२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

प्युठानका बाबुछोरीले भोजपुरमा जिते अल्ट्रारेस

विद्या राई

भोजपुर — अल्ट्राधाविका मीरा राईको सम्मानमा आयोजना गरिएको भोजपुर ट्रेल रेसको उपाधि प्युठानका बाबुछोरीको पोल्टामा परेको छ । पुरुषतर्फ बाबु ४० बर्षका दामोदर बुढामगर र महिलातर्फ छोरी १७ बर्षकी हुमी बुढामगरले उपाधी चुमेका हुन् ।

प्युठानका बाबुछोरीले भोजपुरमा जिते अल्ट्रारेस

उनीहरुले प्रतिव्यक्ति १० हजारका दरले नगद र मेडल पाए । मीराको जन्मगाउँ सानोदुम्मा थर्पुदेखि सुरु भएर सदरमुकाम शहिदपार्कमा टुगिंएको १८ किमिको रेस बाबु दामोदरले १ घण्टा ५५ मिनेटमा पार गरेका थिए । छोरी हुमीले २ घण्टा ३५ मिनेटमा पार गरेर विजयी भइन् । भोजपुर रेसमा उनले महिलातर्फ प्रथम भएसंगै आगामी जनवरीमा हङकङमा हुने रेसमा सहभागी हुन पाउने अवसर छ ।

बाबुछोरीलाई अर्को खुसी पनि जोडिएको छ । त्यो हो पुरुषतर्फ उक्त दुरी २ घण्टामा पार गर्दै दोस्रो हुने धावक ३४ बर्षका पुष्पलाल बुढामगर । उनी दामोदरका सक्खे साइला भाई र हुमीका काका हुन् ।

पुरुषतर्फ २ घण्टा १ मिनेटमा पार गर्दै भुमीराज राई तेस्रो, २ घण्टा ८ मिनेटमा पार गर्दै विवेक राई चौथो र २ घण्टा मिनेटमा पार गर्दै रामबहादुर गुरुङ पाँचौ भए । यसैगरी महिलातर्फ २ घण्टा ४७ मिनेटमा पार गर्दै प्रतिभा श्रेष्ठ दोस्रो, ३ घण्टा ३ मिनेटमा पार गर्दै सुनिता राई तेस्रो,३ घण्टा ७ मा पार गर्दै विना राईले चौथो र ३ घण्टा ८ मा पार गर्दै स्मिता तामाङ पाचौ भए । रेस थर्पु स्कुलबाट मानेडााडा, बास्तिम, पारपानी हुदै सदरमुकाम शहिद पार्कमा आएर रेस टुगिंएको थियो ।

महिला र पुरुष दुवैतर्फ प्रथमलाई १० हजार, द्धितीयलाई ८ हजार, तृतीयलाई ६ हजार, चौथोलाई ४ हजार र पाचौलाई २ हजार नगदसहित प्रमाणपत्र र मेडल छुट्टाछुट्टै प्रदान गरिएको छ । महिला र पुरुष दुवैतर्फ सिनियर र जुनियरलाई ४ जनालाई ३ हजारका दरले नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । अन्य सहभागिहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार भएको रेसमा जिल्लाभित्र तथा बाहिरका पश्चिम प्युठान, धनकुटा, सुनसरी लगायत जिल्लाका १ सय २० खेलाडीहरुले सहभागी थिए ।

प्रकाशित : मंसिर ४, २०७४ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?