षमा एक दिन (माघ १६ गते सहिद दिवस)मात्र फूलको थुँगा चढाउने काम भइआएको छ,’ डा. कर्माचार्य भन्छन्, ‘यसरी ऐतिहासिक व्यक्तित्वको अपमान गर्नुभन्दा सालिक नै नबनाएको भए वेश हुन्थ्यो ।’ यी व्यक्तित्वले देशका निम्ति बलिदानी गरे भन्ने इतिहास साक्षी छ । तर, पिछडिएको माझी बस्ती माझ सालिक स्थापना गर्नुको औचित्यसमेत पुष्टि भएको छैन । सालिक निर्माणले उनीहरूको बस्तीको शोभा बढ्न सकेको छैन ।  

प्रकाशित : पुस २०, २०७३ २०:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कार्यकर्ता खुसी पार्न अधिकांश बजेट मठमन्दिरमा खर्च

निर्वाचन क्षेत्र लक्षित पूर्वाधार विकास कार्यक्रम
कान्तिपुर जिल्ला ब्युरो

काठमाडौं — मध्य तथा पश्चिम तराईका जिल्लाबाट प्रतिनीधित्व गर्ने सांसदले निर्वाचन क्षेत्र लक्षित पूर्वाधार बिकास कार्यक्रमको अधिकांश बजेट धार्मिक र सामुदायिक भवन निर्माणमा विनियोजन गरेका छन् । उनीहरुले अधिकांश मदरसा, गुम्वा र मठ मन्दिर मर्मत तथा पूर्वाधार निर्माणका योजना पेश गरेर स्वीकृत गराएका छन् । आवश्यकताभन्दा मतदाताको चाहनालाई ध्यानमा दिएर योजना बनाइएको देखिन्छ ।

योजना छनोटका विषयमा सर्लाहीबाट अमन कोइराला, कपिलबस्तुबाट मनोज पौडेल, नवलपरासीबाट नविन पौडेल, मकवानपुरबाट प्रताप बिष्टको र रुपन्देहीबाट अमृता अनमोलको रिपोर्ट : 

सर्लाहीका ५ जना सांसदले पेस गरेका १ सय २४ योजनामध्ये २८ वटा धार्मिक क्षेत्रका छन् । त्यसैगरी २८ वटा योजना धर्मशाला र सामुदायिक भवन निर्माणका छन् । अधिकांशले १० लाख रुपैयाँभन्दा माथिका बढीमा २५ योजना बनाउन पाउने प्रावधानभित्र रहेर यस्ता योजना बनाएका छन् ।  

क्षेत्र नम्बर ६ को योजना बुधबारसम्म जिविसमा पेस भएको छैन । बाँकी ५ क्षेत्रका योजना उल्लेखनीय र परिवर्तनमुखी देखिँदैनन् । क्षेत्र नं. १ मा तीन धार्मिक क्षेत्र र १ सामुदायिक भवनको कार्यक्रम छ । क्षेत्र २ मा ७ धार्मिक र १ धर्मशाला, क्षेत्र ३ मा १४ धर्मशाला र सामुदायिक भवन, क्षेत्र ४ मा ८ धार्मिक क्षेत्र र ७ धर्मशालाको योजना स्वीकृत भएको छ । क्षेत्र ५ मा ९ धार्मिक क्षेत्र र ५ धर्मशालाका लागि बजेट छुट्याइएको छ । 

यस वर्षदेखि सांसद क्षेत्रका लागि खर्च गर्न पाउने बजेट बढेर ३ करोड पुगे पनि कुनै क्षेत्रमा ठूला योजना भने छैनन् । सडक स्तरोन्नति, ग्राभेल, कलभर्ट निर्माण, सोलर प्यानल वितरण, विद्यालय भवन, विद्यालयलाई ल्यापटप वितरण जस्ता थप योजनासमेत छन् । जनताको प्रत्यक्ष सरोकार भएका भन्दा कार्यकर्ता पोस्ने योजना बढी भएको नागरिक अगुवा रजनीकान्त झाले बताए । 

‘उत्पादनमुखी र जिल्लालाई आत्मनिर्भर बनाउने योजना देखिँदैन,’ उनले भने, ‘विकास लक्ष्य हासिल नहुुनुको कारण यही हो । सांसदले भोट भन्दा पनि विकास लक्ष्य हासिल गर्ने योजना बनाएर समाजलाई अघि बढाउनुपर्ने हो ।’ सडक, तटबन्ध र बजार विस्तारका योजनाभन्दा धर्मशाला र मठ–मन्दिरमा ठूलो धनराशि खर्च गर्नु गलत परिपाटी भएको उनले औंल्याए ।

कपिलवस्तुका थरूहट पार्टीबाट समानुपातिक सांसद गोपाल दहितले छनोट गरेका २० योजनामध्ये १७ वटा थारू समुदायका देवता डिउहार बाबाको मन्दिर निर्माण र मर्मत परेका छन् । बाँकी ३ योजना एउटा शिव मन्दिर निर्माण र एउटा थारू संग्रहालयको छत ढलानका लागि छ । उनले एउटा प्रतीक्षालय निर्माणलाई योजनामा राखेका छन् । उनले ५० लाखमध्ये ३६ लाख ५० हजार रुपैयाँ डिउहार बाबाको मन्दिरका लागि विनियोजन गरेका छन् । 

अर्का सांसद अकवालअहमद शाहले २३ योजनामध्ये १० योजना मदरसा मर्मत, कब्रस्थान र इदगाह निर्माण र मर्मतका छानेका छन् । हिन्दु मन्दिर निर्माणका लागि पनि एक लाख छुट्याएका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमको धेरै बजेट धर्मकर्ममा छुट्याइएको छ । तमलोपाबाट समानुपातिक सांसद शाहले पनि २६ लाख ५० रुपैयाँ बजेट धार्मिक क्षेत्रमा छुट्याएका हुन् ।
 
सांसद अभिषेकप्रताप शाहले १८ योजनामध्ये ९ मन्दिर निर्माण र मर्मतमा छुट्याएका छन् । अर्का सांसद नरसिंह चौधरीले पकडी गाविसका पूर्वअध्यक्ष रामश्वारे चौधरीको मूर्ति बनाउन ५ लाख रुपैयाँ छुट्याएका छन् । एमाले सांसद बलराम अधिकारीले ३ ठाउँमा थारू समुदायका डिउहार बाबाको मन्दिर बनाउन र एक ठाउँमा दुर्गा मन्दिर बनाउन ४ लाख रुपैयाँ विनियोजन गरेका छन् । 

कांग्रेसका सांसद अतहरकमाल मुसलमानले पनि मन्दिर निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमको ९ लाख रुपैयाँ विनियोजन गरेका छन् । उनका २० मध्ये ७ योजना मन्दिर निर्माणका छन् । कांग्रेस सभासद सुरेन्द्रराज आचार्यले महराजगन्जमा जेपी स्मृति भवन बनाउन १० लाख रुपैयाँ विनियोजन गरेका छन् । उनले क्षमता विकास, भवन निर्माण र खेलकुलकालागि भन्दै ४ संस्थालाई ७ लाख रुपैयाँ विनियोजन गरेका छन् । धार्मिक कामका २ योजनाका लागि साढे ३ लाख रुपैयाँ विनियोजन गरेका छन् । 

सडक र भवनमा  
नवलपरासीमा सांसद विकास कोषको ७५ प्रतिशत रकम सडक निर्माणमा छुटयाइएको छ । कार्यकर्ता पोस्ने काम भएको भन्दै विरोध हुन थालेपछि सांसदले सडकमा अधिकांश बजेट विनियोजन गरेका छन् । तर उपभोक्ता समितिमा भने आफ्नै दल निकटको हालिमुहाली बनाएका छन् । मतदाताको अधिकांश माग पूरा गर्ने भन्दै थोरै–थोरै रकम छर्ने काम भएको छ । जसले गर्दा ठोस योजना र देखिने विकासका काम हुन नसकेको स्थानीय बताउँछन् । 

जिविसस्थित योजना फाँट प्रमुख पुरुषोत्तम ढकालका अनुसार स्थानीयको आम भेलाबाट पारित भएर आउने योजना भएकाले योजना पार्टी निकट नभएको बताए । क्षेत्र नम्बर १ का सांसद सशांक कोइरालाले ४० लाख रुपैयाँको एउटै विजयनगर पम्पिङ खानेपानी तथा सरसफाइ योजना छनोट गरेका छन् । त्यस्तै क्षेत्र नम्बर २ का जीवन श्रेष्ठले मध्यविन्दु बहुमुखी क्याम्पसको पुस्तकालय तथा प्रशासनिक भवन निर्माण, क्षेत्र नं. ३ का कृष्ण पौडेलले राकाचुलीमा विद्युतीकरण र ४ का बैजनाथ चौधरीले हकुई गाविस ३ देखि ६ को नौडिहवासम्मको कालोपत्रे सडक निर्माणमा ४०/४० लाख रुपैयाँ विनियोजन गरेका छन् । 

क्षेत्र नं. ५ का विक्रम खनालले महेशपुर सडक निर्माण र क्षेत्र नं. ६ का देवकरण जयसवालले गुठीसूर्यपूरा–नर्सही जानेबाटो र कल्भर्ट निर्माणमा ४०/४० लाख रकम छुट्याएका छन् ।   

२ सय ३६ योजना 
मकवानपुरका चार क्षेत्रका सांसदले २ सय ३६ विभिन्न योजना छनोट गरेका छन् । यी मध्ये ९३ योजना सडकका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकासअन्तर्गत छानिएका ९२ मध्ये ६३ सडकका छन् । पूर्वाधार विकासको १२ करोड रकममध्ये ७ करोड ७९ लाख रुपैयाँ सडकका लागि रकम विनियोजित गरेको छ । निर्वाचन क्षेत्र नं. ३ मा १९ वटा सडक योजनाहरू रहेका छन् । क्षेत्र नं. मा ११ वटा मात्र छन् । तटबन्धनको योजना पनि क्षेत्र नं. ३ मा छ । हेटौंडा अस्पताल र चाइना क्वाटरको संरक्षणका लागि ४० लाख रुपैयाँ रकम विनियोजित गरेको छ । चार वटा निर्वाचन क्षेत्रमा खानेपानीका लागि ६ वटा, सिँचाइका पाँचवटा, नवीकरण ऊर्जाका तीन, शिक्षाका नौवटा र भवनका चारवटा योजनाहरू छनोट गरिएको छ । ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सडकलाई अत्यधिक प्राथमिकता दिएको छ,’ जिविसका योजना अधिकृत किसान न्यौपानेले बताए । निर्वाचित र समानुपातिक गरी मकवानपुरमा ८ जना सांसदहरू रहेका छन् । सांसदहरूले मकवानपुरका निम्ति १ सय ४४ वटा योजनाहरू छनोट गरेको जिविसले जनाएको छ । अधिकांश योजना जिल्लाको आवश्यकताअनुसार छनोट गरिएको स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बताए ।  

योजना छान्दै महिला 

रूपन्देहीको पोखरभिन्डी गाविस दक्षिणटोलकी जानकी, सकुन्तला र निर्मला पासीको खेतनजिक बोरिङ छैन । आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । उनीहरूले गाविसले टोलमा आयोजना गरेको योजना तर्जुमा भेलामा डिपबोरिङको माग गरे । भेलाले उनीहरूको योजना सर्वसम्मत छान्यो । यसपछि उनीहरू अब गाविस भेलामा जाने र त्यहाँबाट पारित गराउने अभियानमा छन् । 

‘यहाँबाट पनि पारित भए आगामी वर्ष गाविसबाट बोरिङ गाडिन्छ,’ सरस्वती स्वावलम्बन समूहकी सदस्य जानकीले भनिन्, ‘अहिलेसम्म आफ्ना योजना कहाँ माग्ने भन्ने थाहा नभएर दु:ख पाएका रहेछौं ।’

पजरकट्टी खुरहुरियाकी लक्ष्मी हरिजन र उनका साथी पनि गाउँ भेलामा गए । त्यहाँ उनीहरूले बेमौसमी तरकारी खेतीबारे तालिम चलाउन माग गरे । बालविकास केन्द्रमा जाने बालबालिकाका लागि बस्ने चकटी वा कुसनको व्यवस्था गर्न पनि आग्रह गरे । टोल भेलाबाट उनीहरूका दुवै योजना पारित भए । ‘अब वडा भेला र गाविस भेलामा पनि जानुपर्छ ।’ स्वावलम्बन समूह सदस्य लक्ष्मीले सुनाइन्, ‘त्यसपछि बजेट छुट्टिन्छ ।’ स्थानीय निकायमा यतिबेला योजना छान्ने प्रक्रिया सुरु भएको छ । आगामी वर्षका लागि के–कस्ता विकास योजना बनाउने भनेर जिविस, नगरपालिका र गाविसहरू व्यस्त छन् ।

 आम नागरिकका लागि आफ्ना विकास योजना आफैं छान्ने अवसर सदुपयोगमा यो वर्ष जिल्लाका ग्रामीण भेगका महिला जुटेका हुन् । बजेटमा आफ्ना कुरा समेट्न योजना बनाउन खट्ने सामाजिक परिचालक, वडा नागरिक मञ्चसँगै उनीहरू पनि खटेका हुन् । 

बजेटमा तल्लो वर्गका योजना समेट्न, स्थानीयका आवश्यकतालाई विकास बजेटमा पार्न र टाठाबाठाको मागमा मात्रै योजना बन्ने र बजेट खर्च हुने समस्या रोक्न उनीहरूलाई तालिम दिइएको हो । तालिम लिएका महिला टोलबाट योजना बनाउने र गाविसको योजना छान्ने भेलामा जाने गरेका हुन् । टोलमा योजना भेला हुने एक दिनअघि महिला समूहले तोकिएको टोलमा पुग्ने र छलफल चलाउने गरेको छ ।

 योजना आफैं छान्ने अवसर पाएपछि दुर्गमका महिला तथा विपन्न वर्गसमेत योजना छनोटमा जुटेका छन् । बोधबार ललितपुरकी जानकी हरिजनले महिलाहरूका योजना नछुटून् भनेर तर्जुमा भेलामा हिँडेको बताइन् । 

‘पहिले बजेट कहाँ बन्छ ? कसरी बन्छ ? कहाँ गएर मागे योजना पाइन्छ ? थाहा थिएन,’ स्वावलम्बन महिला समूहकी सदस्य हरिजनले भनिन्, ‘अहिले थाहा भएकाले योजना छान्न जुटेका छौं ।’  

प्रकाशित : पुस २०, २०७३ २०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT