यसरी पारिन्छ भालेलाई खसी

माधव अर्याल

पाल्पा — स्थानीय जातको कुखुराको भालेको अन्डकोष निकाल्दा तेब्बर आम्दानी भएको छ । जिल्लाको गेझामा गरिएको परीक्षणबाट भालेको मासुमा तेब्बर वृद्धि भएसँगै आम्दानी पनि बढेको हो ।

यसरी पारिन्छ भालेलाई खसी

रामपुर १४, गेझा बर्दलेका जनार्दन पन्तले ५ वर्षयता गरेको परीक्षणबाट भालेको अन्डकोष निकाल्दा मासु तेब्बर वृद्धि भएको प्रमाणित भएको छ । ‘कुखुराको भालेको अन्डकोष निकालेर परिवार नियोजन गर्ने हो भन्दा हुन्छ,’ उनले भने ।

कुखुराको परिवार नियोजन हुन्छभन्दा सुरुमा धेरैले हाँसोमै उडाएको उनले बताए । बन्ध्याकरण सफल बन्दै गएपछि अहिले गाउँका सबैले विश्वास गर्न थालेका हुन् । बास्न सुरु गरेको भालेको बन्ध्याकरण गर्ने अभ्यास जिल्लामै नौलो हो । भालेको पछाडिको करङको शल्यक्रिया गरी अन्डकोष निकालिन्छ । अन्डकोष निकालेको भालेको शिर पोथीजस्तो हुन्छ । बास्न सुरु गरेको भालेको अन्डकोष निकाल्दा बास्न छाड्छ । ‘भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी भएको प्रमाणित भएको छ,’ उनले भने ।

कुखुरापालन गर्दै आएका पन्तले परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने बताए । तौल पनि ५ देखि ७ किलोसम्म बढी हुन्छ । ‘पहिले कुखुराको अन्डकोष निकाल्न समस्या भए पनि अहिले सहजै गर्छु,’ उनले थपे । उनले पशुपक्षीसम्बन्धी औपचारिक अध्ययन भने गरेका छैनन् । ५ वर्षअघि दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिएका हुन् । उनकै सहयोगमा पन्तले अन्डकोष निकाल्न थालेका हुन् ।

अन्डकोष निकाल्दा सुरुसुरुमा केही कुखुरा मरे । अहिले सफल भएको छ । कुखुराको शल्यक्रियापछि चिल्लो र मोटो हुँदै जान्छ । अन्डकोष निकालेपछि यौन क्षमता कमजोर हुँदै जान्छ । स्थानीय प्रजातिका कुखुरामा अन्डकोष निकाल्न सम्भव हुन्छ । ‘अन्डकोष निकाले पनि पहिलो दिन उसलाई केही फरक पर्दैन,’ उनले भने, ‘दोस्रो दिन केही झोक्राउने गर्छ ।’ तेस्रो दिनपछि भने पुरानै अवस्थामा फर्किन्छ । ब्रोइलर प्रजातिका कुखुरामा अन्डकोष निकाल्ने नमिल्ने उनले बताए । पहिले रहरका लागि गरिएको काम पछिल्लो समय अनुसन्धानमूलक भइरहेको उनले बताए ।

‘दाङमा पहिला नै ‘बँदिया’ भन्ने सुनिए पनि जिल्लामा भने कुखुरामा गरिएको नौलो प्रयोग हो,’ जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक उत्तम आचार्यले भने, ‘यसलाई व्यावसायीकरण गर्न सकियो भने किसानले राम्रो लाभ पाउनेछन् ।’

प्रकाशित : फाल्गुन ६, २०७३ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?