कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

यसरी बनाइन्छ ‘वाचिपा’

लोकल कुखुराको तिते
विद्या राई

भोजपुर — लोकल कुखुराको तिते जति स्वादिलो हुन्छ, तयार पार्न पनि एकदमै सजिलो छ । पहिलोपल्ट थाहा पाउँदै हुनुहुन्छ भने अनौठो पनि लाग्न सक्छ । स्थानीयहरुका अनुसार कुखुराको प्वाँख डढाएको धूलोमा सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेटा, खुट्टा मिलाएर पकाइन्छ ।

यसरी बनाइन्छ ‘वाचिपा’

आवश्यकताअनुसार नुन, तेल र मसला प्रयोग गर्नैपर्छ । कुखुरा काटेपछिको रगत मिसाउँदा अझ स्वादिलो हुन्छ । कतिपयले प्वाँख डढाएको धूलोमा रगत र भात पनि मुछेर सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेटा, खुट्टासँगै पकाउने चलन पनि छ । यसलाई स्थानीय भाषामा ‘वाचिपा’ भन्ने गरिन्छ । वाचिपा बनाउन कुखुराको भाले भए काइदा हुन्छ । नहुँदा धेरै प्वाँख भएको कुखुरा भए पनि हुन्छ । प्वाख डढाउनलाई दाउरा बालेको आगोको ज्वाला चाहिन्छ । पकाउँदा पनि दाउराको आगो नै प्रयोग गर्दा झनै स्वादिष्ट हुन्छ । यो खाना सामान्य त तितो हुने भए पनि छुट्टै स्वादको हुन्छ । स्थानीय र अर्गानिक खाना भएकाले पकाउँदा पनि अर्गानिक सामग्री नै प्रयोग हुन्छ । कम खर्चिलो पनि हुन्छ । पकाउनलाई २० देखि ३० मिनेट समय भए पुग्छ ।

जुनसुकै मौसममा घुम्न आउनेले यसको स्वाद लिन सक्छ । भोजपुर आदिवासी किरात राई समुदायको बाहुल्य रहेको जिल्ला पनि हो । प्राय: घरमा वाचिपा पाक्छ । चाडवाड अर्थात् अन्य जुनसुकै बेला घरमा कुखुरा काटेको बेला तिते बनाएन भने मासु खाएजस्तै नहुने भन्दै कुखुरा काटेपछि अनिवार्य वाचिपा बनाउँछन् । यो उनीहरुको संस्कारसँग जोडिएको खानेकुरा पनि हो । पित्रि पुज्दा वाचिपा पकाएर चढाउने परम्परा नै छ । अतिथि सत्कार गर्नपरे यही खाना पकाएर चखाउने गर्छन् । गैरकिरात आदिवासीहरुले पनि पकाएर खाने गर्छन् । अर्को नाम ‘आदिवासी खाना’ पनि हो । यसलाई औषधिका रुपमा पनि लिइन्छ । एकोहोरो तथा गाह्रो कामको थकान भएर जिउ दुखेको छ अर्थात् रुघाखोकी, चिसोले छोएको छ भने वाचिपा खाँदा निको हुन्छ ।

प्रकाशित : मंसिर २६, २०७४ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?