सडक विस्तारले खोसीयो रोजीरोटी

विद्या राई

भोजपुर — गाउँगाउँमा सडक सञ्जाल जोडिएपछि सदियौदेखिका गोरेटो बाटो तथा गल्ली हराउन थालेका छन् । मानिसहरुको बाक्लै आवतजावतले गुञ्जायमान हुने भञ्ज्याङ र चौतारा सुनसान छन् ।

भरिया र बटुवा हिडेर मुलबाटा जस्तै बनेका बाटाहरु चिन्नै नसकिने गरी बनमारा र घारीले ढाकिएका छन् । हिड्दाहिड्दै रात परेको खण्डमा बास बस्नका लागी बाटैभरी स्थानीय मौलिकता झल्किने खालका घरमा होटलहरु सञ्चालन गरिएका हुन्थे । अचेल सवारीका साधनबाटै यात्रुहरु ओहोरदोहोर गर्न थालेपछि बटुवाको आवतजावत हुन छाडेर ति होटल तथा घरहरु विस्थापित भैसकेका छन् ।

कतिपय भत्किसकेका छन् । यतिबेला खोलाकिनारका पाँच किलोमिटरको फरकमा बाँकी रहेका एक दुईवटा होटलहरुलाई समेत जिविका धान्न धौधौ परेको छ । आधा दशक अघिसम्म खोलाकिनारमै सञ्चालन गरेको सादा दालभातको व्यवसायिक होटलबाट लाखौंं अर्थोपार्जन गर्दै आएका स्थानीय सडकको विस्तारस‌गै आफुहरुको रोजीरोटी पनि खोसिएको बताउँछन् ।

धनकुटा र भोजपुरको सिमाना अरुण र सप्तकोशी नदिको तीरैतीर, अक्करको भीरैभीर तराई झर्थे त्यस बेला मानिसहरु । पश्चिम र पूर्वका स्थानीय सानोदुम्माको चौकीबारी, अधेरीघाट, हिले, धनकुटा हुँदै तराई पुग्थे उनीहरु । उत्तरी भेगका दिंलाबजार, लम्सुवाघाट हुँदै खादबारी पुग्थे । बीचमा सयौको संख्यामा होटलहरु थिए । अचेल पैदल हिड्ने चलन लगभग हटिसकेको छ । अचानक पैदलै हिड्न परे बाटामा एक्लै हिड्न गाह्रो छ ।

प्रकाशित : आश्विन १, २०७४ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्

यसरी बन्द भयो अर्बौं रुपैयाँको लगानीमा खुलेको फुलबारी रिसोर्ट

लालप्रसाद शर्मा

पोखरा — ‘वान अफ दी ग्रेटेस्ट होटल ईन द वर्ल्ड’ लेखिएको बोर्ड लवी नजिकै झुन्ड्याइएको छ । हुनपनि पोखराको पाँचतारे होटल दि फुलबारी रिसोर्ट एन्ड स्पा नेपालमा मात्र नभएर दक्षिण एसियाकै ‘नमूना’ थियो । पाँचतारे प्लस डिलक्ससमेत रहेको रिसोर्ट खर्चालु अर्थात् महंगो पर्यटकका लागि एउटा गतिलो गन्तव्य थियो ।

यतिबेला रिसोर्टको परिवेश फेरिएको छ । मजदुर आन्दोलनका कारण गत फागुन १७ गतेदेखि बन्द रिसोर्टले सबै मजदुरलाई एकैसाथ अवकाश दिएको अवस्था छ । यसले राष्ट्रकै गहनाको रुपमा मानिएको रिसोर्ट संचालन हुने/नहुने संशय बढेको छ । यही भदौ २४ गते खाईपाई आएको सेवा सुविधाको रकम दिएर रिसोर्ट व्यवस्थापनले ११७ मजदुरलाई एक साथ अवकाश दियो । मजदुरले पनि सहजै यसलाई स्वीकारेर बाहिरिएका छन् ।

पाँच तारे रिसोर्ट बन्दै हुनुपर्ने अवस्थामा किन पुग्यो त ?

सन् १९९८ मा सञ्चालनमा आएको हो यो रिसोर्ट । साढे ४ सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा एक सय ६४ बेड छन् । सुरुमा थाईल्यान्डको दुषित्थानी नामक समुहले यसको व्यवस्थापनको जिम्मा लिएको थियो । त्यसैले रिसोर्टको नामपनि दुषित्थानी फुलबारी रिसोर्ट थियो । सुरुका ५/६ वर्ष यो राम्रैसंग चलेको पनि हो । पर्यटकहरु राम्रै आएका थिए । तर, सन् २००४ पछिका वर्ष भने कहिल्यै राम्रोसंग रिसोर्ट चल्न नसकेको पूर्व मजदुरको अनुभव छ ।

जहाज अपहरण, ऋतिक रोशन काण्ड, माओवादी द्वन्द्वको सुरुवात् र चरमोत्कर्ष, राजा बिरेन्द्रको बंश बिनाश, ज्ञानेन्द्रको शासन जस्ता देशको बिषम परिस्थितिले त झनै नाजुकै बनायो । देशकै अवस्था चौपट भएका बेला संवेदनशील पर्यटन क्षेत्र अछुतो रहने कुरा भएन । झन् ठूलो मारमा पर्‍यो यही रिसोर्ट । गुणस्तरीय अर्थात् खर्चालु (महंगा) पर्यटक आउनै छाडे । आए पनि काठमाडौंमै सिमित भए । ‘टार्गेट’ ग्रुपै नआएपछि रिसोर्ट चल्ने कुरै भएन । घिसिपिसी भइरहेकै बेला मजदुर समस्या थपिएपछि रिसोर्ट झनै समस्यामा पर्‍यो र अन्तत: बन्द नै हुन पुग्यो ।

ब्लु फ्लेग नामक बिदेशी समुहले पनि व्यवस्थापनको जिम्मा लिन खोजेको थियो । तर, एक सातामै समुह पछि हट्यो । ५ वर्षअघि भारतको चेन होटल कम्पनी क्लार्कले पनि व्यवस्थापनको जिम्मा लिएको थियो । तर, एक वर्ष भन्दा बढी त्यो पनि टिकेन । उक्त समुहले २० प्रतिशत व्यवस्थापन ठेक्का लिएको थियो । सञ्चालकदेखि विभिन्न विदेशी समुहले व्यवस्थापन सम्हाल्दा पनि रिसोर्टले गति लिन सकेन ।

यहाँ काम गर्ने अनुभवी कामदारका अनुसार देशको अवस्था खराव भएसंगै व्यवस्थापन पक्ष पनि दह्रो नभएकाले अहिलेको समस्या आएको अड्कल सहजै काट्न सकिन्छ । व्यवस्थापन पक्षका कमजोरी भएसंगै कामदारप्रति पनि त्यति संवेदनशील हुन नसकेको भन्नेहरु पनि छन् । ‘देशको विषम परिस्थितिले पनि होला, तरपनि अहिलेको अवस्थामा आउनुमा व्यवस्थापकीय कमजोरी मुख्य कारण जस्तो लाग्छ,’ एक पूर्व मजदुरले भने ।

रिसोर्टमा आएका पाहुना (पर्यटक) कोठाभित्र पस्नसाथ वाह भनेर खुशी हुन्थे । तर सेवा सुविधा भने राम्रो थिएन । यतिसम्म की तातो र चिसो पानी कतिबेला आउने भन्ने ठेगान हुन्थेन । तारे अझ डिलक्स होटलले दिनुपर्ने सेवा सुविधाको स्तर खस्किएपछि पाहुना कहिल्यै सन्तुष्ट भएर फर्कने अवस्थासमेत थिएन । ‘पुर्वाधारमा राम्रो तर सेवा सुविधामा कमी थियो,’ कामदारहरु भन्छन्, ‘यसले अन्तराष्ट्रिय बजारमा पनि नराम्रो सन्देश प्रवाह भयो । व्यवस्थापनले सुधार्नेतर्फ पहल पनि गरेन ।’

रिसोर्टका संचालक पियुषबहादुर अमात्य राजपरिवारसंग निकट थिए । राजाले जे भन्यो त्यही हुने बेलामा उनले नेपाल बैंकमार्फत ऋण लिएका थिए । करीव ३ अर्ब ऋण लिएकोमा ब्याज बढ्दै गयो । त्यही बेला तत्कालिन राजा बिरेन्द्रको बंश बिनास भयो । देशमा द्वन्द्व चर्कियो । पर्यटन क्षेत्र ओरालो लाग्यो । पर्यटक आउन छाडे । उनले ऋण तिर्न सकेनन् । ऋण तिर्नु त परको कुरा कामदारलाई तलबभत्ता पनि खुवाउन नसक्ने अवस्थामा पुग्यो । दश वर्षे माओवादी द्वन्द्व सकिएर शान्ति प्रक्रिया सुरु भयो । पर्यटन क्षेत्रमा सुधारका संकेतहरु देखिए । तर, यो रिसोर्टमा अर्को समस्या आईसकेको थियो । त्यो थियो, व्यवस्थापन र मजदुर पक्षबीचको खटपट । व्यवस्थापकीय कमजोरीकै कारण मजदुर आन्दोलनले पनि चर्को रुप लिन थाल्यो । समयमै व्यवस्थापन हुन सकेन । ‘रिसोर्टभित्रको माहौल/वातावरणले पनि धेरैजनालाई मजदुर नेता बनायो,’ एक मजदुरले भने, ‘व्यवस्थापन कहिल्यै कुनैपनि कुरामा संवेदनशील भएर लागेको पाईएन । त्यसैको परिणाम आज यो अवस्था आएको हो ।’ ऋण तिर्न नसकेपछि कालो सूचीमा पनि रिसोर्ट परेको थियो । पछि रुग्ण उद्योगमा दर्ता गरिएको छ ।

यत्तिको भौगोलिक अवस्था, जग्गालगायत पूर्वाधार भएको होटल नेपालमा अन्यत्र सायदै होला । गुणस्तरीय पर्यटकलाई लक्षित गरी संचालनमा ल्याइएको रिसोर्ट देशको बिषम परिस्थितिकै कारण अहिलेको अवस्थामा पुगेको होटल संघका केन्द्रीय सदस्य बिप्लव पौडेल बताउँछन् । ‘गुणस्तरीय पर्यटक नआएकाले रिसोर्ट फस्टाउन सकेन,’ उनले भने, ‘कारणहरु जेजे भए पनि रिसोर्ट बन्द हुनु दुखद हो । फुलबारीजस्ता सम्पदालाई बचाउन र यस्तो समस्यालाई सम्बोधन गर्न सबै क्षेत्रको चासो आवस्यक छ ।’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचन पर्यटकको अभावसंगै रिसोर्टले राम्रोसंग व्यापार गर्न नसकेको र समयसापेक्ष आफुलाई अपडेट नगर्दा अहिलेको अवस्था आएको बताउँछन् । भन्छन, ‘मानव संसाधनको विषयमा पनि अलि बढी संवेदनशील भएन की भन्ने लाग्छ।’

रिसोर्ट व्यवस्थापन भने सोचेअनुसारको आम्दानी नभएकालेनै अहिलेको अवस्थामा आउनु परेको जिकिर गर्छन् । देशको अस्थिर राजनीतिदेखि लिएर राष्ट्रिय, अन्तराष्ट्रिय अन्य घटनाक्रमले फुल फेजमा रिसोर्ट चल्न नपाएको महाप्रबन्धक समिर कपिलको भनाई छ । ‘टार्गेट गरेको आम्दानी मेन्टन हुन नसकेपछि समस्या आउने नै भयो,’ कपिलले भने, ‘हामी धानिने अवस्थामा मात्र रह्यै । बन्द गरेनौ । अन्तिम अवस्था आएपछि जस्तो पनि व्यहोर्नु पर्ने रहेछ ।’ सुरुमा रिसोर्टमा ५ सय कामदार थिए । तर राम्रोसंग नचलेपछि कर्मचारी घटाएर डेढसयमा झारिएको थियो । कपिलका अनुसार फेरी पूर्णरुपमा रिसोर्ट संचालन गर्न ६ सय जति कर्मचारी आवस्यक पर्छ ।

कांग्रेस निकट नेपाल पर्यटन तथा होटल मजदूर संघ, एमाले निकट नेपाल स्वतन्त्र होटल मजदूर संघ र माओवादी केन्द्र निकट अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदूर संघले सेवा सुविधा कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएपछि गत फागुन १७ देखि रिसोर्ट बन्द छ । ६ महिनादेखि बन्द रिसोर्ट यतिबेला ‘भूतबंगला’ जस्तो देखिन्छ । रिसोर्ट परिसर, भवनको छत, भित्ता झारपातले ढाकिएको छ । कोठाहरुमा ढुसी पलाएको छ । स्विमिङ पुललगायत संरचना जीर्ण बनेका छन् । रंग खुईलिएको, पानी चुहिएर सामान बिगारेको छ ।

लामो समयदेखि रिसोर्ट बन्द हुँदा व्यवस्थापनले करोडौं रुपैयाँ नोक्सानी बेहोर्नुपरेको छ । एकातिर बुकिङ रद्द गर्नुपरेको र अर्कोतर्फ भौतिक संरचना बिग्रिएकाले मर्मतकालागि करोडौ रुपैयाँ व्ययभार व्यवस्थापनलाई परेको छ । महाप्रबन्धक कपिलले भूकम्प र नाकाबन्दीका वावजुध पनि मासिक तलव समयमै दिईरहेको र अरु सेवा सुविधा छिटै दिन्छौ भन्दा पनि बन्दै गर्नुपर्ने अवस्था आएको बताए । बन्दका कारण केकति क्षति भयो भन्नेबारे पछि हिसाव हुने उनको भनाई छ ।

प्रकाशित : आश्विन १, २०७४ १५:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्