१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मनोकांक्षा पुरा गराउन माधवनारायणको कठोर व्रत

काठमाडौँ — मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । 

मनोकांक्षा पुरा गराउन माधवनारायणको कठोर व्रत
स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको समितिका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए ।


वर्तालुले सोमबार माधवनारायणका मूल पुजारी सुदन राजोपाध्यायसँग बेलुकी जल लिएपछि जुत्ता चप्पल छुन नहुने र नून खान नहुने व्रतविधि छ ।


वर्तालुले एक महिनासम्म नून, माछा, मासु, मरमसला, पशुपक्षी तथा जनावर, जुत्ता, मोजा, मगन्ते, रजस्वला भएकी, जुत्ता, चप्पल लगाएका मान्छेलाई छुन नहुने सनातनदेखिको नियम छ । वर्तालुले दूध र पानीबाहेक अन्य पेय पदार्थ सेवन गर्नुहुँदैन ।


दूध, चामलको भात, घ्यू, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो मात्र भोजन गर्न हुने नियम रहेको माधवनारायण व्रतका विषयमा खोज गरिरहनुभएका इतिहासविद् प्रकाश श्रेष्ठ सक्वले बताए।


वर्तालुले सवारी चढ्न हुँदैन । बिरामी हुँदा पनि औषधि सेवन गर्न पाइँदैन । आफन्तको जुठो, सुतक बार्नुपर्दैन । साबुन तथा अन्य वस्तु छुन तथा प्रयोग गरी स्नान गर्नुहुँदैन । गोल तथा दन्तमञ्जन प्रयोग गर्नुहुँदैन ।


वर्तालुले उपरखुट्टी लगाएर मेच र खाटमा बस्न पनि हुँदैन । नांगो गोडाले एक महिना हिँडेरै व्रत समापन गर्नुपर्छ ।


वर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा शुरु गर्छन् । पहिलो दिन शालीनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत् गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यात्रा सकिन्छ ।

प्रकाशित : पुस १८, २०७४ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?