सपना देख्न छाड्दैनन् आनन्दकुमार 

सिन्काले कोरेर सिकेको चित्रकला जीविका धान्ने आधार 
विद्या राई

काठमाडौँ — उनको खुट्टा थिएन, त्यसैले टाढा जाने डर उनीहरुलाई थिएन, सडकपेटीमा छाडिदिन्थे । हात थिएनन् खेल्ने सामान दिने कुरा भएन । तर, पनि उनी छोटा ठुटा जस्ता आफ्नो दुई हातले सिन्को समाएर भुई कोतार्थे । शायद यही उनको चित्रकलाप्रतिको प्यासन थियो ।

सपना देख्न छाड्दैनन् आनन्दकुमार 

दुवै हात र एउटा खुट्टा नभएको मान्छेको जीवन कस्तो होला ?


हाम्रो दिमागमा एउटै कुरा आउँछ, आर्थिक रुपमा सवल परिवारको होइन भने सडकको कुनामा बसेर माग्नुको विकल्प छैन ।


हो, यस्तै छ, २१ बर्षीय युवा आनन्दकुमार पासवानको पनि अवस्था । उनका दुवै हात छैनन्, दायाँ खुट्टा पनि छैन । उनी राजधानीको सडक पेटीमै बसेर माग्छन्, तर उनीसंग अरुसंग हात फैलाएर माग्न हात नै छैन । उनी आफ्नो कला देखाउँछन्, जति दियो त्यतिमा चित्त बुजाउँछन् ।


उनले आफ्नो जीवनलाई कला, जोस, जाँगर र मेहनतको संगम बनाएका छन् । पासवानको जन्मदै दुवै हात र एउटा खुट्टा थिएनन् । तर, पनि उनले कोरेको चित्रहरु हेर्ने हो भने उनको हात छैन भनेर कस्ले पत्याउने ? तर, ति तस्बिर बनाउँदाको सास्ती उनी आफै मात्र अनुभूत गर्न सक्छन्, देख्नेहरुले बुझ्न गाह्रो छ ।


कहिले रत्नपार्क, कहिले बसन्तपुर त कहिले पशुपतिका सडक पेटिमा भेटिने पासवान एकोहोरो चित्र कोरिरहेका हुन्छन् । उनको चित्र किन्न पाइन्छ । तर, धेरैले चित्र कोरेको हेर्छन् र पाँच/दश रुपैयाँ दिएर जान्छन् । कतिले चित्र किन्छन् पनि । चित्र कोर्नु उनको रहर हो, त्यो भन्दा पनि अव बाध्यता बनेको छ । चित्र कोरेर आएको कमाइले आफु र आमाको जीविका धानेका छन् ।


जीवन एक पाठशाला


अनन्द पासवानको जीवन संघर्षको एउटा पाठशाला नै हो । उनी बैशाखी विना पाइला चल्न सक्दैनन् । बैशाखीकै साहरामा दुई दशक जीवन विताइसकेका छन् । भारतको समस्तीपुरमा जन्मिएका उनी डेढ बर्षकै उमेरमा बाबुआमाले काठमाडौं लिएर आएका थिए । सुरुका बर्षहरुमा बुवाआमाले फुटपाथमा कपडा बेच्थे । उनको दिन सडक पेटीमा खेलेरै बित्थ्यो । तर, कलेजोको संक्रमणले बाबुको मृत्युपछि भने आमाकोसमेत जिम्मेवारी उनकै काँधमा आइपर्‍यो ।

अहिले आमा छोरा एक अर्काका भर बनेका छन् । ५५ बर्षकी आमासंगै पासवान खिचापोखरीमा डेरा गरेर बस्छन् । आमाले छोराको हेरचाह गर्छिन् । खाना पकाइदिने, लुगाफाटा धोइदिने, डेरादेखि सडक पेटीसम्म पुर्‍याउने र लिन आउने काम आमाले गर्छिन् । छोराले सडक पेटीमा बसेर दिनभर चित्र कोरेर कमाएको रकमले यि दुईको जीविका चलेको छ ।

‘काठमाडौं महंगो सहर हो, जीविका चलाउन निक्कै मुस्किल छ’ पासवान भन्छन् । एउटा कोठाको मासिक ७ हजार रुपैया भाडा तिर्नुपर्छ । त्यसपछि खाना खर्च र एक सरो कपडा फेर्न पनि कम धौधौ छैन उनीहरुको जीवनमा । ‘कमाइको टुगों हुँदैन, एकदिनमा सातसय देखि एकहजार रुपैयाँ कमाउछु, यसैले घरखर्च पुर्‍याउनपर्छ,’ उनले सुनाए । बर्षातका बेला त्यही पनि जुट्दैन ।

पुरै जीवन सडक पेटीमै गुजारेका पासवान कम फरासिला र मिजासिला छैनन् । प्राय मुस्काइ रहने उनको व्यवहार, बोलीचाली, शान्त स्वभावको छ । उनको त्यही मुस्कानसहित मुहारले जीवनमा आशाका किरणहरु फैलिरहेको भान पर्छ । ‘जीवन समय र परिस्थिति अनुसार चल्दै जाने चक्र हो’ उनी दार्शनिक शैलीमा भन्छन्, ‘पल्टाउदै गएको पुस्तक भन्ने गरेको छु । मेरो जीवन पनि पल्टाउदै लैजाने पुस्तकको पाना जस्तै हो ।’


सडक उनको क्यानभास, कुची सिन्को

उनी बालखै हुँदा बाबुआमा फुटपाथमा कपडा बेच्न व्यस्त हुन्थे । उनको खुट्ट थिएन, त्यसैले टाढा जाने डर उनीहरुलाई थिएन । सडकपेटीमा छाडिदिन्थे । हात थिएन खेल्ने सामान दिने कुरा भएन । तर, पनि उनी छोटा ठुटा जस्ता आफ्नो दुई हातले सिन्को समाएर भुई कोतार्थे । शायद यही उनको चित्रकलाप्रतिको प्यासन थियो ।

‘विस्तारै मनमा चेतना भरिन थालेपछि, कलमले तिघ्रातिर कोर्न थालेछु, रुची झन बढ्दै गयो, कागजको पानामा रंग भर्न थालें, आकार दिन थालें, जीविका चलाउने पेशा बन्न पुग्यो’ कोर्दै गरेको चित्रै देखाउँदै उनले भने । उनले जति पनि तस्बिरहरु तयार गर्छन् । स्वविवेकले बनाउँदै आएका सुनाउँछन् । ४/५ बर्ष अघि एकजना जापानी र स्थानीय गणेशमान लामाले दुई महिनाको चित्रकला तालिमको अवसर दिएका थिए । तर, दैनिक सडकमा नआए छान नटर्ने हुँदा त्यसलाई पुरा गर्न सकेनन् । यस बाहेक उनले कुनै औपचारिक चित्रकलाको ज्ञान पाएका छैनन् । नत कसैले सहयोग नै गरेका छन् । कोही मनकारीले कहिलेकाहि पेपर, पेन र कलर किन्दिन्छन् ।


उनी बिशेष गरेर देवीदेवता, बोट विरुवा, फुल र सुगाको चित्र कोर्न मन पराउँछन् । एकप्रतिको चित्र न्युनतम् २ सय ४० रुपैयाँ मुल्य राखेका छन् । त्यो भन्दा बढी दिन चाहनेले दिन सक्छन् । उनको तस्बिर हेर्नेको घुइचो लाग्ने गर्छ । उनीहरुले पनि इच्छाअनुसार सहयोग गरेर हिड्छन् । उनले चित्रकलामा प्रयोग गर्ने सामाग्री उच्च स्तरका छैनन् । एक दिनभरमा कम्तीमा ६ प्रति चित्र कोर्न भ्याउछन् ।

रहर अनेक छन्, सपना एउटा


विहान ५/६ बजे नै उठ्छन् । चिया पिउँछन् । दाँत माझ्छन् । उनी आफैले कोरेका देवीदेवताका चित्र भित्तामा टाँसेका छन्, त्यसैमा पुजा गर्छन् । १० बजेतिर खाना खाएर चित्र कोर्न सडकपेटीतिर लाग्छन् । दिनभर त्यही बित्छ । बेलुकी पख पुन: डेरा फर्कन्छन् । खाना खाएर एकछिन गीत सुन्छन् र गाउँछन् पनि । त्यसपछि दिनभरको थकाइ मेट्न सुत्छन् । यसरी चल्ने उनको दैनिकी कहिलेकाही साथीहरुसंग गेटट्गेदरमा पनि बित्छ । उनी आपांग छन्, सडकका पेटीमा चित्र कोर्छन्, साथीहरु भने सडकका होइनन्, सर्वोच्च अदालतमा काम गर्नेदेखि कलेज पढ्ने विद्यार्थीहरु छन् ।

आमा चमेलीदेवीका अनुसार उनी जन्मेका बेला उनको अवस्था हेर्न मान्छेको भीडै लागेको थियो । धेरैले अचम्म मानेका थिए । बाँच्नेमा धेरैले आशा गरेका थिएनन् । तर, अहिले तिनै बच्चा उनको लागि साहरा बनेका छन् ।

बिशेषगरी चित्रकला हेर्न अभिभावक तथा शिक्षकहरु आफ्ना साना नानी र विद्यार्थी लिएरसमेत आउँछन् । ‘साना नानीहरुलाई देखाउँदै हेर, उसको हातखुट्टा नभएर के भयो ? कति राम्रो चित्र कोर्छन्, तिमीहरु अल्छि गर्छौ, उसबाट प्रेरणा लिन सिक भनेर सम्झाइरहेका हुन्छन्,’ यस्तो बेलामा पासवानको खुशीको सिमा रहँदैन, आफ्नो अस्तित्व वोधले उनी आफैप्रति गर्व गर्छन् ।

‘सफलता पाउन सजिलो छैन नी, मेहनत, लगाव, निरन्तरता र आत्मबल हुनुपर्छ, यहि नै हो जीवन र संघर्ष,’ उनी भन्छन् । उनकै शब्दमा आफ्नो शारीरिक अवस्थाप्रति उनी कहिल्यै बिचलित भएनन् । यसैमा रमाएका छन् पनि ।

उनी कल्पना गर्छन्, आफ्नै ‘आर्ट सेन्टर’ को । उनी आफ्नो सपना सुनाउँछन्, ‘सधै सडकमै जीवन बिताउन नपरोस्, समाजमा उदाहरणीय बनेर देखाउन सकुँ । आफ्नै आर्ट सेन्टर खोलेर अरुलाई पनि सिकाउन सकुँ ।’


प्रकाशित : फाल्गुन ११, २०७४ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?