यसरी बन्छ रुम्जाटारको राडीपाखी

कुम्भराज राई

ओखलढुंगा — रुम्जाटारको राडीपाखी सयौं वर्षदेखि प्रसिद्ध छ । यहाँको गुरुङ समुदायको परम्परागत पेशा नै भेडापालन र राडीपाखी उत्पादन हो । अझै पनि यो पेशा लोप भईसकेको छैन । राडीपाखी कसरी बन्छ भन्ने बारेमा धेरैलाई ज्ञान नहुन सक्छ ।

यसरी बन्छ रुम्जाटारको राडीपाखी

भेडीगोठबाटै गोठालेले भेडाको ऊन काटेर ल्याउँछन् । ऊनलाई शुरुमा चिसो पानीमा मज्जाले पखाल्नुपर्छ । पखालेर सुकाएको ऊन कोरेर सफा गर्नुपर्छ । कोरिसकेको ऊन चर्खामा लगाएर धागो बनाउनुपर्छ । धागोको डल्लो बनिसकेपछि तान लगाएर राडी बुन्न शुरु गरिन्छ । बुनिसकेपछि त्यसको छेऊ (बिट) मार्नलाई ऊनकै धागोले सिउनुपर्छ। सिईसकेपछि तयार भएको राडीलाई उमालेको तातो पानीले मिचिमिचि माड्नुपर्छ वा मेसिनले माड्न पनि सकिन्छ ।


माडिसकेपछिको राडीलाई तन्काएर पानी सोसिनेगरि निचोरिन्छ । निचोरेर सुकाईसकेपछि राडी तयार हुन्छ । राडी बनाउने तरिका ठाउँ अनुसार फरक हुनसक्छ । तर रुम्जाटारको गुरुङहरुको परम्परागत चलन भने यही नै हो ।


राडी विछ्यौनाका लागि प्रयोग गरिन्छ । स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिने राडीपाखी जन्मदेखि मृत्यु संस्कारसम्म चोखो र अनिवार्य मानिन्छ । यहाँको राडीपाखी देशभित्रदेखि युरोपसम्म निर्यात हुने गरेको छ । राडीको आकार अनुसार प्रतिगोटा ३ हजारदेखि १०–१२ हजारसम्म मूल्य पर्ने गर्छ ।

प्रकाशित : पुस १९, २०७४ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?