काँचो सुनको बाला बनाएर ल्याउँछन् कामदार

जनकराज सापकोटा

काठमाडौं — भन्सार विभागले गत साउनपछि विदेशबाट फर्किने कामदारले काँचो सुन ल्याउन नपाउने निर्णय गरेपछि नेपाली कामदारहरुले बैकल्पिक बाटो रोज्न थालेका छन् ।


खाडी र मलेशियाबाट फर्किने नेपाली कामदारले नेपाली बजारमा भन्दा सस्तोमा सुन पाईने भएकाले घर फर्किंदा सुन लिएर आउने आम चलन छ । 

भन्सार विभागको निर्णय अघि कामदारहरुले विस्कुट आकारको काँचो सुन नै ल्याउथे र आवश्यकता अनुसार नेपालमै गहना बनाउथे वा बेच्ने गर्थे । तर परिवर्तित नियमअनुसार काँचो सुन ल्याउन नपाईने भएपछि काम गर्ने मुलुकमै सुनका गहना बनाएर ल्याउने चलन सुरु भएको छ । साउदी अरबबाट कान्तिपुरको सम्पर्कमा आएका एक नेपाली कामदारले भने, ‘काँचो सुन किन्ने र पगालेर गहना बनाईदिने ठाउँ खोज्दै हिडने नेपालीको ठुलो संख्या देखिन्छ ।’ 

ति कामदारका अनुसार यस्ता घर फर्किने कामदारले काँचो सुन किनेर गहना बनाउँदा औसतमा एक सय रियाल अर्थात करिब तीन हजार रुपैयाँ खर्चिन्छन् । ५ तोला सुन नेपाल ल्याउन सकियो भने औसतमा पचास हजार रुपैयाँ नाफा गर्न सकिन्छ । यसैको लोभमा नेपाली कामदारहरु काँचो सुन बोकेर गहना बनाउने पसलको खोजीमा हुन्छन् ।

एक नेपाली कामदारले भने, ‘गहना बनाउने ठाउँ खोज्दै हिड्नुपर्ने र प्रतिगहना तीन हजार रुपैयाँ खर्चिनु सरकारले थोपरेको झन्झट हो ।’ परिवर्तित नियम अघि नेपाली कामदारले नेपालकै गहना पसलमा आफु अनुकुलको गहना बनाउँथे । अक्सर नेपाली कामदारले यसरी किनेको काँचो सुनको बाला बनाएर नेपाल ल्याउँछन् । नेपाल ल्याएको यस्तो सुनबाट फेरी आफु अनुकूलको गहना बनाउँदा थप खर्च लाग्छ । ति कामदारले भने, ‘सरकारी नीतिले दोहोरो झन्झट र खर्च बढ्यो ।’ 

सरकारी नियमअनुसार दुई बर्षको श्रम अनुमतीमा विदेश गएका बैध कामदारले फर्किदा पचास ग्रामसम्मको सुनका गहना ल्याउन पाउँछ । प्रवासी नेपालीको साझा संस्था नेपाली साझा मंचले त प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुला पत्र नै लेखेर यस्तो निर्णय खारेज हुनुपर्ने माग राखेका थिए। 

 

प्रकाशित : चैत्र ७, २०७३ १४:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भट्टराईले भारत भ्रमणलाई 'लो प्रोफाइल' मा राख्नुका कारणहरु

कमलदेव भट्टराई

नयाँदिल्ली — नयाँ शक्ति नेपालका संयोजक विगत सात दिनदेखि भारतमै छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको आतंकवाद प्रतिवाद सम्वन्धी सम्मेलनमा भाग लिन आएका भट्टराईले आफ्नो भारत भ्रमणलाई 'लो प्रोफाइल'मा राख्न चाहेका छन् ।

आतंकवाद प्रतिवाद सम्वन्धी सम्मेलनमा भाग लिन आएका भट्टराईले अन्य दुई कार्यक्रममा समेत सहभागिता जनाएका छन् । नीति अनुसन्धान केन्द्रले आयोजना गरेको नेपाल—भारत सम्वन्ध विषयक अन्तरक्रिया र व्यापारीहरुसंगको साक्षात्कार । सो दुवै कार्यक्रममा उनको अभिव्यक्त गरेको धारणलाई भट्टराईको सचिवालयले उपलब्ध गराएको छ ।

यि सार्वजनिक कार्यक्रम वाहेक आइतवार उनी पार्टीको कार्यक्रममा सहभागी हुनको लागि गोवा पुगे भने सोमवार दिल्लीमा पार्टीको कार्यक्रममा सहभागी भएर मंगलवार मात्र काठमाडौं फर्ने छन् । यस वाहेक उनी विभिन्न राजनीतिक भेटघाटमा पनि व्यस्त छन् । तर, उनको सचिवालयले त्यसलाई गोप्य राख्न चाहेको छ । दिल्ली आएको पर्सीपल्ट उनले भारतीय जनता पार्टीका महासचिव राममाधवसंग भेटघाट गरे । तर, भेटघाटमा भएको कुराकानीको वारेमा उनको सचिवालयले कुनै जानकारी दिएको छैन ।

भेटघाटपछि राममाधवले दुई देशको सम्वन्धको वारेमा विस्तृतमा कुराकानी भएको भन्दै ट्वीट गरे । त्यस वाहेक पनि उनको अन्य राजनीतिक भेटघाटको कार्यक्रम थियो । तर, त्यसवारेमा उनको सचिवालयले केही वताएको छैन । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटघाट गर्ने इच्छा गरेपनि आइतवारसम्म उनको भेटघाट तय भईसकेको थिएन । उसो त भट्टराईले राजनीतिक भेटघाट गरेर हल्लीखल्ली गर्ने भन्दा पनि वौद्धिक व्यक्तित्वहरुलाई भेटेर नेपाल र भारतको पछिल्लो सम्वन्धको डाइनामिक्सलाई पहिल्याउन खोजेका छन्, उनी निकटका एक नेता भन्छन् ।

उनी निकटका अनुसार भेटघाटलाई लो प्रोफाइलमा राख्नुको कारण हो— अहिले उनले भनेका कुराहरुलाई भारतीय पक्षले त्यति गम्भीर रुपमा लिंदैनन् । अहिले उनले गर्ने राजनीतिक भेटघाटले राष्ट्रिय राजनीतिलाई त्यति प्रभाव पार्दैन भन्ने पनि उनलाई थाहा छ । ‘अहिले भारतीय पक्षले नसुने पनि आफ्नो कुरा भनिराख्नुपर्छ र उनीहरुले यसलाई पछि रियलाइज गर्छन् भन्ने उहाँको भनाई हो,’ उनी निकट एक नेताले भने । अहिले राजनीतिक भेटघाट गरेर त्यसलाई मिडियावाजी गर्ने भन्दा पनि नेपालको वारेमा भारतीयहरुले के सोचिरहेका छन् भन्ने वुझ्नु उनको मुल ध्येय हो । त्यसैले उनी भारतीय संस्थापनसंग निकट रहेका व्यक्तिहरुसंग छलफल तथा अन्तरक्रिया गरिरहेका छन् ।

औपचारिक तथा अनौपचारिक भेटघाटमा उनले भारतीय पक्षलाई एउटा कुरो चाहि स्पष्ट रुपमा भन्न थालेका छन्, 'तिमीहरुले पहिचान र समावेशी सिद्धान्त वोकेकाहरुलाई समर्थन गर्नुपर्छ ।' भट्टराईले सार्वजनिक रुपमा नै भनेका छन् पहिलो संविधान सभाको निर्वाचनपछि भारतले पहिचान र समावेशी शक्तिहरुलाइ समर्थन गरेन । तर, अहिले उसले त्यही एजेण्डा उठाईरहेको छ । ‘उदाहरणको निम्ति, विगत डेढ वर्षदेखि भारतले समावेशी संविधानकै पक्षमा जोड दिंदै आएको हो । तर, भारतको निम्ति यो नै प्राथमिकताको विषय थियो भने उसले पहिलो संविधानसभामा समावेशी लोकतन्त्रका पक्षधरलाई साथ दिएन,’ उनले नीति अनुसन्धान केन्द्रको कार्यक्रममा भने । उनले भारतीय पक्षलार्इ अबको निर्वाचनमा समावेशी पक्षधरहरुले एलायन्स गर्ने तयारी गरेको समेत वताएका छन् ।

उनले नेपाल र भारतको सम्वन्धलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा समेत स्पष्ट रुपमा कुरा राखेका छन् । प्राय सबै भेटमा उनले भारतलाई नेपालको सानो सानो कुरामा चासो नदिन आग्रह गरिरहेका छन् । उनले त्यसको साटो नेपालको आर्थिक विकासमा सहयोग गरे नेपालमा भारतको इमेज राम्रो वन्ने वताएका छन । सार्वजनिक कार्यक्रमहरुमा उनले भनेका छन्, नेपालको आर्थिक विकास र समृद्धीमा भन्दा पनि भारतको चासो माइक्रोम्यानेजमेन्टमा छ । यदि भारत नेपालको माइक्रोम्यानेजमेन्टमा नलाग्ने हो भने भारतविरोधी भावना कम हुन्छ । उनले नेकपा एमालेको उग्रराष्टवाद र भारतको माइक्रोम्यानेज दुवै नेपाल र भारतको सम्वन्धको लागि सहयोगी नहुने भारतीय पक्षलाई वताईरहेका छन् । उनले भन्ने गरेका छन्— भारतको अहिलेको नेपालमा भुमिकाले केपी ओली प्रवृत्तीलाई नै फाइदा गरिरहेको छ ।

त्यसैगरी उनले भारतको योगदान रहँदा–रहँदै पनि नेपालप्रति भारतको दृष्टिकोणमा एकरुपताको कमी छ, स्पष्ट रुपमा कमी रहेको समेत वताएका छन् । ठूला प्रमुख नीतिगत विषयहरुमा भारत प्राय: अस्पष्ट रहेको सन्देश भट्टराईले भारतीय पक्षलाई दिएका छन् । सन् १९५० को शान्ति तथा मैत्री सन्धी तथा अन्य दुई पक्षीय सम्वन्धलाई अगाडी वढाउन प्रवुद्ध समुहको गठन गर्ने प्रक्रिया भट्टराई प्रधानमन्त्री भएकै समयमा शुरु भएको हो । अहिले सो समुहले काम गरिरहेका छ ।

यस वाहेक भखैरै स्थापना भएको पार्टीको संरचनाहरुलाई वल दिनु पनि भट्टराईको भारत भ्रमणको उदेश्य हो । नयाँ शक्तिले भारतभरी नै आफ्नो संरचनालाई वढाउँदै लगेको छ । उसो त प्रत्येक अन्तरक्रिया तथा राजनीतिक भेटघाटमा भट्टराईले नयाँ शक्ति एक वैकल्पिक राजनीतिक शक्ति भएको र सो पार्टी स्थापना गर्नुका पछाडीका कारणहरु वारेमा जानकारी गराईरहेका छन् । आफ्नो नयाँ दलप्रति भारतका राजनीतिक दल तथा अन्य समुदायको समर्थन तथा सद्भाव वटुल्नु भ्रमणको अर्को उदेश्य हो ।

प्रकाशित : चैत्र ७, २०७३ १४:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT