संरक्षणको अभावमा देशकै पहिलो पाठशाला जीर्ण (भिडियो)

विद्या राई

भोजपुर — जनस्तरबाट स्थापना भएको देशकै पहिलो एवम् पुरानो संस्कृत पाठशाला संरक्षणको अभावले जीर्ण बन्दै गएको छ । विसं. १८९२ मा मार्ग शुक्ल पञ्चमीका दिन जन्मिएका बालागुरु षडानन्द अधिकारीले वि.सं. १९३२ चैत्र शुक्ल रामनवमीका दिन उक्त पाठशाला खोली शिक्षाको प्रचार सुरु गरेका थिए ।

संरक्षणको अभावमा देशकै पहिलो पाठशाला जीर्ण (भिडियो)

स्थापनाकालदेखि संस्कृत भाषामा वेद, व्याकरण, ज्योतिष तथा साहित्यको पढाई हुँदै आएको थियो । तत्कालीन समयमा पश्चिम नेपालका गुल्मी, सल्यान, प्युठानसम्म र छिमेकी देश भारतको सिक्किम तथा आसामबाट विद्यार्थी गुरुकुल शिक्षा आर्जन गर्न आउँथे । उनले जहाँनिया राणा शासनका समयमा व्याप्त सतीप्रथा र जातीय विभेदविरुद्ध आवाज उठाएका थिए । दिङ्लाबजाररमा षडानन्द–सीताराम गुठी, मठ मन्दिर, बगैंचा, हाटबजारको व्यवस्था गरेका थिए । गुठीबाट स्थापना उब्जनी भएको १२ सय मुरी अन्नले संस्कृत पाठशाला व्यवस्थापन गर्न खर्च धान्ने गरेका थिए । गडीगाउँ कैलासमा स्थापना भएको पाठशाला वि.सं. १९५५ मा भञ्ज्याङमा स्थानान्तरण गरिएको थियो ।

२०३६ सालको नापी अनुसार उक्त गुठीको क्षेत्रफल १ हजार ७ सय ५३ रोपनी छ । अधिकारीले जग्गा तथा खेतको आम्दानीबाट अध्यापकलाई पारिश्रमिक तथा विद्यार्थीलाई छात्रवृत्ति दिने, टहलुवा, नगर्ची आदि कामदारलाई पारिश्रमिक दिने व्यवस्था मिलाएका थिए । यसरी शैक्षिक चेतना अभिवृद्धि गर्दै आएका भए पनि २०५१ सालमा माननीय नरेन्द्र बस्नेतको नेतृत्वमा गुठीको नयाँ विधान जिल्ला प्रशासन कार्यालय भोजपुरबाट स्वीकृत गराएर पाठशाला र गुठीलाई स्वामित्व बाँडफाँड गरिएको थियो । पाठशालाका नाममा ६९ रोपनी र अन्य सबै जग्गा गुठीको नाममा छ । विधानसम्मत् गठन भएको नयाँ समितिले काम थाल्न नपाउँदै ०५२ सालमा सुरु भएको माओवादी द्वन्द्वले गुठी अस्तव्यस्त बन्दै गयो ।

स्थापना समयदेखि २०१५ सालसम्म पाठशालाका रुपमा स्थापित थियो । २०१६ सालमा षडानन्द संस्कृत प्रधान पाठशाला, वि.सं २०२१/०२२ सालमा षडानन्द संस्कृत महाविद्यालय प्रस्तावित भएको थियो । ०३० सालमा नयाँ शिक्षा योजना लागू भएपछि षडानन्द संस्कृत माध्यमिक विद्यालयका सञ्चालन भइरहेको थियो । दशक लामो द्वन्द्वको कारण गुरुकुल शिक्षा लिने विद्यार्थी घट्दै गए । २०५८ सालदेखि अन्य विद्यालयमा पढाई हुँदै आएका आधुनिक विषयको पठनपाठन सुरु भयो । अहिले बालकक्षादेखि कक्षा १२ सम्म ४ सय ८८ विद्यार्थी अध्ययनरत छन् । वि.सं. २०२२ सालतिर स्थापना भएका विद्यालयका पुराना भवन भूकम्पका कारण जीर्ण बनेका छन् । देशकै पुरानो विद्यालय भए पनि संरक्षण राज्यपक्ष, स्थानीय तवर तथा भूतपूर्व विद्यार्थीबाट कुनै पहल नहुँदा अवस्था दयनीय बन्दै गएको प्रधानाध्यापक गोपाल तिमल्सिनाले बताए । ‘शैक्षिक, आर्थिक क्रान्ति गरेको ऐतिहासिक तपोभूमि हो, यहाँका उत्पादन देशकै विशिष्ट पदमा छन्, संरक्षण, प्रवर्द्धनमा चासो छैन,’ उनले भने । षडानन्दका नाममा राजधानी, इटहरी, झापालगायत देशका विभिन्न स्थानमा गुठी र प्रतिष्ठान स्थापना भएका छन् । ‘न त ऐतिहासिक, धार्मीक स्थलको संरक्षणमा चासो छ, न त विद्यालयकै संरक्षणमा चासो छ,’ स्थानीय तोयानाथ गौतमले बताए । विद्यालयका ६ वटा भवन छन् । भूकम्पले गर्दा सबै जीर्ण छन् । जीर्ण भवनमै पठनपाठन तथा प्रशासनिक क्रियाकलाप हुँदै आएका छन् । जिल्लाले सरकारमा पटक पटक मन्त्री र सांसद पद पाउँदै आए पनि विद्यालयको संरक्षणमा कसैको चासो पुगेको छैन । गुठीले विद्यालयसँगको सहकार्य पनि छैन । नयाँ विधानअनुसार गुठीमा सदस्य सचिव विद्यालय प्रअ हुने उल्लेख भए पनि सदस्यता लिन समेत २ हजार रुपैयाँ तिर्नुपर्ने भएपछि विद्यालय र गुठीबीच समन्वय कमै रहेको तिमल्सिनाले बताए ।


एकसमय गुरुकुल शिक्षा मात्रै प्रदान हुँदै आएको विद्यालयमा अहिले संस्कृत विषय ऐच्छिक भइसकेको छ । कक्षा ६ मा १ सय पूर्णाकंको व्याकरण र १ सय पूर्णाकंको व्याकरण गरी २ सय पूर्णाकंको संस्कृत पढाई हुन्छ । व्याकरण सबै विद्यार्थीका लागि अनिवार्य र साहित्य ऐच्छिक राखिएको प्रअले बताए । विद्यालयले आधुनिकताअनुसार शैक्षिकस्तर उकास्न सकेको छैन । २०७० सालमा शिक्षा मन्त्रालयको अनुदानमा ७ वटा कम्प्युटर खरिद गरिएका थिए । छुट्टै शिक्षक नभएपछि थन्काएर राखिएका थिए । गतवर्षदेखि शिक्षक जुटाएको भएपनि थन्काएर राखिएका कम्प्युटर कामै नलाग्ने भएका छन् । ००७ साल अघि स्थापना भएका विद्यालयलाई १९ लाख अनुदान दिने सरकारको निर्णयअनुसार पाएको बजेटबाट निर्माण गरेको एउटा पक्की भवन र शिक्षातर्फ साढे ६ लाख बजेट निर्माण गरिएको विज्ञान प्रयोगशाला भवनबाहेक अन्य सबै भवन जीर्ण छन् । भवन र लगानी अभावका कारण साढे ६ लाखको बजेटमा स्थापना भएको पुस्तकालयसमेत व्यवस्थित गर्न समस्या रहेको विद्यालय स्रोतले बताएको छ ।

आधुनिक शिक्षा अनुसार पठनपाठनमा भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको समस्या भइरहेका बेला गुरुकुल शिक्षाको पुन: जागरण गर्न चुनौतीपूर्ण बन्दै गएको छ । पटक पटकका निर्वाचनले जिल्लाको राजनीतिक नेतृत्वले छलांग मार्दै आए पनि ऐतिहासिक, धार्मिक र शैक्षिक गन्तव्यको संरक्षणमा नेता तथा नेतृत्व पंक्तिको चासो पुगेको छैन । ‘संस्कृत ब्राह्मण समुदायको प्यावाका रुपमा लिने बुझाईले गर्दा पुन: जागरण गर्न सक्ने सम्भावना कमै छ,’ निर्वाचनको प्रसंगमा जोड्दै प्रअ तिमल्सिना भन्छन्, ‘स्थानीय तहबाट आएका जनप्रतिनिधिले काम गरेका छैनन्, गरेनन् भनेर निराश बनिहाल्नुपर्ने त होइन, अबको चुनावबाट आउने प्रतिनिधिले विकासमा कति फड्को मार्छन् उनीहरुमा भर पर्ने हुन्, आशा गरौं देशले बिकास र निकास पाउला, चुनावपछि ‘ट्रयाक’ फेरिएला ।’

प्रतिनिधि र प्रदेशसभाबाट आउने जनप्रतिनिधिले विकासका नारालाई भाषणमै सीमित नराखेर व्यवहारमा उतार्ने र विद्यालयको व्यवस्थापनमा पनि टेवा पुग्ने उनको अपेक्षा छ ।





प्रकाशित : पुस ९, २०७४ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?