मतदानमा चाडपर्वकै जस्तो रौनक

शंकर आचार्य, अमन कोइराला

पर्सा/रौतहट/सर्लाही — वीरगन्ज महानगरस्थित खाद्य संस्थान मतदान केन्द्रमा सोमबार बिहान मतदान गर्न आएका यातायात व्यवसायी परजित सिंह निकै उत्साहित देखिन्थे । भोट हाल्न लामबद्ध ६५ वर्षीय सिंह अल्पसंख्यक सिख समुदायका अगुवा व्यवसायीमध्येका हुन् । ‘म भोट हाल्न आतुर थिएँ,’ उनले भने, ‘२० वर्ष त्यसै बित्यो, हामीले स्थानीय तहका जनप्रतिनिधि चुन्न पाएका थिएनौं, अहिले हाम्रा लागि ठूलो अवसर आयो ।’

स्थानीय निर्वाचन भए पनि यसले दुई दशकयता मुलुकमा भएका उथलपुथल र परिवर्तनलाई जनस्तरबाट पारित गर्ने उनले बताए । ‘दुई दशकयता धेरै परिवर्तनको अनुभूति गर्‍यौं, त्यसलाई जनस्तरबाट पारित गर्ने मौका हो यो,’ उनले भने, ‘परिवर्तन संस्थागत गर्दै अब मुलुकमा आर्थिक विकासको ढोका खोल्न जरुरी छ ।’

सिंहजस्तै वीरगन्ज १६ नगवा मतदान केन्द्रमा आएकी ५५ वर्षीया गृहिणी उरैशा खातुनलाई मतदानका दिन पनि टोलको भत्केको बाटो र नालाको चिन्ता थियो । ‘महानगरमा वर्षौंदेखि भत्किएका सडक र नाला व्यवस्थित गर्न सक्ने उम्मेदवारलाई मैले भोट हालें,’ उनले भनिन्, ‘स्थानीय निर्वाचन भएकाले यहींका समस्या बुझ्नेलाई जिताउनुपर्छ ।’

अन्तिम चरणको स्थानीय चुनावका दिन महानगरका बासिन्दा बिहानै मत खसाल्न आएका थिए । उनीहरू बिहानैदेखि आफ्नो मतदान केन्द्रमा लामबद्ध थिए । नयाँ पहिरनमा चिटिक्क परेर आएका मतदातामा चाडबाडको झैं रौनक झल्किन्थ्यो । वीरगन्जकै टिवडेवाल धर्मशाला केन्द्रमा भोट हालेर फर्किरहेका ८२ वर्षीय उद्योगी तथा वरिष्ठ समाजसेवी हीरालाल केडियाको मुहार उज्यालो देखिन्थ्यो ।

‘धेरै वर्षपछि जनप्रतिनिधि छान्न पाउँदा खुसी लाग्नु स्वाभाविक हो,’ उनले भने, ‘जसले जिते पनि महानगरको मुहार फेर्न सक्नुपर्छ, हामीलाई उद्योग व्यवसाय चलाउने शान्त वातावरण चाहिएको छ, बिजुली चाहिएको छ, अब बन्ने मेयरबाट यही आशा गरेको छु ।’

उनीहरूजस्तै जिल्लाका बासिन्दा उत्साहजनक रूपमा मतदानमा सहभागी भए । आइतबार राति पानी परेर मौसम चिसिएको थियो । बिहान घाम लागेपछि गर्मी बढ्यो । कतिपय केन्द्रमा हिलो भए पनि मतदाता लामबद्ध देखिन्थे । त्यसले उनीहरूको उत्साह घटेन । रोजगारी तथा शिक्षाका लागि मुलुकका विभिन्न भागमा तथा भारतमा रहेकाहरू गृहजिल्ला फर्केकाले यहाँ दसैं, तिहार तथा छठ पर्वको जस्तो रौनक अहिले नै देखिन्थ्यो । लामो समयदेखि आफन्त तथा इष्टमित्रसँग छुट्टिएकालाई निर्वाचनले भेट्ने अवसर जुटायो ।

चलचित्र अभिनेता तथा व्यवसायी शिवजी विश्वकर्माले दुई दशकपछि जनप्रतिनिधि चुन्ने अवसरलाई महान् पर्वका रूपमा लिएको बताए । ‘चुनाव दसैंअघि नै महान् पर्वका रूपमा आयो,’ उनले भने, ‘२ नम्बर प्रदेशमा चुनाव शान्तिपूर्वक हुन्छ कि हुँदैन भन्ने संशय थियो, चाडपर्वजस्तै हर्ष र उल्लास बोकेर पो आयो ।’

सदरमुकाम तथा जिल्लाका ग्रामीण भेगमा पनि शान्तिपूर्वक मतदान सम्पन्न भएको जिल्ला निर्वाचन प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए । १ महानगर, ३ नगरपालिका र १० गाउँपालिका रहेको पर्सामा झन्डै ७५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । उदयपुर घुर्मीमा बिहान मतदानका क्रममा कांग्रेस, फोरम र एमालेका कार्यकर्ताबीच झडपबाहेक सबैतिर शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न भएको छ । बहोदरामाई नगरपालिका ९ का सहायक मतदान अधिकृत शिवप्रसाद खतिवडालाई आचरणविपरीत कार्य गरेकाले निलम्बन गरिएको थियो ।

ढुक्कले मतदान
सर्लाहीमा यसपटक सर्वसाधारणले ढुक्कले मताधिकार प्रयोग गरे । संवेदनशील मानिएका क्षेत्रका मतदाताले भोट हालेपछि खुसी व्यक्त गरे । जिल्लाको निर्वाचन क्षेत्र ६ सुरक्षा दृष्टिले संवेदनशील मानिन्छ । विगतका निर्वाचनमा बुथ कब्जा र गोलीबारुदका घटना हुने गरेको यो क्षेत्रमा अहिले ४ स्थानीय तह छन् । संविधानसभाका दुइटै निर्वाचनमा उक्त क्षेत्रमा धेरैले मतदान गर्न पाएका थिएनन् ।

बलरा गाउँका एक मतदाताले २०५६ को निर्वाचनपछि पहिलोपटक मत खसाल्न पाएको बताए । ‘हाम्रा नाममा अरूले मत खसाल्ने गरेका थिए,’ उनले भने, ‘यसपटक सुरक्षा व्यवस्था कडा भएकाले हामीले मतदान गर्न पायौं ।’

यही क्षेत्रमा घर भएका राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले चन्द्रनगर गाउँपालिकाको बबरगन्जस्थित दुर्गा खोभारी मावि केन्द्रबाट मतदान गरे । चन्द्रनगरमा उनकै दाजु महेन्द्र महतो राजपाका तर्फबाट प्रमुख पदका उम्मेदवार छन् । राजपा अध्यक्षमण्डलका अर्का नेता महेन्द्र राय यादवले हरिपूर्वा नगरपालिका ९ रामजानकी मतदान केन्द्रबाट मतदान गरेका थिए । दुवै नेताले ८ बजेअघि मतदान गरिसकेका थिए ।

राजपाका संयोजक महन्थ ठाकुर भने बिरामी परेर आइतबार बिहानै राजधानी फर्किए । उनी मलंगवा नगरपालिका ८ का मतदाता हुन् । खुट्टा दुखेर हिँड्न कठिन भएपछि आइतबार दिउँसो जनकपुर हुँदै ठाकुर राजधानी गएको राजपाका सांसद केदारनन्दन चौधरीले बताए । राजपा अध्यक्षमण्डलका तीन प्रमुख नेताको गृहजिल्ला भएकाले यहाँको निर्वाचन र परिणामलाई महत्त्वपूर्ण मानिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले विभिन्न स्थानमा मतदातालाई मतदान गर्न वञ्चित गरेको सूचना पाएकाले यसपटक विशेष सुरक्षा मिलाएर मतदान गर्न पाउने लोकतान्त्रिक अधिकार सुनिश्चित बनाइएको बताए । ‘वर्षांैदेखि मतदान गर्न नपाएका धेरै रहेछन्,’ उनले भने, ‘यसपटक कुनै हालतमा मतदानको अधिकारबाट वञ्चित हुन नदिने भनेरै हामीले सुरक्षा मिलाएका थियौं । मतदान गर्नै नपाउने अवस्था लोकतन्त्रको उपहास हो ।’

जिल्लामा छिटफुट घटनाबाहेक शान्तिपूर्ण मतदान सकिएको छ । आइतबार राति हुरीबताससहित पानी परे पनि मतदान अवधिभर आकाश खुलेको थियो ।

रौतहटमा उल्लासपूर्ण
रौतहटको चन्द्रपुर नगरपालिका ८ की ६७ वर्षीया जोखनीदेवी छोरा सरोजको हात समातेर बिहानै सन्तपुर मतदान केन्द्र पुगिन् । बिरामी भए पनि उनले जनप्रतिनिधि चुन्ने अवसर गुमाइनन् । मतदाता परिचयपत्र रुजु भएपछि आफैंले मतपत्र लिएर भोट हालिन् । ‘कति वर्षपछि भोट हालें थाहा छैन,’ उनले भनिन्, ‘लामो समयपछि मुखिया चुन्न पाउँदा खुसी छु ।’ जोखनीजस्तै उत्साही देखिन्थे आम मतदाता । घरधन्दा छाडेर बिहानै महिला भोट हाल्न पुगेका थिए ।

उनीहरूले घण्टौं लाइन बसेर भोट खसाले । मतदान केन्द्रबाहिर दलका कार्यकर्ताको भीड थियो । उनीहरू साइकल र अन्य सवारी प्रयोग गरी मतदाता ओसार्न व्यस्त थिए । पटक–पटक अधिकारको माग राखेर आन्दोलन चलाएका मधेसी समुदाय आआफ्नो पार्टीमा खुलेर लागेका थिए । उम्मेदवार छनोटमा ढिलाइ, कार्यकर्ता तानतानलगायत असन्तुष्टिका कारण जिल्लामा कुन दलको अग्रता छ भन्न सक्ने अवस्था छैन ।

वृन्दावन नगरपालिकाका महेन्द्र पटेलले धेरै समयपछि प्रतिनिधि चुन्न पाउँदा हर्षित भएको बताए । ‘पहिलो वा दोस्रो चरणमा चुनाव गराउनुपथ्र्यो,’ उनले भने, ‘बिनाकारण मधेसको चुनाव पछि पारियो ।’ ढिलै भए पनि मुखिया चुन्न पाएकामा उनी खुसी छन् । मौलापुर नगरपालिकाको गम्हरिया मतदान केन्द्रमा सामान्य झडप हुँदा प्रहरीले एक राउन्ड हवाई फायर गर्नुपर्‍यो ।

यद्यपि जिल्लाभर निर्वाचन सोचेभन्दा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताए । १६ वटा नगरपालिका तथा दुईवटा गाउँपालिकामा बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । जिल्लाभर २ सय ७७ मतदान स्थल, ४ सय ३४ मतदान केन्द्र तोकिएका थिए ।

मतपत्र सुरक्षित पार्न केही गणनास्थलमा तारजाली लगाइएको जिल्ला सहायक निर्वाचन अधिकृत कीर्तिराज सुवेदीले बताए । दलका प्रतिनिधिले मतपत्र नच्यातून् भनेर गौर नगरपालिकाको मतगणनास्थलमा तारबार लगाइएको छ । अन्य गणनास्थलमा अवस्था हेरी तारबार लगाउने तयारी भइरहेको उनले जनाए । दलका प्रतिनिधि बस्ने स्थानमा तारबार हुनेछ ।

‘तर्साउन’ विस्फोट
सर्लाहीको हरिऔन नगरपालिका १ बिलन्दी प्रावि मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रममा बाटामा अवरोध भएको छ । चुरे डाँडामा पर्ने उक्त केन्द्रबाट मतपेटिका बोकेर ल्याइँदै गर्दा सडकमा बम पडकाएर अवरोध गर्न खोजिएको हो । बिलन्दीका मतदान अधिकृत शंकरप्रसाद देवले मतपेटिका गन्तव्यतर्फ लैजाँदै गर्दा विस्फोट गराएर अवरोध गर्न खोजिएको बताए ।

‘कुनै क्षति भएको छैन, मतपेटिका सुरक्षित छन्,’ देवले भने, ‘सुरक्षाकर्मीले क्षति हुन दिएनन् । ‘तर्साउन खोजिएको थियो,’ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भने, ‘सुरक्षा व्यवस्था कडा छ ।’
मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले हुरीबतासले केही ठाउँमा पानी पसेर मतदान केही ढिलो भएको बताए । ‘पानीले सामान्य असर पर्‍यो,’ उनले भने, ‘मतदान केन्द्रमा जमेको पानी काटेर ७ बजे नै मतदान गर्न भनेका थियौं । केही ठाउँमा बढीमा १० मिनेट मात्र ढिलो भयो ।’

ढुंगा हानियो
सर्लाहीको कौडेना गाउँपालिकाको मोतिपुर मतदान केन्द्रमा अपराहन मतदानका लागि लाइन बसेका मतदातालाई ढुंगा हानिएको छ । ढुंगा हान्नेको पहिचान नभएको प्रहरीले जनायो । ढुंगा प्रहारबाट एक जना घाइते छन् । जिल्ला अस्पताल मलंगवामा उपचारपछि घाइते घर फर्केका छन् । प्रहरीले बल प्रयोग गरी कुनै अप्रिय घटना हुन नदिएपछि मतदान सुचारु भएको थियो ।

जिल्लाका विभिन्न स्थानमा अर्काका नाममा मत खसाल्न आएका एक दर्जनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए । त्यसैगरी अनुमतिबिना चलाइएका ४० भन्दा बढी सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारीमा अधिकांश मोटरसाइकल छन् ।

यसैबीच बलरा नगरपालिकामा आइतबार राति गोली चलेको छ । सांसद अमरेशकुमार सिंहका सुरक्षागार्डले गोली चलाएको प्रहरीले जनाएको छ । राति सुरक्षागार्डसहित गाउँमा हिँडेका बेला अन्य दलका कार्यकर्ताले घेरा हाली आक्रमण गर्ने प्रयास गरेपछि गोली चलाउनुपरेको सिंह निकटले बताएका छन् ।

प्रकाशित : आश्विन २, २०७४ २०:००
प्रतिक्रिया
पठाउनुहोस्

मतादानमा महिला सहभागिता ‘उत्साहजनक’

भुषण यादव, लक्ष्मी साह

वीरगन्ज/बारा — तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर दुईमा सोमबार भएको स्थानीय तहको निर्वाचनमा महिलाको सहभागीता उत्साहजनक मात्र रहेन्, पुरुषको तुलनामा बढी देखियो । भित्री मधेसका केन्द्रमा पुग्दा पुरुष भन्दा महिलाका लाइन लामा देखिएका थिए । मतदान संख्या हेर्दा महिलाको खण्डमा बढी रातो मसी लगाइएको थियो ।

दुई वर्ष अघि संविधानसभाबाट जारी संविधानले स्थानीय तहमा महिला सहभागिता सुनिश्चित गरिदिएकाले उनिहरुको उपस्थिती तुलनात्मक रुपमा बढी भएको वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्रध्यापक विरेन्द्रप्रसाद साहले बताए ।

‘मतदानमा मात्र हैन्, चुनावी प्रसार प्रसारमा समेत महिलाको सहभागिता उल्लेख रह्यो,’ उनले भने, ‘महिला मैत्री संविधानले गर्दा यसपालीको निर्वाचनमा सहभागिता बढेको हो ।’ संविधानमै गाउँपालिका, नगरदेखि महानगरपालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा एकजना महिला अनिवार्य गरिएको छ । सदस्यमा पनि एक दलित महिला सहित दुई जना अनिवार्य छ ।

‘हरेक वडाबाट महिला नेतृत्वको सुनिश्चितता संविधानले गरेको छ,’ उनले भने, ‘त्यही भएर यसपालीको निर्वाचनमा महिला सहभागिता बढी देखिएको हो ।’ चुनावी अभियानमा उम्मेदवारसँग सँगै ४/५ जना सहयोगी महिलापनि घरदैलो देखि लिएर हरेक प्रचार प्रसारका गतिविधीमा सक्रिय रुपले लागेका थिए ।

यो सँगै पछिल्लो समय मधेसी महिला पनि शिक्षित भइरहेको र अधिकारका लागि सचेत बनेको देखिएको छ । विगतका निर्वाचनमा कतिपय गाउँमा मतदानका दिन घरमा हुँदा हुँदै पनि महिला भोट हाल्न मतदान केन्द्रसम्म जाने गरेका थिएनन् । ‘एकात्मक पुरुषवादी समाज विस्तारै भत्किदै छ,’ समाजशास्त्री साह भन्छन्, ‘यो मधेसी समाजका लागि सकारात्मक संकेत हो, जाहाँ महिलालाई घरको चौकठ पार्न गर्न बन्देज लगाइको थियो ।

महिलामा पनि जागरुकता फैलिएको छ ।’ मतदान केन्द्रमा समेत करिब ४० प्रतिशत महिला कर्मचारी खटिएका थिए । वाराको भरवलीया निवासी साहको मतदान केन्द्रमा ८४.४९ प्रतिशत मत खसेको छ । खसेको मतमा महिलाको संख्या ६० प्रतिशत रहेको उनले जनाए । ‘भित्री मधेसमा खसेको मतले जनता निर्वाचनका लागि कति व्यग्र प्रतिक्षा गरेका थिए भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘त्यसमा महिलाको बढो सहभागिताले चुनावमा झन उत्साह थपिएको छ ।’

उनका अनुसार पछिल्लो समय गैर कृषि पेशामा बढो आवद्धताले पनि मतदानमा पुरुषको सहभागिता केही कम भएको हो । बढो गरिबी र बेरोजगारले मधेसका युवा रोगजारका लागि तेस्रो मुलुक जान थालेका छन् । वैदेशिक रोजगारमा जानेको संख्या मधेसमै बढी छ । ‘खेती किसानीको सिजन नभएकाले पनि पुरुष सदस्य भारत वा मुलुककै अन्य सहरमा दैनिक ज्यालादारी, घर निर्माण लगायतका पेशामा गएका छन्,’ कुहडीका राजकिशोर यादवले भने, ‘प्रदेश नम्बर दुई वाहेक अन्य ठाउँमा बिदा नभएकाले पनि पुरुषहरु भोट मात्र खसाल्नका लागि गाउँ आएनन् ।’ दैनिक ज्यालादारीमा गएका युवा चाडपर्व र खेतीको सिजनमा घर फर्किने गरेको उनले जनाए ।

चिटिक्क परेर मतदान
भित्री मधेसमा प्राय कुनै उत्सवको माहौल हुँदा मात्र गृहणी श्रृंगार गरी, खुट्टामा रातो रंग लगाएर वाहिर निस्कने चलन रहँदै आएको छ । झन्डै २० वर्ष पछि भएको स्थानीय तहको चुनावमा आफ्नो प्रतिनिधी चयन गर्न आएका महिला कुनै उत्सवमा सहभागि हुन आएको जस्तै देखिएका थिए । मेला भर्न, माइतबाट विदाई हुँदा वा पारिवारिक भेटघाटका लागि जाँदा गाउँका महिला श्रृंगार गर्ने गर्छन् । सोमबार भोट खसाल्न आएका अधिकांश महिला सजिएर उत्सवमा सहभागित हुन आए जस्तै देखिएका थिए ।

‘घर वाहिर निस्किदा राम्रो देखिन जो पनि चाहन्छन, यो सामाजिक प्रेस्टिजको कुरो पनि हो,’ समाजशास्त्री साह भन्छन्, ‘महिलाले चुनावलाई उत्सवको रुपमा मनाए ।’

आइतबार राति पानी परेकाले अधिकांश केन्द्रमा पानी जमेको थियो । साडीलाई हातले केही माथि सारेर पानी छुपछुप गर्दै महिला मत खसाल्न आइरहेका थिए । बेहुली झै बनेर घुँघट तानेर लामवद्ध देखिन्थे । केहीले हातमा महेन्दी लगाएका थिए । अनेक जात/जाति र वर्गका महिला आफ्नो प्रतिनिधी चयन गर्न सँगै एउटै लाइनमा उभिरहेको दृश्य कम रोचक थिएन । मध्यान्ह घाम चर्किएको बेला लामवद्ध भएका महिला छाता ओढेर पालो पर्खे ।


घरमा पुरुष सदस्य नहुने महिलाले बालबच्चालाई साथमै लिएर मतदान केन्द्र पुगेका थिए । लामो लाइन लागेको मतदान केन्द्रहरुमा एक घन्टासम्म लामवद्ध हुँदा पनि उत्साहमा कमि आएको थिएन् । वीरगन्ज महानगरपालिका २७ उदयपुरघुर्मी मतदान केन्द्रमा भेटिएकी कुमारी यादव धेरै उत्साहित देखिन् ।

‘भोट खसालेपछि धेरै खुसी मिलेको छ,’ कान्तिपुरसँग उनले भनिन्, ‘गाउँ घरमै हाम्रो कुरा सुनिदैन्, प्रतिनिधी जीतेर आउनेछन् । जनताले चाहेको विकास गर्नेछन् ।’ स्थानीय तहलाई संविधानले दिएको अधिकार र सरकारले छुट्याएको बजेटले पनि जनताको आकर्षण स्थानीय तहको निर्वाचनमा थपिएको हो । त्यसमाथि दुई दशकपछि चुनाव भएकाले उत्साहित थिए ।

बारामा पनि उलेख्य
बारामा आइतवार राती पानी परेर सडक र मतदान केन्द्रमा पानी जमेपनि कलैया उपमहानगर १४ बघवनको नेरानिमावि मतदान केन्द्र विहान साढे ६ नबज्दै महिलाको लाइनले मतदानस्थल परिसर भरिसकेको थियो । लाइनमा बसेका महिला उत्साही थिए, चाहे त्यो पिछडिएका समुदाय होस् वा अन्य । सबै समुदायमा महिलाको उलेख्य सहभागिता थियो । महिलाको तुलनामा पुरुषको उपस्थिती निकै झुर थियो । बृद्ध महिला पनि उतिकै थिइन् ।

‘घरमुलीको सल्लाहमा पहिला हामीले प्राथामिकता पायौं,’ कलैया १५ की सुनिता देवी जयसवालले भनिन्, ‘यसपालीको चुनावमा महिला उम्मेदवारले प्राथमिकता पाएकाले खुसी छौं ।’ यसैगरी कलैया १ श्री ३ चन्द्र उमावि मतदान केन्द्रमा ९५ वर्षीया बृद्ध खुरुखुरु मत हाल्न पुगेकी भेटिइन् । नातिको सहयोमा मतदान स्थल पुगेकी उनको भोट हाल्ने इच्छा अझै छ । ‘फेरि पनि भोट हाल्ने इच्छा छ,’ उनले भनिन्, ‘समाजकै बाबुहरु ‘मुखिया’ बन्दैछ, किन न भोट हाल्ने ?’ हाम्रो भोटले उम्मेदवारलाई जस मिलोस् भन्ने आफ्नो कामना रहेको उनले सुनाइन् ।

दुई दशकपछि स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तत: उत्साहपुर्ण र शान्त वातावरणमामा हुँदा यहाँ हरेक मतदान केन्द्रमा महिलाको सहभागिता उल्लेख्य रहेको पाइएको छ । स्थानीय चुनावमा महिलाहरुलाई अनिवार्य सहभागिताको राज्यको व्यवस्थाले महिलामा उत्साह थपिएको महिला अधिकारकर्मी कृष्णा बस्नेतले बताइन् । ‘महिला उम्मेदवार अनिवार्य नभएको भए शायद यतिको महिला सहभागी हुने थिइनन्,’ उनले भनिन, ‘स्थानीय तहमा महिला सहभागितालाई प्राथमिकता दिइएकोले महिलाको मनोविज्ञानमा सामाजिक प्रभाव पारेको छ ।’

मधेसमा लजालु महिला बढी भएकोले यसपटक फरक देखिएको उनले बताइन् । बारामा १६ स्थानीय तहमा ४ सय ५८ मतदान केन्द्रका कुल ३ लाख ३४ हजार ७ सय ४६ मतदातामा मध्ये महिला सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । उनका अनुसार यहाँ ७५ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

प्रकाशित : आश्विन २, २०७४ २०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्