लमजुङमा जाडो बढ्यो

आश गुरुङ

लमजुङ — तराईमा शीतलहर, हिमालमा हिमपात जारी छ । उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात र तल्लो क्षेत्रको शीतले पहाडको जनजीवन कष्टकर छ । 

लमजुङमा जाडो बढ्यो

केही दिनअघिको हिमपातपछि जनजीवन सामान्य बन्दै गएको लमजुङमा फेरि जाडो बढेको छ । माथिल्लो तहमा बादलले घाम छेकिदिएको छ । चिसो सिरेठो चलेको छ । अघिपछिभन्दा बजार क्षेत्रमा यात्रु तथा बटुवा कम हिँडेका छन् । सवारी साधन पनि कम चलेका छन् । चिसोले गाउँ तथा सरहबजारको जनजीवन प्रभावित बनाएको छ । सहरमा सिमेन्टले बनेका घर भएकाले भित्रै चिसो छ । स्थानीय बाहिर निस्केर आगो तापी दिन बिताउन बाध्य छन् । ग्रामीण भेगमा पनि स्थानीय घरभित्रै आगो तापेर बसेका छन् ।


नेपालकै मध्यभाग मानिएको मध्यनेपाल नगरपालिकास्थित रम्घाको ३ सय ८५ मिटरदेखि मनास्लु हिमालको ८ हजार १ सय ६२ मिटरसम्म लमजुङ फैलिएको छ । गाउँदेखि सहर तथा फाँटका बस्तीमा चिसो बढेको स्थानीय बताउँछन् । एक्कासी बढेको जाडो थेग्न नसकेर सडकमै आगो बालेर ताप्नु परेको बेंसीसहर नगरपालिका ७ की लीला परियारले बताइन् ।


समुद्री सतहदेखि करिब २ हजार २ सय मिटर उचाइको घनपोखरामा चिसोले स्थानीय जनजीवन प्रभावित भएको स्थानीय रुद्रशंकर गुरुङले बताए । घनपोखरा जिल्लाकै सबैभन्दा उचाइमा रहेको मानवबस्ती हो । सिरेटो चलेकाले पनि जनजीवन प्रभवित भएको उनले बताए । दोर्दी गाउँपालिका ५, पाचोक छैलुङकी फुन्दा गुरुङले थेग्नै नसक्ने गरी जाडो भइरहेको बताइन् । जाडोले सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, शिक्षक तथा विद्यार्थी, लामो तथा छोटो गन्तब्यका यात्रु, मेलापात जानुपर्ने किसान मर्कामा परेका छन् । घाँसदाउरा गर्ने गोठाला समेत जाडोले प्रभावित बनाउँदा उनीहरुको जनजीवन कष्टकर बनेको छ ।


बेंसीसहरका फेन्सी व्यवसायी अफजल मियाले गत वर्षतिर भन्दा यस वर्ष जाडो वा चिसो बढी भएको महसुस गरेका छन् । ‘साँझबिहान हात बाहिर निकाल्नै नसक्ने गरी चिसो छ । दिउँसो पनि घामको मुखमात्रै देखिने हो । घामतिरै फर्केपनि चिसो हुन्छ’ उनले भने । बेंसीसहर नगरपालिका-८ की वडाअध्यक्ष पवित्रा रानाले साँझबिहान पानी छुनै नसक्ने गरी चिसो भएको बताइन् । ‘खाना पकाउन, भाँडा धुन पनि मुस्किल भो’ उनले भनिन् । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाइँले चिसोका कारण बालबालिका र वृद्धवृद्धा जोखिममा रहे पनि मानवीय क्षति भने नभएको बताए ।


प्रकाशित : माघ १८, २०७४ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?