कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हिसिला यमी भन्छिन्, 'बलात्कारको घटनामा पनि विचौलिया छिरे' [भिडियो]

शिल्पा कर्ण

काठमाडौँ — नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले 'सामूहिक बलात्कार' को घटना ढाकछोप गरेर टुंग्याउन खोजेको भन्दै आपत्ति जनाएकी छन् । उनले यस्तो अवस्था रहे कुनै पनि चेलीबेटी सुरक्षित नरहने भन्दै चिन्ता व्यक्त गरिन् । 

हिसिला यमी भन्छिन्, 'बलात्कारको घटनामा पनि विचौलिया छिरे' [भिडियो]

महिला सुरक्षा दबाब समूहले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनका क्रममा सञ्चारकर्मीसित बोल्दै यमीले केही दिनअघि दरबारमार्गमा भएको जस्ता घटनालाई सामान्य रुपमा लिएर दोषीलाई उन्मुक्ति दिन नहुने बताइन् । बलात्कार जस्तो जघन्य अपराधमा समेत दुवैपक्ष मिलाएर पैसा खाने बिचौलिया सक्रिय रहेको उनको भनाइ थियो । उनले भनिन्, 'गाडी दुर्घटनामा जस्तो बलात्कारका घटनामा पनि पीडकसँग पैसा माग्ने, प्रहरी, प्रशासन र पीडितलाई केही दिए जस्तो गरेर बुजो हाल्नमा दलाल (विचौलिया) सक्रिय छन् । यसलाई रोक्नु पर्छ ।'

‘सरोकारवालाहरुले मुखमा बुजो लाए स्थिति झन् भयावह हुन्छ । बलात्कारका घटना सम्झौतामा टुंगिने ट्रेन्डले हाम्रो देश कतातिर लाँदैछ,’ उनले प्रश्न गरिन् । दण्डहीनता र प्रहरीको समेत लापरवाहीले आपराधिक प्रवृत्तिले बढावा पाउने र उनीहरुको मनोबल बढ्ने बताएकी छिन् ।


यसैबीच, महिला सुरक्षा दबाब समूहले बलात्कारका घटनालाई फितलो रुपमा लिइ पीडकलाई सामान्य तारेखमा छाडिदिने जस्ता घटनाले पछिल्लो समय महिलालाई असुरक्षित महसुस भइरहेको भन्दै यस्ता घटना रोकिनुपर्ने माग गरेको छ । सहरी क्षेत्रमा समेत यस्ता घटना हुनु र प्रहरी प्रशासनको लापरबाही तथा असंवेदनशीलता निन्दनीय रहेको भन्दै समूहले साढे ११ देखि १ घण्टा प्लेकार्ड लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

अधिकारकर्मी सुनिता दनुवारले दरबारमार्ग घटनामा पीडितालाई धाकधम्कि दिएर बयान फेर्न बाध्य बनाइएको जस्तो देखिएको बताइन् । ‘प्रमाण समेत भेटिइसकेको अवस्थामा उनले बयान फेर्नु प्राकृतिक देखिन्न,’ दनुवारले भनिन्, ‘उनले सहमतिमा सम्पर्क राखेकी हुन् भने त्यो एक जनासँग हुनुपर्ने हो, ४ जनासँग होइन ।’

पीडिताले बयान फेर्नुलाई ‘शंकास्पद’ को संज्ञा दिँदै उनले प्रहरीसामु पुगेको घटनामा आफ्नो कार्यक्षेत्र पर्दैन भनि पञ्छिनु प्रहरीको निन्दनीय कदम भएको बताइन् । पीडकले सजाय पाउनैपर्ने मागसहित प्रदर्शनमा सामेल भएको उनको भनाइ थियो ।

ललितपुरको बाडेगाउँ, काठमाडौंको दरबारमार्ग, खोटाङमा ८ वर्षीया बालिका र देशैभरि बलात्कारका घटना बढै गएकोमा समुहले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : माघ १९, २०७४ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?