ठाउँ–ठाउँमा मण्डला

प्रशान्त माली

ललितपुर — पाटनको थ्याका युवा पुच:ले न्हूदँ नयाँ वर्ष नेपाल संवत् ११३८ को उपलक्ष्यमा मण्डला बनाएको छ । सर्वसाधारणलाई मण्डलाको महत्त्वका बारेमा जानकारी दिन नकबहिलस्थित मूल डबलीमा मण्डला बनाइएको पुच:ले जनाएको छ ।

‘संस्कृत शब्द मण्डलादीबाट उत्पत्ति भएको मण्डल नेपाल भाषामा मण्ड: र अंग्रेजीमा मण्डला भनिन्छ,’ मण्डला विशेषज्ञ प्रचण्ड शाक्य भन्छन्, ‘नेपाल भाषामा मण्ड: भनेको ज्ञान र लादी भनेको सार रहेको मण्डला हो ।’ सर्वप्रथम बुद्धले शिष्य आनन्दलाई ‘ह्वील अफ लाइफ’ भवधर्मचक्र मण्डलका बारेमा वर्णन गरेका थिए । ‘यहीँबाट मण्डलाको विकास भएको हो,’ उनले भने, ‘युवा पुस्ताले मण्डला हेरेर आकर्षित हुने मात्र नभई त्यसले दिन सक्ने ज्ञान लिनुपर्छ ।’

नकबहिलमा पुच:का १५ युवायुवतीले दुई दिन लगाएर नवग्रह मण्डला बनाएका छन् । स्थानीय युवा सुजन शाक्यका अनुसार नेवारी परम्परामा आठवटा मंगल चिह्न हुन्छ । ‘मंगल भनेको शुभ हो,’ उनले भने, ‘नवग्रहमा ब्रह्माण्डको चित्रण गरिएको छ ।’ नवग्रहमा सूर्य, चन्द्र, बुध, शुक्र, मंगल, बृहस्पति, शनि, राहु र केतु पर्छन् । ‘चिना देखाउँदा र ग्रह शान्ति गर्दा प्रयोग हुने मण्डला यही हो,’ उनले भने, ‘नवग्रह मण्डलामा हिन्दु र बौद्ध (बज्रायणी) धर्मसँग सम्बन्धित छ ।’
पाटन छाबहालमा भने पञ्चबुद्ध मण्डला बनाइएको छ । ‘हिन्दु धर्मअनुसार मण्डला यन्त्र भनिन्छ,’ स्थानीय युवा श्रवण शाक्य भन्छन्, ‘बीच भागको चक्रमा बुद्ध मूर्ति भएको मण्डला पञ्चबुद्ध मण्डला हो ।’ उनले पञ्चबुद्ध मण्डला पञ्चावली तत्त्व मिलेर बनाइएको बताए । उनी भन्छन्, ‘सबभन्दा बाहिर आगोको ज्वालावली तत्त्वले रिस, राग र मोह, बज्रावलीले शक्ति, पद्मावलीले मन शुद्ध, निश्चल, कोमल, वायुवलीले मिलनसार हुनुपर्ने संकेत गर्छ । त्यसपछि दरबार आकृतिमा चारैतिर मुख्य प्रवेशद्वारमा महाकालजस्ता डरलाग्दा देवता राखिएका छन् । यसको अर्थ मानिसका फरक–फरक किसिमका स्वभाव हुन्छन् भन्ने हो । यसको पहिचान क्षमता मानिसमा हुनुपर्ने उल्लेख गर्दै शाक्यले भने, ‘अनि मात्र सफलता पाउन सकिन्छ भन्ने संकेत गर्न खोजिएको हो । देवताले समाती राख्ने ज्याबलमा मानिसहरूलाई अंकुश लगाउने संकेत रहेको छ । ‘ज्ञानगुणका कुरा लिइसकेपछि सुरक्षित गर्नुपर्ने संकेत तालाले, प्रचारप्रसार गर्नुपर्ने संकेत घण्टाले गर्छ,’ उनले भने ।
यमन्तक देवताको मण्डलामा देवताहरू देखिँदैन । देवताका प्रतीकका रूपमा खड्गहरू हुन्छन् । यसले मानिसहरूमा गोप्यताको क्षमता पनि हुनुपर्ने संकेत गर्छ । मठमन्दिर, घरको कौसी, आँगन, पूजा कोठा इत्यदिमा देखिने मण्डल अष्टमण्डल हुन् । यसलाई कुलदेवता, इष्टदेवतालगायत जुनसुकै देवताको प्रतीकका रूपमा पूजा गर्न सकिने उल्लेख गर्दै मण्डला विशेषज्ञ शाक्यले भने, ‘ज्ञान प्राप्त गर्न घर त्यागिहाल्नु पर्दैन ।’ उनका अनुसार विभिन्न तरिकाबाट ज्ञान हासिल गर्न सकिन्छ । ‘म्ह: पूजा गर्दा पनि मण्ड: बनाएर नव वर्ष फलिफाप होस् भनी पूजा गरिन्छ,’ उनले भने, ‘यसबाट पनि पूर्ण ज्ञान हासिल गर्न सकिन्छ ।’ उनले मण्ड:मा अष्टमंगलको चिह्न हुने बताए । ‘मण्ड:मा श्रीबच्छको अर्थ मृत्यु नभएसम्म ज्ञानगुणका कुरा सिकिरहनुपर्ने, कमलको फूलले मन निश्चल, निर्मल र कोमल बनाउनुपर्ने, ध्वजबलले आफूमा भएको प्रभाव देखाउन सक्नुपर्ने, कलश अमृत, चामरले सबैलाई समान व्यवहार, मत्स्यले राम्रो र नराम्रो गुण छुट्याउन सक्नुपर्ने, छत्रले अरूलाई पनि सुरक्षा गरेर अगाडि बढ्न सक्नुपर्ने र शंखले सधैं जागरुक हुुनुपर्ने संकेत गर्छ । कालो भटमास, कालो दाल जनावरका प्रतीक हुन् । मानिसमा रहेको जनावरको जस्तो प्रवृत्ति हटाउन सके देवतासरह स्थान पाउन सकिने शाक्यले बताए । 

प्रकाशित : कार्तिक ७, २०७४ १८:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जनजाति प्रतिष्ठान खारेज गर्न नहुने स्पष्टिकरण

कान्तिपुर संवाददाता

काठमाडौं — आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान निरन्तर रहनु पर्ने स्पष्टिकरण पेश गरिएको छ । सरकारले मुलुक संघीयतामा गएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतका प्रतिष्ठान, समितिहरु खारेज गर्ने/नगर्नेबारेमा लिखित राय माग गरेको थियो । त्यसको जवाफमा प्रतिष्ठानले खारेज गर्न नहुने प्रष्टिकरण दिएको हो ।

‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनद्वारा स्थापित सम्माननीय प्रधानमन्त्रीज्यू नै अध्यक्ष रहेको एक स्वायत्त संस्था हो,’ प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले प्रष्टिकरणमा भनेका छन्, ‘संविधानत: आदिवासी जनजाति आयोगको स्थापना र सो बमोजिम ऐन पारित हुनु सकारात्मक पक्ष हो । आदिवासी जनजाति समुदायको स्थितिको अध्ययन गरी तत्सम्वन्धमा गर्नुपर्ने नीतिगत, कानूनी र संस्थागत सुधारका विषयमा नेपाल सरकार समक्ष आदिवासी जनजाति आयोगले सिफारिस र सुझाब मात्र दिने तर आदिवासी जनजातिको समग्र विकास र उत्थानको लागि उक्त सिफारिसहरूको कार्यान्वयन गर्न सरकारको तर्फबाट प्रतिष्ठान आवश्यक छ ।’

प्रतिष्ठान ऐनअनुसार यो कुनै मन्त्रालय मातहतको निकाय नभई स्थानीय विकास मन्त्रालयमार्फत सम्पर्क मात्र राख्ने व्यवस्था भएको उल्लेख छ । ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान हटाउने, राख्ने वा पुनर्संरचना गर्ने कुरा पूर्ण रुपमा राजनीतिक विषय हो,’ अगाडि भनिएको छ, ‘नेपाली भाषा साहित्यको उत्थान र विकासको लागि नेपाल प्रज्ञा प्रतिष्ठान केन्द्रीय तहमा रहेझैं समग्र आदिवासी जनजातिको भाषा, साहित्य, संस्कृति, परम्परागत ज्ञान, सीप, कला र इतिहासको संरक्षण, सम्वर्द्धन तथा विकास गर्नको लागि केन्द्रीय र प्रादेशिक तहमा प्रतिष्ठानको आवश्यकता झन् अपरिहार्य छ ।’

प्रतिष्ठान स्थापना अघिदेखि संलग्न अधिकारकर्मीहरुसित लिइएको परामर्शका आधारमा उक्त स्पष्टिकरण पेश गरिएको प्रतिष्ठानका सदस्यसचिव गोविन्दलाल माझीले जनाए । सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजातिहरूको हिस्सा कुल जनसंख्याको ३५ दशमलब ९ प्रतिशत रहेको छ । सूचिकृत प्रत्येक जातिबाट यस प्रतिष्ठानको सञ्चालक परिषद्मा संस्थागत प्रतिनिधित्व रहन्छ ।

‘प्रतिष्ठान हरेक आदिवासी जनजातिको तर्फबाट नेपाल सरकारको निकायमा प्रत्यक्ष पहुँच भएको संस्था पनि भएकोले यो रहनुको सान्दर्भिकता कायमै छ,’ स्पष्टिकरणमा भनिएको छ, ‘अत: प्रतिष्ठान हचुवा भरमा खारेजी, हस्तान्तरण नभई संघीय संरचना बमोजिम प्रतिष्ठान ऐन संशोधन गरी प्रतिष्ठानको संरचनाहरू केन्द्र, प्रदेश र स्थानीय स्तरमा पुनर्संचना गर्नुपर्दछ ।’ साथै, लोपोन्मुख तथा अतिसिमान्तीकृत समूहका राउटे, कुसुण्डा, चेपाङ, बनकरिया, राजी, किसान, कुसवाडिया, मेचे, लेप्चाजस्ता समुदायहरूको समग्र उत्थानका निम्ति प्रतिष्ठानले केन्द्रीय स्तरबाट सञ्चालन गर्दैआएको विशेष कार्यक्रमहरू निरन्तर रहनुपर्नेसमेत भनेको छ ।

प्रकाशित : कार्तिक ७, २०७४ १८:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT