कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाहुना चराले मनमोहक जगदीशपुर ताल

मनोज पौडेल

कपिलवस्तु — विश्व सीमसार क्षेत्र जगदीशपुर ताल पाहुना चराले भरिन थालेको छ । अहिले यहाँ हिउँदे प्रजातिका रुख सुडसुडिया, चिमचिमे र जल रंक चराचुरुंगी आएका छन् ।

पाहुना चराले मनमोहक जगदीशपुर ताल

असोज अन्तिमदेखि फाटफुट्ट आउन थालेका चराले ताल भरिन थालेकोछ । तालमा अहिले ३ हजार ५ सय बढी चरा आईसकेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । तालमा उत्तर तिरबाट दैनिक जसो सय देखि २ सय बढी पाहुना चरा आउने गरेको स्थानीय यमलाल उपाध्यायले बताए ।

तालमा सबैभन्दा बढी मरुल चरा आएका छन् । त्यसको संख्या ३ हजार बढी छ । त्यस्तै खडखडे, सिलसिले हाँस, कालीजरे हाँस र मालक हाँस आएका छन् । यी चराको संख्या ३ सयदेखि ५ सय सम्म रहेको छ ।

त्यस्तै सुईरोपुच्छ्रे चरा, बेल्चाठुडे हाँस, सिन्दुरे हाँस र कैलो टाउके हाँस पनि आएका छन् । यी चरा पनि ५ सयको संख्यामा रहेका छन् । महत्वपुर्ण त विश्वमै दुर्लभ हरि हाँस तालमा प्रसस्त देखिएका छन् । उक्त चरा पश्चिमको घोडाघोडी ताल पछि सबैभन्दा धेरै २ सय ५० को संख्यामा यहाँ देखिएको हो । चराविद् डा. बरालले अवलोकनका क्रममा उक्त संख्यामा चरा देखेको बताए । राम्रो कुरा त कम देखिन थालेको हरि हाँस एकै ठाउमा ठूलो संख्यामा देखिनु खुसीको कुरा भएको बताए ।तालमा ३० प्रजातिका चरा आएका छन् ।

नेपालको तराई तिर चिसो सुरु हुन थालेपछि उत्तरबाट यहाँ चरा आउन लागेका हुन् । उनीहरु यहाँ जाडोका महिना असोजदेखि माघ अन्तिमसम्म बस्ने गर्दछन् । त्यस्तै अबको एक सातामा वनक्षेत्रमा बढी बस्ने फिस्टाका दुई तीन प्रजाति सयौ चरा यहाँ आई पुग्ने बरिष्ठ चराविद् डा. बरालले बताए । उनले त्यस्तै घासे मैदान मनपराउने ट्याकटयाके र टिकटिक पनि साता दश दिनमा सयौंको संख्यामा जगदिशपुर पुग्ने बताए । त्यस्तै दुर्लभ प्रजातीको चील, महाचील, सारश पनि उताबाट उडी सकेर अब तीन/चार दिनमा यहाँ पुग्ने उनले बताए ।

यहाँ साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेको वरिष्ठ चराविद् डा. बरालले बताए । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न नेपालको तराईतिर आउने गर्दछन् । त्यस्तै जाडोका बेला पर्ने हिउँले उनीहरुले आहार नपाउँदा पनि चरा यता आउने गरेको पनि उनले बताए । चरा यहाँ गर्मी हुन थाले पछि फेरी उतैतिर फर्कने गर्दछन् ।

चरा सातादेखि १० दिनसम्म लगाएर यहाँ आउने गर्दछन् । करिब ४ देखि ५ हजार माईल उडेर चराहरु यहाँ आउछन् । धेरै चरा सिधै उडेर ३–४ दिनमै पुग्छन् भने कतिपय चरा रोकिँदै साता लगाएर यहाँ पुग्ने उनले बताए ।

सदरमुकाम तौलिहवादेखि करिव ११ किमी उत्तर कपिलवस्तु नगरपालिका वार्ड नं. ९ मा पर्ने तालमा गत वर्ष जस्तै यसवर्ष पनि धेरै चरा आउने संकेत देखिएकोमा निक्कै खुसी छु भन्छन् गाविसका पुर्व अध्यक्ष अब्दुलरसिद मुसलमान । चरा आबागमनले पर्यटक निकै रोमाञ्चित हुन्छन् उनले भने यस्ले गर्दा पर्यटकीय आकर्षणको केन्द्र हुन्छ ।

निकै आकर्षण र मनमोहक देखिने तालमा चराको जलविहार, चिरबिराहट र कलरव जलक्रिडाले मानवीय जीवनलाई रोमाञ्चित वनाउने हुँदा यहाँ स्वदेशी विदेशी पर्यटकहरु निक्कै लोभिने गर्दछन् ।
तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाइने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । १ सय ५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रुपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो ।

प्रकाशित : मंसिर ११, २०७४ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?