बाह्रबिसेभन्दा माथि बेहाल, जताततै पहिरै पहिरो

लार्चादेखि लिपिङ बजार सुनसान हुँदै
अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसेदेखि लार्चासम्म पहिरोको जोखिम मोल्दै तुइनको यात्रा सकेपछि सुरु हुन्छ भोटेकोसी पारीको सीमाक्षेत्र संसार । अविरल वर्षासँगै सीमावर्ती क्षेत्रको विभिन्न ठाउँमा दिनहुँजसो पहिरो झरिरहेको छ ।

बाह्रबिसेभन्दा माथि बेहाल, जताततै पहिरै पहिरो

‘यो तुइनको भरमा कतिन्जेल यात्रा गरिरहनुपर्ने हो ?,’ भर्खरै तुइनबाट कोसी पार गरेर आएकी कान्छी शेर्पाले दु:खेसो सुनाइन्,‘ बेलिब्रिजको साट्टो फड्के मात्रै बनेपनि कति आनन्द हुन्थ्यो ।’

उनले तुइन चढेर पारी पुगेर पनि सुख पाउँदिनन् ।उनी घर त्यति सजिलै पुग्दिनन् । झण्डै तीन घण्टा पहिरो छिचोल्दै हिँडेपछि मात्रै तातोपानी बजारबाट माथिल्लो थामीगाउँ पुग्छिन् । पुल नजोडिँदा सवारीसाधन उपलब्ध हुन सकेका छैन । पहिरोको जोखिम मोल्दै घण्टौ हिडाँइपछि गाउँ पुग्नुपर्ने उनले सुनाइन् । तुइनमा भोटेकोसी गाउँपालिकाकै पारिश्रमिक पहलमा दुइपट्टी दुई जना डोरी तान्नको लागि बस्ने गरेका छन् ।

‘अबेर आइपुगे वारीपट्टी नै बस्नु बाहेक विकल्प रहन्न ,’साङदोर्जे तामाङले भने,‘ यहाँ चारबजेभन्दा उता तुइनको सेवा पनि पाइँदैन् ।’ उनले बिरामी लिएर गएका कतिपय स्थानीय अबेर हुँदा वारीका वारी र पारीका पारी नै अलपत्र पर्ने गरेको सुनाए ।

तुइनबाट बिरामी लान नसकेकाले धेरैले घरमै राखेर अनुमानको भरमा औषधि लिइरहेका छन् । ‘तुइनबाट कसरी बिरामी लानु र? उस्तै साह्रो/गाह्रो बिरामी भए उपचार नपाएर घरमै मर्ने अवस्था छ,’ उनले भने,‘ यही समस्याको लागि भने पनि चाँडै बेलिब्रिज बनाउने काम होस् ।’

फड्के बनाउन सुरु, बेलिब्रिजको आधा सामाग्री आइपुग्यो
जताततै पहिरोको जोखिम मोल्नुपर्ने सीमावर्ती क्षेत्रमा पाङ्सेर्पु पहाड खसेर आएको पहिरोले लार्चाको मोटरबेल पुल भत्कीएको सातादिनपछि फड्ेक हाल्ने कार्य सुरु गरिएको छ । फड्के पुल बनाउने काम हालै सुरु गरिएको भएपनि पहिरोको समस्याले साता दिन भन्दा बढी समय लाग्ने देखिएको चरिकोट सडक डिभिजन कार्यालयले जनाएको छ ।
हाल ७० मिटर लामो बेलिब्रिज निर्माणको लागि आधाजस्तो सामाग्री लार्चामा ल्याउने कार्य भइसकेको छ ।

खोकुण्डोलदेखि उता सबै सुनसान
लार्चादेखि लिपिङ बजारसम्ममा पर्ने खोकुण्डोल बाहेक तातोपानी र लिपिङ बजार लगायतका स्थान खण्डहर बन्दै गएका छन् । लार्चास्थित मोटरबेल पुल भत्किएपछि जोखिम मोलेर यताका स्थानीय कोही बसेका छैनन् । बजार सुनसान बन्दै गएको छ ।

लार्चादेखि ४ किलोमीटरको दुरीमा रहेको तातोपानी बजारका वासिन्दा त्रासले राजधानी वा अन्यत्र बसाई सरिसकेका छन् । तातोपानीदेखि लिपिङसम्मको सडक तहसनहस भएको छ । तलबाट बाढीले जमिन काट्ने र माथिबाट पहिरो झर्ने गरेपछि स्थानीय बासस्थान छाडेर हिँडेका छन् । ‘गाउँमा बसिरहेकालाई यात्राको कठिनाइ परेको छ, बजार कोहीकोही रातदिन जाग्रम बस्छन्,’ तातोपानी बजारमा पसल व्यवसाय गरिरहेकी शान्ति श्रेष्ठले भनिन्,‘ यहाँको दैनिकी सहज छैन, कहिले के हुन्छ थाहा हुन्न ,डराइ मर्नु छ !’

२२ सयको बसोबास रहेको तातोपानीमा बाढी र पहिरोको त्रासले अधिकाशंले घर छोडे पनि विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थातथलोमा बसेका छन् । बाँकी रहेका खाद्यन्नले केही समय पुग्ने भएपनि स्वास्थ्य, शिक्षा, विद्युत र टेलिफोनबिहीन हुँदा उनीहरु समस्यामा परेका छन् ।

पहिरोमाथि हिँड्दै तीनघण्टापछि तातोपानी
लार्चाबाट खोकुण्डोल पार गरेलगत्तै पहिरोले बगाएको सडकखण्ड हिँड्दै तीन घण्टापछि मात्रै सीमा जोड्ने तातोपानी बजार पुग्न सकिन्छ । लार्चा पुल भत्किएपछि यहाँका सबै सडकखण्ड पूर्ण रुपमा बग्दै गएका छन् । पैदल हिँड्न समेत मुस्किल भएकाले सबै सशस्त्र प्रहरी बलको सुरक्षामा मात्रै वारपार गर्ने गरेका छन् ।

‘बाटैबाटोमा काल पर्खिएर बसिरहेको जस्तो लाग्छ,’ साङडोमा शेर्पाले तातोपानी जोड्ने बाटोमा झरिरहेको पहिरो देखाउँदै भनिन,‘ दशकिलो उताका पुरा जमिन भास्सिँदै गएको छ, हेर्नुस् पुरा सडक बगेर गइरहेको छ ।’

खोकुण्डोल,दशकिलो र तातोपानी सुरु भएसँगै सवारीसाधन गुड्नको लागि सडकखण्ड बाँकी छैनन् । भूकम्प र गत असार २१ को भोटेकोसी बाढीले ध्वस्त बनाएको सडक चिनियाँ निर्माण कम्पनी सिआरसीसीले पुनर्निर्माण गरेको थियो । उक्त सडकखण्ड बाढीले कटान गरेपछि क्षतविक्षत भएको छ ।

सिमित खाद्यन्न र औषधि
तातोपानी क्षेत्रमा खाद्यन्न, औषधि सिमित मात्रै भएकाले खाद्य संकट निम्तिने सम्भावना बढेको छ । लार्चास्थित मोटरबेल पुल भत्किएपछि खाद्यन्न,औषधी लगायतका कुनै सामाग्री भित्रिन पाएका छैनन् ।

‘एक महिनालाई पुग्ने सामाग्री मौज्दात भएको देखियो, बेलैमा बेलिब्रिज या फड्के पुल नबने खाद्य समस्या झेल्नुपर्ने जोखिम बढेको छ ,’ सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी विमल डाँगीले भने, ‘बजारक्षेत्र र गाउँमा पर्याप्त खाद्यन्न मौज्दात भएको पाइएको छैन ।’

डीएसपी डाँगीले दैनिक सडकखण्डमा पहिरोले अवरोध बनाइरहेकोले खाद्यन्न र औषधी लगायतका सामाग्री मौज्दात गरिनुपर्ने बताए ।

खण्डहर बन्दै लिपिङ, तातोपानी बजार
भूकम्प र बाढीले थलिएको सीमावर्ती बजार लार्चा पुल भत्किएपछि खण्डहर बन्दै गएको छ । माथिल्लो पहाड खसेर आएको ढुंगाले बाँकी बसेका घरभित्रै पसेको छ । तातोपानी भन्सार कार्यालयअगाडिबाट नदी नै बग्न थालेको छ । पहिरोले ल्याएको ढुंगाले भूभाग नै चर्काएको छ ।

सडकखण्ड भत्किँदै गएको र माथिबाट ढुंगा खसिरहेकोले पुरा जोखिम भएकाले त्यहाँ जान समेत बन्देज लगाइएको सीमाका डीएसपी डाँगीले बताए । मितेरी पुलदेखि तातोपानी बजार छेउसम्मका भुभाग पहिरोले भग्नावेश मात्रै बाँकी राखेको उनले जनाए । लिपिङ बजार बाढीपछि सुनसान थियो भने तातोपानी बजारमा सात परिवार बस्ने गरेका थिए । अहिले दुवै बजार खण्डहर बन्दै गएको छ ।

प्रकाशित : श्रावण १९, २०७४ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?