२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ललितपुरको फरक संग्रहालय

प्रशान्त माली

काठमाडौँ — ‘हाम्रो अनुसन्धानमा पुर्खाले ५४ थरीका बाजा बजाउने गर्थे । अहिले १०/१२ वटामा सीमित छन् ।

ललितपुरको फरक संग्रहालय

बाँकी सबै लोप भइसके,’ ज्यापू संग्रहालय व्यवस्थापन समितिका संयोजक सन्तमान महर्जनले भने, ‘हामीले सकेसम्म लोप भइसकेका बाजा संग्रहालयमा संकलन गरेर भावी पुस्तालाई देखाउन खोजेका छौं ।’ संग्रहालयमा प्रदर्शनीमा राखिएका याकु बो: बाजा र तिनाना: बाजा लोप भइसकेका छन् । यी बाजा काखमा एउटा तार च्यापेर हातले बजाउने परापूर्वकालको गितार जस्तै हो ।

यहा रहेको अर्को सामग्री हो करिब एक मिटर लामो निंगार । यो मल्लकालमा जग्गा नाप्ने स्केल हो । विभिन्न देवताका चित्र कोरेर बनाइएको हुनाले सर्वसाधारणले देवताले जग्गा नापेसरी यसले नाप्ने विश्वास गर्थे,’ संयोजक महर्जनले भने ।
दुरुस्तै मन्दिरमा राखिने फलामको घण्टा, गणेशका मूर्तिसहितको सुकन्दा, खा: दल: (झ्यालमा झुन्ड्याएर दियो बत्ती बाल्ने), सुराही (रक्सी राख्ने भाँडो) पनि यहाँ छ । यी सबै माटोबाट बनाइएका सामग्री हुन् । चाया सन: (माटोको लुगा राख्ने दराज), बालकदेखि वृद्धसम्मको अवधिमा लगाइने परम्परागत लत्ताकपडा, छाला र परालका जुत्ता पनि केही पहिले ललितपुरमा आयोजित ज्यापू संग्रहालय महोत्सवमा राखिएका थिए ।


पाटन भोलढोकास्थित संग्रहालयको प्रवेशद्वारमा वास्तविक ज्यापू र ज्यापुनीको वेशभूषासहित नमस्ते गरेर स्वागत गरिरहेको सालिक सजाइएको थियो । प्रदर्शनीमा उपत्यकामा पाइने १४ प्रकारका माटो समेत राखिको थियो । तिनमा क:चा: (खेतबारीमा मलको रूपमा प्रयोग गरिने माटो), स्यु:चा: (दैलो लिप्ने), सलाचा: (पठनपाठन हुँदा लेख्न प्रयोग गरिने), गिचा (इँटा बनाउन प्रयोग गरिने माटो) लगायत छन् । मानव जीवन माटोबाट सुरु भएर माटोमै विलय हुने भएकाले प्रदर्शनीमा माटोसमेत राखिएको हो । समितिका संयोजक महर्जनका अनुसार ज्यापू जाति किसान वर्गअन्तर्गत पर्दछ । ‘खेतीपाती उब्जनी गर्न माटोबिना सम्भव छैन,’ उनले भने, ‘त्यसैले पनि पुर्खासित हाम्रो विशेष सम्बन्ध छ ।
क:चा: निकाल्न खोलामा इनार खनेजस्तै गरेर खन्नुपर्छ । ‘इनारभित्र पानीले पुरेर कैयौंको मृत्यु हुन्थ्यो,’ उनले भने, ‘क:चा: निकाल्ने क्रममा पानीसम्म पुग्यो/पुगेन भनेर चेक गर्ने कोसु एक प्रकारको साधन पनि संग्रहालयमा प्रदर्शनीमा राखेका छौं ।’
संग्रहालयमा माटोबाट बनेका विभिन्न प्रकारका परम्परागत भाँडाकुँडा, पूजासामग्री राख्ने भाँडासमेत छन् । बेत, तामा, पित्तल र काठबाट बनाइएका दराज, जाँड–रक्सी बनाउने र राख्ने माटाका भाँडा, छाता, शंख, थरीथरीका डमरु, च्याङ्ग्रा र राँगाको सिङजडित आकर्षक खि: बाजा, आधुनिक कृषि प्रणालीको विकास नहुँदाको अवस्थामा खेतीपाती गर्दा प्रयोग गरिने औजार प्रदर्शनीमा राखिएका छन् ।
जन्मदेखि मृत्युपछिसम्मका दस कर्मकाण्डका विधि, त्यतिबेला प्रयोग गरिने वेशभूषा, खानेकुरा, पूजासामग्री आदि तिथिमिति र फोटोसहित प्रदर्शनीमा राखिएका छन् । ज्यापू संग्रहालय व्यवस्थापन समिति सहसंयोजक चिरिबाबु महर्जनका अनुसार शरीरमा जनैखटिरा आएकोमा अहिलेसम्म पनि मेडिकल साइन्सले निको पार्ने औषधि बनाउन सकेको छैन । ‘खटिराको दायाँबायाँ सिंहको चित्र लेखेमा ३ दिनभित्र निको हुने कथन छ,’ उनले भने, ‘त्यसैले त्यतिबेलाका एक महिलालाई पेटमा खटिरा आउँदा सिंहको चित्र लेखिएको ऐतिहासिक तस्बिर प्रदर्शनीमा राखिएको छ ।’


नेवार समुदायका बाह्रै महिना चाडपर्व छन् । गठेमंगलबाट सुरु भई नागपञ्चमी, इन्द्रजात्रा, दसैं, तिहार, योमरीपुन्ही, माघे संक्रान्ति, होली, सिठी नख:लगायत चाडपर्वमा प्रयोग हुने पूजासामग्री, त्यतिबेला लगाइने लुगा, बजाइने बाजा सबै प्रदर्शनीमा छन् । संग्रहालयमा वाग्मती नदी कसरी बनिरहेको छ, त्यति बेला नदी तार्न प्रयोग गरिने पुलसमेत प्रदर्शनीमा राखिएको छ । ‘शिवपुरी बाघद्वार ढुंगेधाराबाट आइरहेको पानीबाट वाग्मती नदी बन्ने किम्वदन्तीअनुसार बाघको मुखबाट पानी निकालिराखेको हो,’ सहसंयोजक महर्जनले भने, ‘त्यतिबेला वाग्मती तर्न बनाइएको पुललाई बात्चा तापु: भनिन्छ । जुन पुल बनाउनेको अहिलेसम्म पनि गुठी छ ।’
म्ह:पूजा चाडमा प्रयोग हुने सगुनमा बारा, माछा, रक्सी, छोयला राख्नुको महत्त्व बुझाउन सालिक चित्रसहित वर्णन छ । ‘पाँचमा प्रयोग हुने पाँच वटा खानेकुराले जल, वायु, अग्नि, आकाश र पृथ्वीलाई जनाउँछ,’ उनले भने, ‘जुन हाम्रो शरीरमा हुन्छ र त्यसलाई सन्तुलनमा राख्नुपर्छ । नत्र शरीर बिग्रिन्छ भन्ने सन्देश दिन खोजिएको हो ।’
त्यस्तै नेवारी परम्परागत गरगहना, मेचीदेखि महाकाली, हिमाल, पहाड र तराईसम्मका आदिवासी जनजातिले लगाउने वेशभूषा, पहिलो जंकु (भीमरथारोहण), दोस्रो चन्द्ररथारोहण, तेस्रो सूर्यरथारोहण र चौथोमा घ्याम्पोमा राखेर गरिने देवरथारोहणको सम्पूर्ण विवरण पनि संग्रहालयमा प्रस्तुत गरिएको छ ।

प्रकाशित : माघ १८, २०७४ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?