कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘बाघको बच्चा देखें’ 

जोन तामाङ, ७ दिनपछि फेला परेका बालक
मकर श्रेष्ठ

काठमाडौँ — फुल्चोकीमा हिउँ खेलेर साथीहरूसँगै म पनि तल झर्दै थिएँ । प्रिन्सिपल सर ‘फलो मी’ भनेर अगाडि बढ्नुभयो । छोटो बाटो भएर तल झर्ने क्रममा म बीचमा एक्लो भएँ ।

‘बाघको बच्चा देखें’ 

जंगलको साँघुरो बाटो थियो । म हराएँ । हिउँ भरिएका रूखका पातमा चिप्लेर लडें । साथी निसाको झोला मैले बोकेको थिएँ । झोला फुस्क्यो । लड्दा कहिले टाउको तल हुन्थ्यो कहिले खुट्टा । रूखको चेपमा गएर देब्रे खुट्टा अड्कियो । त्यहाँबाट निस्कनै सकिनँ । बचाउ–बचाउ भनेर कराएँ । कसैले सुनेन ।

जंगल डरलाग्दो थियो । ममीलाई सम्झिएँ, बोलाएँ । राति भूत आउला भनेर डर लाग्यो । भगवान्लाई पुकारें । प्रार्थना गरें । दोस्रो दिन चिसोले खुट्टा सुन्नियो । हात्तीको जस्तो मोटो भयो । उचाल्न पनि सकिनँ । ममीलाई सम्झिएँ । रोएँ, कराएँ । कसैको पनि आवाज सुनिएन । जीउभरि कीरा आयो । डरलाग्दा माकुरा आउँथे । आफैंले पन्छाएँ । चिसो निकै थियो । दिउँसो पनि रातिजस्तै हुन्थ्यो । दिउँसोभन्दा पनि राति बढी डर लाग्थ्यो ।

दिउँसो जंगलमा बाख्राजस्तो देखिन्थ्यो । खानेकुरा केही थिएन । पानी पनि खान पाइनँ । धेरै भोक लाग्यो । तीन पटक बाघ कराएको सुनें । बाघको बच्चा मेरै छेउमा आयो । डर लागेर ज्याकेटले मुख छोपेर बसें । चराचुरुंगी कराउँदा पनि डर लाग्थ्यो । सात दिनमा चाहिँ दाइहरूले भेटाउनुभयो । पानी र बिस्कुट खुवाउनुभयो । सबैले मेरो फोटो खिच्नुभयो । एम्बुलेन्समा राखेर अस्पतालमा ल्याए । १५ दिन अस्पताल बसें । खुट्टा निको भएपछि स्कुल जान्छु । विद्यालयका साथीहरूको धेरै याद आइरहेको छ । मैले धेरै पढ्नुपर्छ । वैज्ञानिक बन्ने लक्ष्य छ । त्यसका लागि मलाई सबैले सहयोग गरिदिनुहुन अनुरोध छ ।


प्रकाशित : फाल्गुन ४, २०७४ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?