कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटमा मह शिकार

घनश्याम खड्का

म्याग्दी — अक्करे भीरहरुमा माहुरीले झुण्डाएका महका नाङ्ला जस्ता पोला झिक्न (मह शिकार गर्न) शुरु भएको छ । तर, यसवर्ष स्थानीय तहको निर्वाचन तयारीले अघिल्ला बर्ष जस्तो ब्यवसायिक रुपमा सवै भीरका मह भने भिकिने छैनन् ।

संकटमा मह शिकार

चैत–बैशाख भीर मह काढ्ने (शिकार गर्ने) सिजन हो । अहिले मह सिकारीहरु विभिन्न गाउँका भिर चाहर्दै महशिकार गर्न थालेका छन । ब्यवसायिक शिकारी बाहेक पनि स्थानियवासीले आ–आफ्नो क्षेत्रका भीरमा मह शिकार गर्छन् ।

‘मह शिकारको सिजन शुरु भएको छ । तर, यस बर्ष धेरै भीरमा पुग्दैनौं किनभने स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नु छ’ चिमखोलाका ब्यवसायीक महशिकारी ओम पुनले भने, ‘दुई तीन वटा सजिला र नजिकका भीरमा मह शिकार गरी चुनावमा जाने हो । म आफै वडा प्रमुखमा चुनाव लड्ने भएकोले मह झिक्ने पुरै टिम चुनावमा खटिन्छौं ।’
 
विश्वमा विरलै हुने जोखिमपूर्ण महशिकार जिल्लाका प्राय: सवै उपल्लो भेगका बस्तीमा गरिन्छ । तर, मह झिक्ने परम्परागत सीप, रैथाने प्रविधि, युवामा वैदेशिक रोजगारीको आर्कषण आदि कारणले यो काम घट्दो छ । शिकारीले हेर्दै डरलाग्दो अक्करे भीरको कापाहरुमा लहरै टाँसिएका भीरमौरीका गोलाबाट चोयाको डोरीमा काठका छेस्का बाँधेर बनाएको पराङ (भर्‍याङ्ग) मा झुण्डिएर मह शिकार गर्ने गर्छन । धमाधम मह झिकिरहेका हुन्छन् ।
 
बजारमा विज्ञापन गरेर बिक्रि गरिने महको तुलनामा धेरै गुणा शुद्ध, स्वादिष्ट र शक्तिबद्र्धक भएकोले ‘सुगर’ रोगका विरामीले समेत औषधीको रुपमा भीर मह खोजीखोजी खाने चलन छ । मीठो र गुणकारी भएपनि भीरमह झिक्न भने गार्‍हो छ । चोयाको डोरीको भर्‍याङ्ग बनाई मह निकाल्ने परम्परागत विधिमा उच्च जोखिम रहेको छ । मह निकाल्ने मुख्य ब्यक्तिले सुरक्षा वेल्टसमेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गरिने हुंदा दुर्घटनाको उच्च जोखिम रहन्छ । 

‘भीरमह झिक्दा बल, साहस र बुद्धीको आवश्यक हुन्छ । माहुरीले टोक्नेहुंदा पीडा खप्नसक्ने क्षमता अझ बढी चाहिन्छ । थोरै गल्तीले ज्यान जान्छ’ अर्का शिकारी मिथुन पाईजाले सुनाए । मिथुन अनुभवी महशिकारी ध्रुव पाईजाका छोरा हुन् ।
 
विश्वमा नै विरलै हुने जोखिमपूर्ण महशिकार म्याग्दीका उपल्लो लेकाली क्षेत्रका गाउँघरमा अझै फट्टफुट्ट देख्न पाईन्छ । तर जोखिमको तुलनामा महले मुल्य नपाएपछि भीरबाट मह झिक्ने परम्परागतसंगै शिप र रैथाने प्रविधि पनि लोप हुने अवस्थामा छ । त्यति मात्र होईन अब्यवस्थित मह शिकारले भीरमाहुरीको संख्यामा पनि कमी आउन थालेको छ । वेमौसममा र असुरक्षित तरिकाले जर्वजस्ती मह काढ्नाले भीरमाहुरी संकटमा परेका हुन् । 

‘पहिला गाउँले आफैले महशिकार गर्थे । बढी जोखिम भएकोले पेशामा आर्कषण नहुँदा सीप भएकाहरुले शुल्क तिरेर मह निकाल्छन् । जिल्लाको मुदी, गुर्जा, कुईने, चिमखोला, नारच्याङ्गका भीरमा बढी महसिकार हुन्छ । फिरन्ते माहुरीले आफनो वातानुकुलित अक्करे भिरमा पोला लगाए पनि (भिर मह) झिक्नका लागि सामुदायिक वन समुहहरुलाई शुल्क तिर्नु पर्छ । यसरी झिकेको महलाई पोखरा/काठमाण्डौ वा विदेश निर्यात गर्न भने वन कार्यालयबाट अनुमति लिनु पर्छ ।
 
भीरमह सवै भीरमा भने हुँदैनन् । भीर माहुरीले आफ्ना घार प्राय : अग्ला, सेपिलो र खोला वारिपारि वा छहराको नजिकै बनाउछन् । फिरन्ते जातिका माहुरीहरुले घामपानीबाट बच्न सकिने र आफ्ना सत्रुको आक्रमणबाट बच्न सुरक्षा हेरेर पहराको वीचमा घार बनाएपनि अक्कले मान्छेले चोयाको डोरीमा भर्‍याङ्ग बनाई झुण्डिएर माहुरीमाथी आक्रमण गर्छन् । जस्तो सुकै अक्करे भीरमा घार लगाएपनि गुण्कारी मह उत्पादन गर्ने भएकोले भिर माहुरी मान्छे जातिबाट भने बच्न सक्दैनन् ।
 
हिउँदमा जाडो छल्न बेंशी झरेका माहुरी बर्खाको गर्मी छल्न बैशाखदेखी हिमाली क्षेत्रतर्फ लाग्छन् । यस सिजनमा बढी फुलफुल्ने हुँदा चैतको सिजनमा महपनी धेरै निक्लन्छ । माहुरी तल र माथी गर्ने क्रमलाई ‘उधौली–उभोली’ भनिन्छ । माहुरीलाई हिउंदका दिन बढी कष्टकर मानिन्छ । फागुन–चैत–बैशाखमा नजिकै प्रर्याप्त चरन पाईने हुंदा माहुरीले मह पनि बढी उत्पादन गर्ने गर्छन् ।
 
महमा लेकाली जडीबुटीको मात्रा धेरै पाईने र विभिन्न रोग निको हुने विश्वासमा  भीर मह खोजी–खोजी खाने चलन रहेको छ । मह मीठो र गुणकारी भएपनि भिर मह झिक्न भने गार्‍हो छ । 

मह शिकारमा प्रयोग हुने मुख्य सामाग्री र प्रयोग अर्थ :

भीरौटे– भीरमा चढेर मह निकाल्ने ब्यक्ति । भीरमह झिक्दा बल, साहस र बुद्धीको आवश्यक हुन्छ । मह काड्दा माहुरीले टोक्ने हुँदा खप्न सक्ने क्षमता हुनुपर्छ ।

टाउको हान्ने– भीरको शिरानमा बसेर भीरमा चढेका शिकारीलई आवश्यक पर्ने सामाग्रीहरु डोरीको सहायताले तलमाथी गर्ने र डालोमा झिकेको महलाई तल भुईमा झार्ने ब्यक्ति । टाउको हान्नेले प्राय: पर बसेको अर्को ब्यक्तिको ईशाराको भरमा काम गर्छन । 

हंश – भीरमह झिक्दा लगाईने धुवाँको मुस्लो । धुवाँ लगाएपछि पोलामा बसकेका माहुरीहरु पोला छोडेर छेउ लाग्छन र भीरौटेले सजिलै मह झिक्न सक्छ ।

हंश लगाउने– भीरको पुछारमा बसेर धुँवा लगाउने ब्यक्ति । हंश लगाउनेले राम्रोसंग धुवाँ लगाउन नसकेमा माहुरीले महको चाका नछोड्ने र मह झिक्ने बेलामा धुवाँ लगाउन छुटाएमा माहुरीले भीरौटेमाथी आक्रमण गर्छन ।

पराङ– चोयाको डोरीको भर्‍याङ्ग । यो राम्रोसंग पानीमा भिजेन भने वा ज्यादै पुरानो भएमा चुँडिने खतरा रहन्छ । पराङ्ग भीर अनुसार लामो र छोटो हुन्छ ।

सुतरी– भीरमा रहेको पराङसँगै उत्ति लामो डोरी रहेको हुन्छ । यो डोरीमा मह राख्न चोयाको डालो झुण्डिईएको हुन्छ । भीरको शिरानमा बस्ने टाउको हान्नेले यो डोरीलाई तल माथी गर्छन । 

हाङ्गो– डोरीमा झुण्डाईएको डालोलाई भीरौटेले निगालोको लामो लठ्ठीको सहायताले महको चाका सम्म पुर्‍याउने र अड्याउन हाङ्गोले सहयोग गर्छ ।

टाङ्गो– भीरौटेले लामो निगालाको टुप्पोमा सानो हँसिया बाँधेका हुन्छन । यही हँसियाको सहयोगले भीरौटेले महको चाकालाई काटेर डालीमा खसाल्छन । यो औजारलाई भीरमह शिकारीले टाङ्गो भन्छन ।

भीरज्यौरी– पराङ्गमा झुण्डिएर मह झिक्दा महशिकारीहरुले गलवन्दी जस्तो कपडाको रुमालले पराङमा बाँध्ने गर्छन ।  

कासन दिने – भीरको शिरानमा रहेको टाउको हान्ने, महझिक्ने भीरौटे र पुछारमा रहेका हंश लगाउने ब्यक्तिहरु विच समवन्य गर्न अर्को ब्यक्ति केही पर बसेको हुन्छ । यो ब्यक्तिले आवश्यकता अनुसार तल र माथीका ब्यक्तिलाई निर्देशन दिने गर्छ । 

प्रकाशित : वैशाख ८, २०७४ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?