नजिकिएको पूर्व

सुरक्षित र चाँडो पुग्ने हुँदा बीपी राजमार्ग यात्रुको रोजाईमा 
विद्या राई

काठमाडौँ — लालबन्दीका ६५ बर्षीय उद्धव प्रसाई दशक अघिसम्म मुग्लिनकै बाटो हुँदै राजधानी आइपुग्थे । प्रायजसो नाइट बस चढेर थानकोट हुँदै विहान मात्रै राजधानी आइपुग्थे । अचेल उनको राजधानी आउने क्रम पनि बाक्लिएको छ ।

नजिकिएको पूर्व

सर्लाही घर भइ हाल सिन्धुली बस्दै आएका ७४ बर्षीय विष्णुबहादुर घिमिरे ०१८ सालमा पहिलोपटक काठमाडौं आएका थिए । उस बेला उनी काभ्रे बस्थे । यातायातको सुविधा नभएका कारण हिडेर आउनु पर्थ्यो । आइपुग्न र फर्कन छ दिन लाग्थ्यो ।


०३५ सालमा चीन सरकारको सहयोगमा मुग्लिन–नारायणघाट (३६ किमि) ले राजधानीसम्म ट्रयाक खोलिएपछि बस चढेर आउन थाले । ०६८ सालयता मुग्लिनतिरको बाटो हिडेका छैनन् । अचेल उनी बनेपा–बर्दिवास (बीपी राजमार्ग, १५८ किमि) हुँदै राजधानी आइपुग्छन् ।



अहिले पुरानो रात्री बसको दिक्क लाग्दो यात्रा छाडेर उनी चिल्ला, सुकिला र छरिता माइक्रोबसको यात्रा गर्छन् । उनलाई मुग्लिनको भन्दा बीपी ‘हाइवे’ को रुट एक सय किलोमिटर जति दुरी छोटो पर्छ ।


'सजिलो छ, जाम कमै हुन्छ, कतिबेला पहिरो जाला, पुर्ला भन्ने डर छैन,’ यात्रा सुरक्षित हुने भएकाले बीपी राजमार्ग रोजाईमा परेको उनले सुनाए । उनका अनुभवमा मुग्लिन हुँदै राजधानी ओहोरदोहोर गर्ने यात्रुहरु घट्दैछन् । बीपी राजमार्गतर्फ बढ्दैछन् ।

नाइट बस चढेर त्रिशुलीको तीरैतीर राजधानी छिर्दा घण्टौ जाममा परेको सकस उदयपुरका तुलबहादुर मगरसंग पनि ताजै छन् । बीपी राजमार्ग हुँदै घर फर्कन लागेका उनले कोटेश्वरस्थित माइक्रोबसको टिकट देखाउदै भने, ‘बसको भन्दा माइक्रोबसको यात्रा आरामदायी छ, छरितो छ, मुग्लिन हुँदै घर पुग्न दुई दिन लाग्थ्यो, यताबाट एक दिनमा पुग्छु ।’


देशभरबाट राजधानी छिर्ने एउटै नाकाका रुपमा रहेको मुग्लिन हुँदै आउने बाटो यात्रुहरुका लागि सास्तीपूर्ण छ । अझ २०७४ सालमा गएको महाभुकम्पपछि मुग्लिङ–नारायणगढ खण्ड भत्किएपछि अहिले बनाउँदैछ । त्यही सडक निर्माणले झनै सास्त्री यात्रुले व्यहोरेका छन् ।


त्यसो त पूर्वी नेपालका मान्छेहरु मुग्लिन हुँदै आउने बाटो नबनेसम्म पैदलै हिडेर राजधानी आउथे । जानकारहरुका भनाइमा हेटौडा हुँदै काठमाडौ आइपुग्न तीनदेखी १५ दिन लाग्थ्यो ।


जापान सरकारको सहयोगमा २०५२ देखि निर्माण सुरु भएको बीपी राजमार्ग २०७२ मा सम्पन्न भएको हो । यो राजमार्गमा गाडी चल्न थालेदेखि नै पूर्वी नेपाल राजधानीसंग नजिकिएको छ । झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुगां, तेह्रथुम, पाँचथर, झापा, इलाम, उदयपुर, संखुवासभालगायत दुई दर्जनबढि जिल्लाका स्थानीयहरुलाई आउजाउमा सहजता भएको छ ।


सुदुर पूर्वमा पर्ने जिल्लाका यात्रुहरु धरान, इटहरी, विराटनगर देखि महेन्द्र राजमार्ग हुँदै राजधानी आइपुग्छन् । कतिपय जिल्लाहरुबाट एकदिनमा राजधानी ओहोरदोहोर गर्न सकिने भएको छ । सिन्धुली, रामेछाप, बर्दिवासका स्थानीयहरु विहान राजधानी आइ काम सकेर बेलुकी घर फर्कन्छन् । सुरक्षित यात्रा, जामको समस्या कम तथा गन्तव्यमा चाडै पुगिने कारण पूर्वी भेगका यात्रुका लागि यस राजमार्ग हुँदै राजधानी आउने जाने गरेको राजविराजकी धनकुमारी राईले बताइन् ।


सप्तकोशी यातायातका इन्चार्ज सन्तोष श्रेष्ठका अनुसार यस राजमार्गमा छोटो र लामो दुरीका टोयटा हाइस, टाटा सुमो, फोर्स, स्कारपियो, मिनिबसलगायत दैनिक छ सय बढि सवारी साधन आवतजावत गर्छन् । ‘४ देखि ५ हजार यात्रुहरु ओहोरदोहोर गर्न पाउछन्’ पूर्व जाने सावरी साधन कोटेश्वर, जडिबुटि हुँदै जाने तथा आउने गर्छन् । दिवासेवाका बेलुकी र रात्री सेवाका विहान गन्तव्यमा पुग्छन् । यातायात व्यवसायीहरुका अनुसार सप्तकोशी, लोकप्रिय, सफल, शाकिरा, चोमोलुंमा, हिमाल तराई, बर्दिबासलगायत दुईदर्जन बढि कम्पनीका सवारी साधनहरु यस खण्डमा चल्दै आएका छन् ।


प्रकाशित : माघ २८, २०७४ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?