कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हङकङ पुगेर पारसले भने- 'जित बाहेक विकल्प छैन'

हङकङ — विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध हुने खेलमा नेपालसँग जित बाहेक अर्को विकल्प नरहेको कप्तान पारस खड्काले बताएका छन् । ५० ओभरको दुई खेल खेल्न नेपाली टोली बुधबार बिहान हङकङ आइपुगेसँगै कप्तान पारसले यस्तो बताएका हुन् ।

हङकङ पुगेर पारसले भने- 'जित बाहेक विकल्प छैन'

हङकङ स्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा हङकङ र नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शुक्रबार र आइतबार खेल्दै छन् ।

‘च्याम्पियनसिपमा हामी यस्तो स्थितिमा आइपुगेको छ, जहाँ हामीलाई जित बाहेक अर्को विकल्प छैन,’ हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पारसले कान्तिपुरसँग भने, ‘अनुभवको हिसाबले हामी हङकङमा नयाँ जस्तै छौं । पछिल्लो पटक यहा आएर खेलेका खेलाडीमा म र शरद (भेषावकर) मात्र छौं । तर हामीसँग अनुभवी खेलाडी छन् ।’

१२ वर्षपछि नेपाली राष्ट्रिय टोलीले हङकङमा आएर आधिकारिक खेल्न लागेको हो । २००५ मा परेश लोहनीको कप्तानीमा नेपालले एसीसी फास्ट ट्रयाक कन्ट्रिज तीनदिवसीय खेल्न हङकङ आएको थियो । सो टोलीका अहिले पारस र शरदमात्र बाँकी छन् । हङकङ भ्रमणका अर्का अनुभवी खेलाडी शक्ति गौचन अस्वस्थताका कारण यस पटक नेपाली टोलीमा छैनन् । गत वर्ष सन्दीप लामिछानेले हङकङ ब्लिजमा काउलुनबाट खेलेका थिए ।

युवा स्पिनर सुशन भारी र सुशील कँडेल नेपाली टोलीका अर्का दुई स्पिनर हुन् । पारसले शक्तिको अनुपस्थिति नेपाली टोलीका लागि ठूलो घाटा भए पनि यी दुई स्पिनरका लागि अवसर भएको बताए । वसन्त रेग्मी र सन्दीप भएका कारण सुशन र सुशीलले प्लेयिङमै खेल्न पाउने सम्भावना निकै कम रहेको छ ।


 
च्याम्पियनसिपको अंक तालिकामा हङकङ ११ अंकसहित पाँचौं र नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । च्याम्पियनसिपको शीर्ष चार टोली २०१९ को विश्वकप छनोटमा पुग्ने छ । नेपालले सातौं तथा अन्तिम चरणमा युएई गएर डिसेम्बरमा युएईसँग खेल्ने छ ।

प्रकाशित : आश्विन २५, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?