खुट्टाले लेखेरै कक्षा ८ मा

माधव अर्याल

पाल्पा — हात कमजोर भएकाले लेख्न सक्दैनन् । मुखबाट आवाज निकाल्न नसक्ने भएकाले बोल्नसमेत गाह्रो छ । तर, खुट्टाको सहायतामा उनले लेख्नेलगायत सबै काम गर्ने क्षमता राख्छन् । रामपुर, २ बार्दाकोटका १९ वर्षीय यामबहादुर खाम्चामगरको दैनिकी अरु कोहीको भन्दा फरक रहेको छ ।

काम गर्न र समाउन सक्दैनन् । सुन्न र देख्नमा भने चतुर छन् । कोही बोल्यो की उनले तत्कालै खुट्टाले लेखेर जवाफ दिन्छन् । उनले केही भन्नु पर्दा भने खुट्टाले कापीमा लेखेर जवाफ दिने बानी परेको छ । कति कक्षामा पढ्छौ ? तत्कालै उनले लेखेर जवाफ दिए, अहिले ८ मा पढेको छु ।’  दुबै खुट्टाले कापी र कलम च्यापेर उनले लेख्ने गर्छन् । 

विद्यालयमा शिक्षकले दिएको गृहकार्य इमान्दारितापूर्वक गर्ने पनि उनको खुट्टाकै सहाराले हो । कापीमा राम्रोसंग लेख्ने गर्छन् । उनको रुचि भनेको चित्र कोर्ने हो । उनका अभिभावकका अनुसार चित्र कोर्न मन पराउँछन् । १२ वर्षको हुँदा घर नजिकैको विद्यालयमा कक्षा १ मा भर्न भएका हुन् । अब कक्षा ९ मा अध्ययन गर्ने उनले बताए । ‘कक्षा ८ को पहिलो परीक्षा दिएको छु,’ उनले लेखेर जवाफ दिए, ‘अहिले पनि राम्रो भएको छ । कक्षा ९ मा पनि पढ्ने हो ।’
 
उनका बुबा मानबहादुरका अनुसार यामबहादुर जन्मदै जण्डिसका रोगी थिए । उपचार गर्न लग्ने भन्ने आर्थिक अवस्थाले भ्याएन । त्यसपछि उनी उठ्न सकेनन् । बिस्तारै अपांगताले समातेको हो । ‘राम्रो उपपचार र खानपानकै अभावले यस्तो भएको होला भन्छन्,’ उनले भने । उनका तीन छोरा र एक छोरीमा यामबहादुर माहिला हुन् । छोराको अवस्था नाजुक छ । तर, उनको तिक्ष्ण बुद्धी र खुट्टाले लेखेको देख्दा भने आमा योगमायाले चित्त बुझाउँछिन् । ‘शारिरीक रुपमा अशक्त भएपनि दिमाग छ,’  उनले सुनाइन् । उनलाई स्कुलसम्म कहिलेकाही आमा छोड्न जान्छिन् भने प्राय: आफै बिस्तारै घस्रेर पुग्छन् । दैनिक कार्यमा भने पारिवारिक रुपमा सघाउनु पर्छ ।
 
७ वर्षको हुँदा उपचारकालागि तानसेनको मिसन अस्पताल ल्याएपनि केही सुधार हुन सकेन । त्यसपछि बाहिर अस्पतालमा जान आर्थिक अवस्थाले भ्याएन । ‘सुत्केरी हुनु अघि र भईसकेपछि पौष्टिक आहारको कमी भयो होला,’ आमा योगमायाले भनिन् ।  उपचार गर्न पैसाको अभाव भएको उनले सुनाईन् । त्यसैले उपचार पाउन सकेनन् । यामले ८ वर्षसम्म शरीर धान्नसमेत सकेनन् । उपचार गर्न आएका बेला मिसन अस्पतालका डाक्टरले आमा र छोराको खानपानमा ध्यान दिन भने पनि खासै उपलब्धि भएन । ‘आठ वर्षपछि बल्ल अलिअलि हिडेको हो,’ उनले भनिन् । त्यसपछि हिडडुल गर्न थालेका हुन् । अहिलेको अवस्थामा आउन पनि धेरै समय लागेको हो । 

विद्यालय जान सुरु गरेपछि भने उनी नियमित नै भए । अरु संगी साथीभाई खेल्ने, स्कुल जान नमान्ने हुन्थ्यो । तर उनमा त्यस्तो भएन । बिस्तारै अक्षर चिनेपछि भने तिक्ष्ण बुद्धी देखियो ।  अहिलेसम्म उनी फेल नभई कक्षा चढेका छन् । बालहित माविका प्रधानाध्यापक नवलसिं विरकट्टाले भने,  ‘विद्यालयकै मेहनती र लगनशील विद्यार्थी हो ।’ डेक्स र बेन्चको बिचमा चटाइमा बसेर उनको पढाई हुन्छ । अरुसँगै पढ्दा बुझ्न ढिला भएपनि केही बोल्दैनन् । उनीसंग निलो अपांगता परिचयपत्र छ ।  सरकारी सेवासुविधा पनि केही नपाएको उनका बाबुले बताए । बाबु मानबहादुर र उनका जेठा छोरा पुनाराम भारतमै रोजगारीका लागि बस्छन् । स्थानीय इमानसिं रानाले भने, ‘कतैबाट थप सहयोग जुटेर सुविधासम्पन्न विद्यालयमा पढ्न पाए उनले धेरै प्रगति गर्न सक्छन् ।’

प्रकाशित : भाद्र १६, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्

संसदमा भ्रष्टचारविरुद्ध संकल्प प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौं — सांसद जनकराज जोशीले भ्रष्टाचार नियन्त्रण सम्बन्धमा व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावमा थप पाँच जना सांसदले हस्ताक्षर गरेका छन् ।संकल्प प्रस्ताप दर्ता गराउने सांसदहरुले अनुचित कार्य सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई १५ दिनभित्र विधेयक पेस गर्न निर्देशन दिनुपर्ने माग गरिएको छ ।

सांसद जनकराज जोशीले भ्रष्टाचार नियन्त्रण सम्बन्धमा व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावमा थप पाँच जना सांसदले हस्ताक्षर गरेका छन् ।

संकल्प प्रस्ताप दर्ता गराउने सांसदहरुले अनुचित कार्य सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई १५ दिनभित्र विधेयक पेस गर्न निर्देशन दिनुपर्ने माग गरिएको छ ।त्यस्तै, भ्रष्टचारजन्य कार्यलाई छानविन गर्ने निकायहरु छरिएर रहेकाले तिनलाई एकीकृत गरी त्यही अनुसारको नीतिगत, कानूनी संरचना बनाउन कार्यदल पेस गर्न सरकारलाई संसदले निर्देशन दिनुपर्ने माग गरेका छन् । कार्यदलले २ महिना भित्र संसदसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने उनीहरुको माग छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायलाई अझ बढी प्रभावकारी बनाउन संसदीय समिति गठन गर्ने, अख्तियार दुरुपयोग आयोगको स्वायत्ततालाई बढावा दिन छुट्टै कर्मचारी नियुक्त गर्ने कार्यकारी अधिकार दिने लगायतका माग संकल्प प्रस्तावमा गरिएको छ ।

संसदले उक्त संकल्प प्रस्ताव पारित गरेमा माग अनुरुपको निर्देशनहरु सरकारले पालना गर्नुपर्ने हुन्छ । संकल्प प्रस्तावमा सांसदहरु अकवाल अहमद साह, नरसिंह चौधरी, हर्कवोल राई र अनिताकुमारी परियार हस्ताक्षर रहेको छ ।

प्रकाशित : भाद्र १६, २०७४ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्