१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जो सँगै जन्मिए...

मकर श्रेष्ठ

काठमाडौं — यी हुन् प्रणय हर्ष, प्रशन्न हर्ष, प्रतीक हर्ष र प्रशंसा । काठमाडौं म्हेपीका यी बालबालिका दाजु–भाइ र बहिनी हुन्। चारैजना अहिले कक्षा ७ मा पढ्छन् । सँगै स्कुल जान्छन्, सँगै फर्कन्छन् । स्कुलमा पनि एउटै सेक्सनमा बस्छन्। आश्चर्य नमाने हुन्छ– हरेक साल जन्मदिनसमेत एकसाथ मनाउँछन् । किनभने यी चम्ल्याहा हुन्।

जो सँगै जन्मिए...

यी हुन् प्रणय हर्ष, प्रशन्न हर्ष, प्रतीक हर्ष र प्रशंसा । काठमाडौं म्हेपीका यी बालबालिका दाजु–भाइ र बहिनी हुन् । चारैजना अहिले कक्षा ७ मा पढ्छन् । सँगै स्कुल जान्छन्, सँगै फर्कन्छन् । स्कुलमा पनि एउटै सेक्सनमा बस्छन् । आश्चर्य नमाने हुन्छ– हरेक साल जन्मदिनसमेत एकसाथ मनाउँछन् । किनभने यी चम्ल्याहा हुन् ।

आमा प्रमिला बज्रचार्यले २०६२ वैशाख २८ मा एकैपटक उनीहरूलाई जन्माएकी हुन् । उनीहरूले एलकेजीसम्म दरबारमार्गको मोर्डन नेवा: स्कुलमा पढे । अहिले राजधानीस्थित रोजबड स्कुलमा पढ्छन्। आमा प्रमिला र बुबा प्रमोद हर्षले बोल्ने मातृभाषा नेवारी बुझ्छन् तर फर्काउन जान्दैनन् । ‘घरमा बाबामामु नेवारीमै कुरा गर्नुहुन्छ । उहाँले बोल्नुभएको हामी बुझ्छौं तर फर्काउन आउँदैन,’ चम्ल्याहामध्येकी कान्छी प्रशंसाले भनिन् ।


यी चारमध्ये प्रशंसा कहिलेकाहीं बिरामी पनि भइरहन्छिन् । एउटा बिरामी भएपछि अरूलाई पनि सामान्य असर पर्ने नै भयो । प्रशन्न पढाइमा औसत खालका छन् । अरू तीन जना फरक–फरक विषयमा निपुण छन् । प्रणय अंग्रेजी, नेपाली र विज्ञानमा जान्ने छन् । प्रतीक गणितमा र प्रशंसा अंग्रेजी, नेपाली र कम्प्युटरमा पोख्त छिन् । प्रशन्नलाई तीनै जनाले सघाउँछन् । घरमा उनका लागि छुट्टै शिक्षकसमेत राखिएको छ ।
उनीहरूको पढ्ने तरिका पनि काइदाको छ । स्कुलबाट घर पुगेपछि फरक कोठामा बसेर गृहकार्य गर्छन् । चारमध्ये कसैलाई आएन भने चारैजना एउटै कोठामा जम्मा हुन्छन् । अनि जसलाई जे आउँदैन त्यो विषयमा छलफल गर्छन् । एउटालाई नआएको होमवर्क होस् वा एसाइन्मेन्ट सबै मिलेर गर्छन् । विद्यालयमा सामूहिक वा एकल रूपमा प्रस्तुत गर्नुपर्ने परियोजना कार्य वा सामग्रीसमेत जसलाई पहिले आउँछ, उसैले बनाउँछ । त्यसपछि अरू सबैले सिक्छन् । ‘म सबैलाई म्याथ सिकाउँछु,’ प्रतीकले भने ।
नेपाली र विज्ञानमा समस्या पर्‍यो भनेचाहिँ प्रणयले सिकाउँछन् ।
पढ्ने तरिका पनि फरक–फरक छ । प्रतीकले शिक्षकले कक्षामा लेखाइदिएको नोट पढ्छन् । अनि नहेरी कपीमा लेख्छन् । यति गर्दा पनि आएन भने फेरि नोट वा किताब हेर्छन् । अरू तीन जनाको तरिकाचाहिँ अलि बेग्लै छ । उनीहरू नोट वा किताबमा भएको कुरा जान्न घोक्छन् ।


उनीहरू हरेकले भविष्यमा आफूले के गर्ने भन्ने योजना पनि बनाएका छन् । जेठा प्रणयको कानुन व्यवसायी बन्ने लक्ष्य छ । माइला प्रशन्न र कान्छा प्रतीक व्यापार व्यवसाय गर्न चाहन्छन् । प्रशंसाको चाहिँ कम्प्युटर इन्जिनियर बन्ने उद्देश्य छ ।
चारै जनाको मनपर्ने खेल टेबल टेनिस (टीटी) हो । कान्छो प्रतीकलाई फुुटबलमा पनि रुचि छ । प्रशंसाको रुचि अरूको भन्दा फरक छ । उनी ब्याडमिन्टनमा रमाउँछिन् । उनीहरू घरमा क्यारेमबोर्ड, टीटी, फुटबल, क्रिकेट खेल्छन् । ‘घरमै टेबल जोडेर टीटी खेल्छौँ,’ प्रणयले भने ।
उनीहरूको मनपर्ने खानेकुरा पनि फरक फरक नै छ । प्रणयलाई आलु र चाउचाउ मन पर्छ भने प्रशन्नलाई पिज्जा । प्रतीक र प्रशंसालाई भने मम मनपर्छ । घरमा खेल्न उनीहरूलाई साथी चाहिँदैन । जुन खेल खेले पनि चार जना मिलेर खेल्छन् । प्रशंसा भन्छिन्, ‘हामी साथी जसरी नै खेल्छौं । जे खेले पनि टिम पुगिहाल्छ ।’
उनीहरूका छुट्टाछुट्टै इलेक्ट्रोनिक्स डिभाइस छन् । प्रणयको डेक्सटप कम्प्युटर छ । प्रशन्न र प्रतीकको आ–आफ्नै टयाब्लेट छन् । प्रशंसाको चाहिँ मोबाइल । उनीहरू जन्मदिन पनि रोचक पाराले मनाउँछन् । एउटा ठूलो केक चारै जनाले काट्छन् । एकले अर्कोको प्रशंसा र विरोध गर्न पनि उनीहरू पछि पर्दैनन् । प्रशंसाले पोल खोलिन्,‘प्रतीक सधै औंला चुस्छ ।’ प्रतीकले चाहिँ आफू प्रशंसाको कोठामा छिर्दा उनी रिसाउने गरेको सुनाए ।
उनीहरूबीच आपसमा सामान्य झगडा पनि पर्छ । एक जनाले गल्ती गर्दा चारै जनाले पिटाइसमेत खाएका छन् । चारै जना खेल्दा गमला फुटेपछि सबैले पिटाइ खाएको प्रशंसाले सुनाइन् । आफूहरू चारै जना एकसाथ जन्मिएको भन्ने कुरामा उनीहरू आफैं पनि अचम्म मान्छन् । ‘अरूका आमाबाबुले एउटा सन्तान जन्मिएको दुई तीन वर्षपछि मात्रै अर्को जन्माउँछन् । हामी त एकै पटक जन्मियौं,’ कान्छा प्रतीक भन्छन्, ‘हामी त धेरै भाग्यमानी । बरु आमा–बाबाले चाहिँ हामी चारै जनालाई कसरी हुर्काउनुभयो होला ? कुनै खेलौना ल्याउँदा चारै जनालाई चाहिने भन्दै मागेर हैरान पाथ्र्यौं ।’ एउटालाई केही खानेकुरा दिँदा अरूले पनि मागेर अभिभावकलाई सताएको उनीहरू सम्झन्छन् ।
‘बेफाइदा भनेको जे भए पनि, जे गरे पनि चार भाग लगाउनुपर्ने मात्रै हो,’ प्रणय भन्छन्, ‘अरू त फाइदै फाइदा ।’ पाँच कक्षासम्म हुँदा उनीहरू सबै एउटै खालका कपडा लगाउँथे । अबचाहिँ फरक–फरक साइज र रंगको लगाउन थालेका छन् । उनीहरूलाई बुधबार विद्यालयमा भेट्दा तीनै भाइको ज्याकेट मात्रै उस्तै थियो । चारै जना बाटोमा हिँड्दा अचम्म मानेर हिँड्ने गरेको उनीहरूको अनुभव छ । टयाक्सीमा चढ्दा ड्राइभरले नै अचम्म मानेको घटनासमेत उनीहरूले सुनाए । प्रणय भन्छन्, ‘टयाक्सी चालकले सबै तपाईंका छोराछोरी हो भनेर सोधे । मामुले चम्ल्याहा हो भनेपछि चालक गाडी चलाउनै छाडेर हामीलाई हेरिरहे ।’ विद्यालयमा नयाँ शिक्षक र विद्यार्थीले समेत चासो लिएर सोध्ने गरेको उनीहरूले सुनाए । ‘धेरैजसोले त चम्ल्याहा हुन् भन्ने थाहा पाउनेवित्तिकै हामीसँगै बसेर फोटो खिचाइहाल्छन्,’ प्रशन्न भन्छन् ।

‘एउटालाई स्याहार गर्दा अरु रुन्थे’
उर्मिला बज्राचार्य (आमा)

मेरो टेस्टयुट बेबी हो । पहिलो स्टेजमै चार जना छन् भन्ने थाहा भयो । महिना पुगेर जन्मिए । सबैभन्दा छोरी एक्टिभ थिइन । दुई जनालाई त दुई महिनासम्म इक्युभेटरमा राख्नुपर्‍यो । डाक्टरले दुई जना लिएर घर जान भन्नुभएको थियो । चारै जना लिएर मात्रै जाने भनेर कुरेर बसेँ । सुत्केरी भएको एक महिनापछि चारै जना लिएर फर्किएँ । हुर्काउन गाह्रो भयो । एक जनालाई केयर गर्दा अर्को रुन्थ्यो । एकैचोटि सम्हाल्न गाह्रो थियो । त्यसैले बच्चा हेर्ने सहयोगी राखेकी थिएँ । एउटालाई फकाउन थाल्यो, अर्को रुन्थ्यो । एउटा बिरामी हँुदा तीनवटा घरमै छाडेर जान्थेँ । एकै पटक दुई/तीन जना बिरामी भइरहन्थे । सुई लगाउन जाँदा चारै जाना लैजानुपथ्र्यो । त्योचाहिँ साह्रै गाह्रो । सुई लगाएको दिन त सुत्नै दिँदैनथे । चारै जना रोएको रोयै गर्थे । चारै जनालाई हेर्न सम्हाल्न सकिँदैनथ्यो । आफूले हेर्न नसक्दा कस्तो कस्तो लाग्थ्यो । कहिले एउटा बिरामी हुँदा अर्कोलाई पनि सथ्र्यो । त्यसैले अहिले छुट्टाछुट्टै बेडको व्यवस्था छ । एउटाको जुठो अर्कोलाई खुवाउँदैनौं ।
बच्चाले दु:ख दिँदा अलिकति पीडा हुन्छ । अरू बेला त खुसी नै हुन्छु । विगतमा चोटपटक लाग्ला कि भन्ने डर थियो । अहिले नराम्रो संगतमा पर्लान् कि भन्ने डर छ । कहिलेकाहीँ उनीहरू सानातिना विषयमा झगडा पनि गर्छन् । कोभन्दा को कम भन्ने घमण्ड जस्तो देखाउँछन् । कहिलेकाहीं त उनीहरू हामीप्रति नै आइलाग्छन् । चारैजना मिलेर कराउँछन् । उनीहरू मिलेर खेलेको र पढेको देख्दा भने औधि खुसी लाग्छ ।

प्रकाशित : कार्तिक २३, २०७४ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?