पहिरोले ट्रक र कार पुरियो, ३ को मृत्यु [अपडेट]

नौ घण्टापछि खुलेको राजमार्ग पुन: अवरुद्ध
माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा शनिबार बिहान खसेको पहिरोले ट्रक र कार पुर्दा दुई जनाको मृत्यु भएको छ । राति १ बजे खसेको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुन: खसेको पहिरोले दुई सवारीसाधन पुरिनुका साथै दुई जनाको ज्यान गएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा शनिबार बिहान खसेको पहिरोले ट्रक र कार पुर्दा दुई जनाको मृत्यु भएको छ ।

राति १ बजे खसेको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुन: खसेको पहिरोले दुई सवारीसाधन पुरिनुका साथै दुई जनाको ज्यान गएको हो । पुरिएर २ जनाको मृत्यु भए पनि उनीहरुको सनाखत हुन नसकेको ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए ।

ठूलो ढुंगा सहितको पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । पहिरोले पुरेको ट्रक र कार ध्वस्त भएको छ । पहिरोमा केही व्यक्ति पुरिएको अनुमान प्रहरीले गरेको छ ।

तर, पछिल्लो विवरण अनुसार अहिलेसम्म केही पनि खुलेको छैन । सडकमा पहिरो खसेपछि बाटोमा सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७४ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चेतनाका प्रतीक

महागुरु फाल्गुनन्दले हाम्रो समाज पछि पर्नु र अशान्ति फैलिनुको मुख्य कारण मद्यपान, फजुल खर्च र अनावश्यक ढर्रा नै हो भनी पहिचान गरे ।

महागुरु फाल्गुनन्द समाज सुधार, शान्ति र एकताका एक प्रतीक हुन् । तत्कालीन समाजमा व्याप्त विकृत संस्कार र परम्परा सुधार्न महान् अभियान थाल्ने सम्मानित व्यक्तित्वका रूपमा उनी स्थापित छन् ।

उनको जन्म १९४२ कात्तिक २५ गते भएको हो । इलामको इभाङ चोकिचनाम्बामा नरध्वज लिङदेनका रूपमा जन्मेका उनी पछि ‘फलामसिंह’ हँुदै ‘फाल्गुनन्द’ का नामबाट सुपरिचित भए । सानामा एकपटक उनी धेरै बिरामी परेछन् । त्यस बेलाको रुढीवादी समाज, फलामको चुरा लगाइदिए रोग निको हुन्छ भन्ने कुरा आएछ र उनका अभिभावकले त्यसै गरेछन् । त्यही फलामको चुरा लगाउने भएकाले उनको नाम नरध्वजबाट ‘फलामसिंह’ मा रूपान्तरण भएछ । कालान्तरमा समाज सुधारलाई अभियानकै रूपमा अघि बढाउन थालेपछि उनी ‘महागुरु फाल्गुनन्द’ का रूपमा चिनिन थाले र आजपर्यन्त त्यही नामबाट प्रतिष्ठापित छन्, नेपालका एक राष्ट्रिय विभूतिका रूपमा सम्मानित छन् ।
युवावस्थामा उनी पनि किरात समुदायका अन्य युवाझैँ बडो उत्साहले लाहुरे बनेका थिए । फलामसिंहकै रूपमा उनी बेलायती गोर्खा फौजमा भर्ती भएका थिए । बेलायती गोर्खा फौज उस बेला भारतमै थियो । तर, सानैदेखि विलक्षण प्रतिभा र फरक विचारका उनी आफ्ना फौजी साथीहरूलाई ‘माछा–मासु र जाँड–रक्सी खानु हुँदैन, हत्या–हिंसा ठीक होइन, झूटो बोल्नु हँुदैन, बिहान–बेलुका आफ्ना कुलदेवताको पूजापाठ गर्नुपर्छ, महिला सृष्टिकर्ता भएकाले उनीहरूलाई सम्मान गर्नुपर्छ’ भन्दा रहेछन् । यो सुनेर साथीहरूले उनलाई ‘ध्यानी, योगी, तपस्वी’ भनेर सम्बोधन गर्न थालेछन् । ‘युद्धबाट शान्ति हुँदैन, मानवजातिको कल्याणका लागि युद्ध गर्नु हँुदैन’ भन्दै हिँड्ने सिपाहीबाट फौजीको काम हुन सक्दैनथ्यो । उनलाई पनि आफ्नो बाटो लाहुरे होइन रहेछ भन्ने बोध भएपछि उनले फौजबाट राजीनामा दिए । त्यसपछि भुटान र नेपालका पूर्वी क्षेत्रहरू घुम्दै–फिर्दै उनी आफ्नै जन्मथलो फर्किए । अनि आफ्नो आत्माले मानेको काममा लागिपरे, ज्ञानगुनका कुरा फैलाउने, समाज परिवर्तन र शान्तिको पक्षमा माहोल बनाउने कामलाई अघि बढाउन थाले । 
यही क्रममा उनले १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बुवान र १७ थुमका समाजसेवी, विशिष्ट व्यक्तित्वहरूलाई बोलाएर चुम्लुङ (सभा) राखे । पाँचथरको फिदिमस्थित लब्रेकुटी भन्ने ठाउँ— जुन अहिले पवित्र धार्मिकस्थलको रूपमा चिनिन्छ— मा आयोजित त्यो चुुम्लुङमा उनले समाज सुधार र विकृत चलन परिवर्तनका केही प्रस्ताव राखे । यो भेला राख्नुअघि उनले किरात समुदाय बसोबास गर्ने सबैजसो ठाउँ घुम्दै, मानिसहरूको आनीबानी पर्गेल्दै लामो समय बिताएका थिए । 
त्यो बेला हाम्रो समाज आर्थिक दलदलमा फसेको थियो, विकृतिहरूले थिचेको थियो । लिम्बू किरात समुदायमा अत्यधिक मद्यपान गर्ने कुलतले जरो गाडेको थियो । पहाडमा बल्ल–बल्ल उब्जेको अन्नलाई जाँड–रक्सी बनाउन खर्चिने अनि बाह्रैमास भनेजसो मद्यपानमै रमाउने अभ्यासका कारण थेग्नै नसकिने आर्थिक संकट उत्पन्न भएको थियो । फाल्गुनन्दले यस्तो विकृत चलनलाई ‘मतिभ्रष्ट’ का रूपमा चित्रण गरे र यसलाई सुधार्नुपर्ने धारणा अघि सारे । 
हाम्रातिर अहिले पनि लिम्बू समुदायलाई जिस्क्याउन भन्ने गरिन्छ— अन्नबाली पाकेको बेला यो कसको घर भन्यो भने चर्को स्वरमा ‘सुब्बाको’ भन्छन्, अनि खाएर/बाँडेर सकेपछि कसैले यो कसको घर हो भन्यो भने सानो स्वरमा ‘लिम्बूको’ भन्छन् । अर्थात्, रवाफ देखाउनुपर्ने शैली छ लिम्बू समुदायमा । लिम्बू समुदायमा थेग्न नसकिने गरी विवाहभोज गर्ने चलन छ । अनावश्यक फुर्ती गर्ने, ऋण खोजेर खर्च गर्ने, अन्नबाली सक्ने खालका विसंगति र कुरीतिहरू छन् । लिम्बू समाजमा यस्तो देखावटीपन अहिले त छ भने, त्यो बेला झन् कस्तो थियो होला ? 
हाम्रो समाज पछि पर्नु र अशान्ति फैलिनुको मुख्य कारण मद्यपान, फजुल खर्च र अनावश्यक ढर्रा नै हो भनी फाल्गुनन्दले पहिचान गरे । उनले मद्यपान, बलिप्रथालगायतको विरोध गरे । यस्ता कुरा केही क्षणका लागि राम्रा लाग्लान् तर दीर्घकालीन रूपमा यसले समाजलाई पछि पार्छ, आर्थिक रूपमा माथि उठ्न सकिँदैन भनेर बुझाउने कोसिस गरे । उनले महिला भनेका देवी हुन्, तिनलाई सम्मान गर्नुपर्छ, पूजा गर्नुपर्छ भन्ने मान्यता अघि सारे । सायद फाल्गुनन्दकै शिक्षाका कारण, हाम्रो किरात समाज अन्यभन्दा केही प्रगतिशील छ । महिलालाई सम्मान गर्छ, खुला दृष्टिकोण राख्छ । घरायसी व्यवहार महिलाप्रधान हुन्छन् । 
त्यो चुम्लुङमा फल्गुनन्दले समाजका सबैखाले विकृति विसंगतिको अन्त्य गर्न सबै लाग्नुपर्छ भन्ने प्रस्ताव गरे । उनले भने— आफ्नो मौलिक भाषा र लिपिको अध्ययन र विकास गर्नुपर्छु । ‘सिरिजंगा’ लिपिलाई समृद्ध बनाउनुपर्छ । आफ्नो मौलिकतालाई पटक्कै बिर्सनु हँुदैन । तडकभडकमा जोड दिनु हुन्न । पूजापाठ गर्दा पशुबलि बन्द गरी त्यसको सट्टा नैवेद्य र फूलपाती चढाउनुपर्छ । मद्यपान गर्नै हुन्न । छोरा र छोरीलाई शिक्षाको समान अवसर दिनुपर्छ । यस्ता कुराले समाजमा शान्ति छाउँछ, एकता कायम हुन्छ । 
उनले घरबुना कपडा मात्र लगाउनमा जोड दिए । उनकै मार्गनिर्देशनका कारण हाम्रा गाउँघरतिर अहिले पनि छोरीचेलीहरू तान बुन्छन्, त्यसैबाट कतिले आफ्नो घरखर्च निकाल्ने गर्छन् । आत्मनिर्भर हुने कुरालाई बढावा दिए आर्थिक रूपमा सबल बन्न सकिन्छ भन्ने उनको मान्यता थियो । 
फाल्गुनन्दले आफ्ना उपर्युक्त धारणा ‘चुम्लुङ’ मा व्यवस्थित ढंगले राखे, पारित पनि भयो । चुम्लुङबाट दसबुँदे मुचुल्का तयार पारियो, जसलाई ‘सत्यहाङमा’ मुचुल्का भनिन्छ । त्यही ‘सत्यहाङमा’ मुचुल्कालाई लागू गर्ने प्रतिबद्धता सबैले व्यक्त गरे । फाल्गुनन्द अब त्यही मुचुल्काको प्रचार गर्न हिँड्न थाले । खास गरी मेची–कोसीका किरात समुदायमा उनले यसको व्यापक प्रचार गरे । विभिन्न स्थानमा सातवटा ‘माङ्हिम’ (मन्दिर) नै बनाए । कुम्भकर्ण हिमाल किरातीहरूको पवित्र तीर्थस्थल हो भनी उनैले परिचित गराए । त्यहाँ पनि ‘माङ्हिम’ बनाएर ‘माङसेवा (पूजाआजा) गर्ने प्रचलन सुरु गरे । उनले आफैं पनि पटक–पटक त्यहाँ पुगेर ध्यान र तपस्या गरेका थिए ।
राणा शासनको जगजगी रहेका बेला समाजको आँखा खोल्ने काम गर्नु निकै चुनौतीपूर्ण थियो । मानिसहरू भेला पारेर हिँडेको देखेपछि राणा शासनका पक्षधरहरूले उनीविरुद्ध माथि पोल लगाइदिए । राजनीति गर्दै छ, राणाशासनविरोधी काम गर्दै छ भनेर बडाहाकिमहरूलाई पोल लगाइदिएपछि उनीमाथि प्रशासनको नजर पर्‍यो । धनकुटाका बडाहाकिमले कुरा बुझ्न भनेर उनलाई बोलाए । पछि काठमाडौंसम्म पनि झिकाइयो । प्रशासनले दिएको दु:ख झेल्दै गर्दा पनि उनले सामाज सुधारको 
आफ्नो अभियान रोकेनन् । आफ्नो भाषा र मौलिकता जोगाउन, समाजमा शान्ति र एकता कायम गर्न जीवनपर्यन्त लागिपरे ।
अझै पनि हाम्रो समाजमा निकै कमी–कमजोरी, विकृति–विसंगतिहरू छन् । त्यसैले फाल्गुनन्दले थालेको अभियान झनै व्यवस्थित ढंगले अघि बढाउनुपर्ने भन्ने आवश्यकता छ । यो अभियानका कारण मानिसहरूमा धेरै चेतना बढेको छ । मानिसहरू गाउँ–समाजमा शान्ति, एकता र सद्भाव चाहने भएका छन् । यस्तो परिवर्तन आउनुमा यो अभियानको महत्त्वपूर्ण भूमिका छ । यो अभियानसंँग जोडेर गर्नुपर्ने र गर्न सकिने कामहरू अझै धेरै छन् ।
फाल्गुनन्दले गरेका काम कति महत्त्वपूर्ण थिए भन्ने अहिले प्रस्ट भइसकेको छ । उनले अघि सारेका ज्ञानगुनका कुरा महत्त्वपूर्ण र सान्दर्भिक भएरै हो, अहिले उनका अनुयायीहरू धेरै बढेका छन् । उनले अघि सारेको समाज सुधार अभियानलाई मन पराएर यसप्रति आबद्ध हुनेहरूको संख्या तीव्र गतिमा बढिरहेको छ । त्यही क्षेत्रमा जन्मेका किरातका हालका धर्मगुरु आत्मानन्द लिङदेनले महागुरु फाल्गुनन्दले अघि सारेका विचारलाई फैलाउन संस्थागत रूपमै भूमिका खेलिरहेका छन् । आत्मानन्दले इलामको माङसेबुङ लारुम्बा क्षेत्रमा बसेर अभियान चलाइरहेका छन् । यो अभियान नेपालमा मात्र होइन, विदेशसम्म पनि विस्तार भएको छ । यसै सन्दर्भमा नेपालमा ‘अन्तर्राष्ट्रिय किरात सम्मेलन’ पनि भइसकेको छ । 
मंसिर १८ गते अहिलेका गुरु आत्मानन्द लिङदेनको जन्मोत्सव पर्छ । प्रत्येक वर्ष त्यो दिन माङसेबुङको लारुम्बामा पुग्दा थाहा हुन्छ, महागुरु फाल्गुनन्दको अभियानले कसरी व्यापकता पाउँदै छ । लारुम्बा क्षेत्र धार्मिक थलोको रूपमा विकसित भएको छ । त्यो क्षेत्रमा जाँड–रक्सी बर्जित छ । प्रत्येक वर्ष मंसिर १८ गते हुने कार्यक्रममा भारत, बु्रनाई, हङकङलगायतबाट किरात धर्मावलम्बीहरू सहभागी हुन आइपुग्छन् । त्यो कार्यक्रममा हुने उपस्थिति र उनीहरूको प्रतिबद्धता हेर्दा फाल्गुनन्दको अभियान कहाँ पुगेको छ भन्ने स्पष्ट हुन्छ ।
लारुम्बा क्षेत्रको महत्त्व र फाल्गुनन्दको योगदान सम्झेर गणतन्त्र स्थापनापछिका दुवै राष्ट्रपति, उपराष्ट्रपति, तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र केपी ओलीलगायत लारुम्बा क्षेत्र पुगेका छन् । त्यसलाई धार्मिकस्थलको रूपमा विकास गर्न मैले पनि यस क्षेत्रको निर्वाचित सांसदको हैसियतले विभिन्न पहल गरिरहेकै छु । 
हाम्रो देश सबै जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो । यस्तो फूलबारी बनाउन धेरै महान् व्यक्तित्वहरूले विभिन्न कालखण्डमा योगदान गरेका छन् । अब फाल्गुनन्द कुनै एउटा समुदायको मात्र रहेनन् । यी राष्ट्रिय विभूतिको विचारलाई फैलाउन र समृद्ध बनाउने दिशामा राज्यले पनि पहल गर्न जरुरी छ । राज्यले फाल्गुनन्दका सत्कार्यहरूलाई जनतासमक्ष पुर्‍याउन सक्दो पहल गर्नुपर्छ । उनका मार्गदर्शनबारे थाहा पाउँदा जनताको चेतना झन् फराकिलो हुन्छ । यस्तो हुन सके देशलाई सबै जाति र भाषाको फूलबारी बनाउन झन् सघाउ पुग्नेछ । 
(पूर्वसभामुख नेम्बाङसँग दुर्गा खनालले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित : आश्विन ७, २०७४ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT