२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

१२ करोडको अंगुरखेती

नेपालकै पहिलो व्यवसायिक भाइनयार्ड
सुरज कुँवर

काठमाडौं — अंगुर भन्नेबित्तिकै हाम्रो दिमागमा सेतो र कालो रंगको झुप्पाहरू देखापर्छन् । तर विश्वभर ८ हजारभन्दा बढी प्रजातिका अंगुर फल्छन् । तीमध्ये हामीले कति चाख्ने अवसर पाएका छौं ? सायद केही थोरै मात्रै । किनकि नेपालमा अझै पनि व्यावसायिक अंगुर खेती सुरु भएकै छैन ।

१२ करोडको अंगुरखेती

वरिष्ठ बागबानीविद् धर्म महर्जनका अनुसार, नेपालमा ४२ वर्षअघि अमेरिकी सहयोगबाट अंगुर खेतीको परीक्षण थालिएको थियो । तर, अझै पनि यो ठूलो मात्रामा बिस्तार हुन सकेको छैन । अमेरिकी सहयोगमा टोरु कोन्डो नाम गरेका बागबानीविज्ञले नेपालमा थालेको अंगुरखेतीको सुरुआतलाई नेपाल सरकारले किसानको खेतसम्म पुर्‍याउन कोसिस गरिरहेको छ तर सफल भएको छैन । कीर्तिपुरको बागबानी केन्द्रले अंगुरका बिरुवा उत्पादन गरिरहेको छ । तर, किसानले मागे जति उपलब्ध गराउन नसकिरहेको त्यहाँका अधिकृत लेखबहादुर न्यौपानेले बताए । ‘कीर्तिपुरको बागबानीमा वार्षिक ५/७ सय बिरुवा मात्रै उत्पादन हुन्छन् तर ५ हजार हाराहारी बोटको देशभरबाट माग हुन्छ,’ अधिकृत न्यौपानेले भने ।

अंगुरखेती अन्य फलफूलजस्तो बोट लगाइदिएपछि सजिलै हुर्किंदैन । यसलाई विशेष मिहिनेत गर्नुपर्छ । अंगुरको बोटमा जब फल लाग्न थाल्छन् कीरा र चराबाट जोगाउन किसानको धेरै मिहिनेत गर्नुपर्छ । यो झन्झटिलो छ । हरेक अंगुरका झुप्पालाई नेट वा ब्यागमा प्याकिङ गर्नुपर्छ ।

कोन्डोकै पदचिह्न पछ्याउँदै यति बेला काठमाडौं नजिकै केही करोड लगानीमा थानकोटका कुमार कार्कीले अंगुरखेती थालेका छन् । ७ वर्षअघि उनले ७ रोपनीबाट सुरु गरेको अंगुरखेती अहिले काठमाडौं हुँदै धादिङको काउले, जुगेखोलासम्म १ सय २० रोपनीमा फैलिएको छ । साउन, भदौमा कार्कीलाई भाइनयार्डमा अंगुर टिप्न भ्याइनभ्याई हुन्छ ।

हालैको एक शनिबार धादिङको नौबिसेदेखि ४ किलोमिटर माथि बाइरोडको बाटो हुँदै थ्राके पुग्दा उनी बारीमा उत्पादन भएको अंगुरलाई त्यही वाइन कसरी बनाउने भनी लागिपरेका थिए । थाक्रेको काउले र पातलेवनका भाइनयार्डलाई कार्कीले पर्यटनसँग जोडेका छन् । अर्थात् यहाँबाट उत्तरतर्फका एक दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छ । पातलेवनमा रिसोर्ट पनि चलाइएको छ ।

यहाँ कार्कीले सन् २००९ देखि पातलेवन ब्रान्डमा कमर्सियल वाइन उत्पादन पनि गर्दै आएका छन् । यसमा उनले १२ करोड लगानी गरिसकेको बताए । यस वर्ष ६ हजार बोतल वाइन उत्पादन गरेका कार्कीले २०१७ मा ६ हजार बोतल उत्पादन गर्ने भनेका छन् ।

अहिले पनि फलफूलको उत्कृष्ट १० को सूचीमा अंगुर विश्वभर आँप, केरापछि परेकै हुन्छ । तर, नेपालले भने हरेक वर्ष करोडौं रुपैयाँ बराबरको अंगुर आयात गरिरहेको छ । तर, टुरिस्ट गाइड कार्कीले झैं धेरैले अंगुरमा लगानी गरे, यो आम्दानीको राम्रो स्रोत हुन सक्छ । किनकि कार्कीले अहिले लगानी उठाउन थालिसकेका छन् ।

प्रकाशित : आश्विन २, २०७४ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?