साउदीमा अलपत्र कामदारका आफन्त आक्रोशित

कान्तिपुर संवाददाता

काठमाडौं — वैदेशिक रोजगार विभागले साउदी अरबमा अलपत्र चारजना कामदारलाई उद्धार गरी स्वदेश ल्याउन वैदेशिक रोजगार विभागको भूमिका प्रभावकारी नभएको भन्दै पीडितका आफन्त आक्रोशित भएका छन्।

वैदेशिक रोजगार विभागले साउदी अरबमा अलपत्र चारजना कामदारलाई उद्धार गरी स्वदेश ल्याउन वैदेशिक रोजगार विभागको भूमिका प्रभावकारी नभएको भन्दै पीडितका आफन्त आक्रोशित भएका छन् । पीडितका परिवारले विभागका महानिर्देशक विश्वराज पाण्डेको कार्यकक्ष घेराउ गर्नुको साथै पाण्डेसँग आक्रोश व्यक्त गरे ।

पीडितका परिवार चार महिनादेखि विभागमा धाइरहेका छन् । ‘हामी चार महिनादेखि दिनहुँ विभागमा धाउँदा सधै हुन्छ मात्रै भनियो,’ पीडितका आफन्त चेतबहादुर थापाले भने, ‘हामी निकै मानसिक तनावबाट गुज्रियौं । अब तत्काल हाम्रो मान्छे चाहियो ।’ उनीहरुले विभागबाट आफूहरु थप पीडित हुनुपरेको वताए ।

‘हाम्रा मान्छेको अवस्था बुझ्न क्याम्पमा अहिलेसम्म दूतावास र म्यानपावरबाट कुनै प्रतिनिधि पुगेको छैन,’ उनले भने, ‘कम्पनीले पैसा नबुझाएसम्म नेपाल नपठाउने भनेर बसिरहेको छ । हाम्रा मान्छे भने नेपालीको जुठो भात खाएर बाँचिरहेका छन् ।’

उनीहरुलाई ललितपुर चाकुपाटस्थित एस इम्प्लोइमेन्ट व्युरो म्यानपावरले गत वैशाखमा साउदीको राजधानी रियादस्थित अब्दुल्लाह साउद विन मने इस्ट कन्ट्रक्सन तथा ट्रान्सपोटेसन कम्पनीमा चालक काममा पठाएको थियो । जसमा हरेराम थापा, पदम माझी, दिपबहादुर बल तामाङले करारपत्र अनुसार साउदीमा काम र तलब तथा सेवा–सुविधा नपाएको बताएका छन् । उनीहरुले काम समेत गरेका छैनन् ।

विभागका महानिर्देशक पाण्डेले पीडितलाई उद्धार गर्न विभाग इमानदारिताको साथ काम गरिरहेको बताए । ‘कामदारलाई समयमा नल्याएपछि विभागले म्यानपावरको काम गर्न नपाउने गरी रोक्का गरिदिएको छ’, पाण्डेले आफन्तहरुसमक्ष भने, ‘साउदीबाट मरेको मान्छे ल्याउन ६ महिना लाग्ने देश हो । एक्जिट नलगाएसम्म कसैले उद्धार गरेर ल्याउन सकिँदैन । हाम्रो तर्फबाट म्यानपावरलाई हदैसम्मको कारबाही गरिसकेका छौं ।’

म्यानपवारले पीडितलाई सोमबारसम्म नेपाल ल्याउने जानकारी दिएको छ । पीडित परिवारले भने म्यानपावरले सुरुदेखि नै आफूहरुलाई झुक्काउने काम गर्दै आएकोले कसैबाट आशा लाग्ने काम नभएको बताए ।

प्रकाशित : कार्तिक २४, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

सोलुखुम्बुमा वाम र कांग्रेस कार्यकर्ताबीच झडप, दुई घाइते

कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको सोताङमा शुक्रबार बाम गठबन्धन र कांग्रेस समूहबीच झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् । घाइतेमध्ये कांग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ गम्भीर भएकी छन् । उनलाई शुक्रबार नै सेनाको हेलिकप्टरबाट थप उपचारका लागि राजधानी लगिएको छ ।

र्का घाइते वाम गठबन्धन तर्फका घनश्याम नेपालीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको घटनास्थलबाट भद्रगोल किरातीले बताए । कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेद्वार बलबहादुर केसीको समूहले वाम गठबन्धनको प्रचार सामाग्री च्यातेको भन्दै बिहीबारदेखि नै सोताङमा विवाद चलेको थियो ।

रातिसमेत कांग्रेसका कार्यकर्ता बसेको घर वाम गठबन्धनका कार्यकर्ताहरुले घेरेर ढुंगामुढा गरेको आरोप बलबहादुर केसी पक्षको छ । बिहान केसी आफैंसहित सोताङ आइपुगेको टोलीसँग सामान्य भनाभन लगत्तै भिडन्त भएको थियो । केसी महाकुलुङ गाउँपालिकातर्फको कार्यक्रम सकेर फर्किँदै थिए ।

बाम गठबन्धन तर्फका घाइते घनश्याम नेपाली ।

माले नेता जगन्नाथ बास्तोलाले भने प्रहरीकै अगाडि केसी समूहका कार्यकर्ताले एक सय पचासभन्दा बढी पम्प्लेट च्यातेपछि राति घर घेराउ गरेको स्वीकारे । तर उल्टै घरमाथीबाट बोतल प्रहार भएको तर कसैलाई नलागेको बताए । तर बिहान केसी आफै आएर ‘कसको बल रहेछ त लु देखाउँ न’ भनेपछि झडपको स्थिति सिर्जना भएको बास्तोलाले बताए ।

बलबहादुर केसीले समेत 'दह्रो' झडप भएको स्वीकारे । उनले भने, ‘दह्रो झडप भयो । हाम्रो कार्यकर्तामाथी उनीहरुले रातभरि ढुंगामुडा गरेछन् । आज म पनि त्यहाँ आईपुग्दा पछाडीबाट ढुंगामुडा भयो । त्यसपछि झडप भयो । हाम्रातिरको दुईजना घाइते छन् । अरु कति भए मलाई थाहा छैन ।’ उनले प्रचार सामाग्री भने आफ्नो समूहले नभएर बाम गठबन्धनका कार्यकर्ताले च्यातेको आरोप लगाए ।

प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने घटना सामान्य भईसकेको बताए । उनले सर्वपक्षीय बैठक राखेर समस्या समाधान गर्न प्रहरी निरिक्षकको टोली घटनास्थलतर्फ पठाएको बताए ।

प्रकाशित : कार्तिक २४, २०७४ १८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्