कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिशु स्याहार केन्द्रले सिंहदरबारका महिला कर्मचारीलाई सहज

विद्या राई

काठमाडौँ — शुसीला अर्याल (३२) ले निजामती कर्मचारी सेवामा प्रवेश गरेको ८ वर्ष भयो । उनी सिंहदरबारस्थित शिक्षा, विज्ञान, प्रविधि, युवा तथा खेलकुद मन्त्रालयको उपसचिव पदमा कार्यरत छिन् । सिंहदरबार उनका लागि कार्यथलो मात्र बनेन, दुई सन्तान हुर्काउने गतिलो र सुरक्षित स्थान पनि बन्यो । 

शिशु स्याहार केन्द्रले सिंहदरबारका महिला कर्मचारीलाई सहज

निजामती सेवामा प्रवेश गरेको दुई वर्षपछि उनकी जेठी छोरी जन्मिइन् । पति र उनी दुवै काममा जानुपर्ने भएकाले छोरीको स्याहारसुसारमा समस्या हुन्थ्यो । बेला–बेलामा स्तनपान गराउन, खाना खुवाउन, सरसफाई गर्न झमेला हुन्थ्यो उनलाई । करिब एक वर्षसम्म आफूसंगै कार्यालय लिएर जाने गरिन् । कार्यालय सहयोगी र महिला कर्मचारीहरुले हेरचाहमा सघाउँथे । तर बालख छोरीसंग कार्यसम्पादन गर्न सहज भने थिएन । उनले हेरचाह गर्ने मान्छेको विकल्प पनि नखोजेका होइनन् । तर भरपर्दो मान्छे नै पाइनन् ।

एकदिन उनले सहकर्मीहरुबाट सिंहदरबार परिषरमै दिवा शिशु स्याहार केन्द्र छ भन्ने थाहा पाइन् । उक्त केन्द्र भर्खरै स्थापना गरिएको थियो । ‘पहिले खासै जानकारी राखिएन, आफू पनि, श्रीमान पनि कार्यालय जाने भएपछि विकल्प खोजी गर्दै जाँदा सिंहदरबारभित्र शिशु स्याहार केन्द्र छ भन्ने थाहा भयो,’ उनले भनिन्, ‘त्यसपछि एक वर्ष पुगेकी छोरीलाई केन्द्रमा भर्ना गर्‍यौं ।’ उनले छोरी तीन वर्ष पुरा नहुँदासम्म केन्द्रमै राखिन् त्यसपछि विद्यालयमा भर्ना गरिन् । हाल साढे ६ वर्षकी उनकी छोरप् कक्षा १ मा पढ्छिन् ।

अहिले उपसचिव अर्यालको १४ महिनाकी दोस्रो सन्तान पनि सिंहदरबारकै शिशु केन्द्रमा हुर्कंदै छिन् । चार महिना लागेपछि नै त्यहाँ भर्ना गरिएको उनले बताइन् । केन्द्रले गर्दा दोस्रो सन्तान जन्मिएपछि स्याहार कसले गर्देला, के गर्ने होला भन्ने समस्याबाट मुक्त भएको बताइन् ।

‘हेर्ने मान्छे नभएको भए दोस्रो सन्तानका बारेमा विचार गरिन्थ्यो होला, अहिले भने ढुक्क छ,’ उनले भनिन्, ‘सिंहदबार क्षेत्रमै अफिस भएपछि समय मिलाएर स्तनपान गराउन पनि आयो, खानेकुरा यही व्यवस्था हुन्छ, सुरक्षा र सरसफाईका हिसाबले पनि ढुक्कै छ । कतै टाढा राख्नु परेको भए दुध खुवाउन नपाइने, मानसिक रुपमा पनि तनाव हुन्थ्यो होला ।’ उनी बिहान ९अफिस आउँदा छोरीलाईसँगै लिएर आउँछिन् र बेलुका ५ बजे साथै लिएर फर्किन्छिन् ।

गृहमन्त्रालयमा कार्यरत २५ वर्षीया सरिता पाण्डेले पनि केन्द्रमा बच्चा राख्न थालेको ५ महिना भयो । केन्द्रले गर्दा बच्चा स्याहारमा शतप्रतिशत सहयोग पुगेको उनी बताउँछिन् । ‘हाम्रा नानीहरु हुर्काउन सहयोग पुगेको छ । अझ बढी त सुरक्षाको प्रत्याभूति पाएका छौं,’ उनले भनिन् ।

लागतका हिसाबले पनि केन्द्रमा बच्चा राख्नु किफायती भएको छ उनीहरु जस्ता आमाहरुका लागि । ‘घरमा हेर्ने मान्छे राख्दा मासिक १२ देखि १३ हजार छुट्टै तलब दिनुपर्‍थ्यो, अहिले केन्द्रमा १३ सयले खानपिन, सरसफाईमा सन्तुष्ट छौं,’ पाण्डेले भनिन् ।

कार्यालय समयभित्र आमाबाट हेरचाह तथा रेखदेख पाउन नसक्ने निजामती कर्मचारीका शिशुहरु सहज वातावरणमा हुर्किन पाउन र उनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकासमा समेत सहयोग पुगोस भनेर नै केन्द्रको स्थापना भएको बताउँछिन् केन्द्रकी व्यवस्थापक शान्ती थापा । ‘बच्चाहरु आमाको दुधबाट वञ्चित हुन नपरोस्, महिला कर्मचारीहरुलाई कार्यसम्पादन गर्दा बच्चाको अवस्थालाई लिएर तनाव नहोस् भनेरै केन्द्र सञ्चालन गरेका हौं,’ थापाले भनिन् ।

२०६८ बैशाखबाट सञ्चालनमा आएको यस केन्द्रमा हाल ८० जना बालबालिकाहरु छन् । त्यहाँ ३ महिनादेखि ३ वर्षसम्मका शिशुहरु राखिन्छन् । कार्यालय समय बिहान ९:३० देखि बेलुकी ५ बजेसम्म शिशुहरुलाई केन्द्रले हेरचाह गर्छ ।

केन्द्रमा ३ महिनादेखि एक वर्षसम्मका १७, एक वर्षदेखि १८ महिनासम्मका २०, १८ देखि २४ महिनाका २१ र २५ महिनादेखि ३ वर्षसम्मका २० जना शिशुहरु छन् । १४ जना आयाहरुमध्ये दुईजनालाई खाना पकाउने र सरसफाई गर्ने जिम्मेवारी छ भने अन्य १२ जनाले शिशुहरुलाई समयमा खाना खुवाउने, सुताउने, उठाउने, सरसफाई गर्ने, खेल्ने तथा संगित सिकाउने गर्छन् । केन्द्रले खानामा लिटो, जाउलो, हलुवा, खिर, पाउरोटी, स्यार्लेक्स मिलाएर दिने गरेको छ ।

महिला तथा बालबालिका मन्त्रालयको मापदण्ड अनुसार एक आया बराबर ४ जना शिशुको रेखदेख गर्नुपर्ने हुन्छ । तर शिशुहरुको चाप बढी भएकाले सिमित आयाहरुले शिशुहरुको हेरचाह गर्नुपर्ने बाध्यता भने त्यहाँ देखिन्छ । ‘हामीले बच्चाहरुको हेरचाहमा कमी हुन दिएका छैनौं, समग्रमा तीनजना आयाहरुको अभाव छ,’ थापाले भनिन् ।

पूर्व मुख्यसचिव स्व. माधव घिमिरेको कार्यकालमा निजामती कर्मचारी श्रीमती संघ र महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयको संयुक्त प्रयासमा केन्द्रको स्थापना भएको हो । प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो कार्यकालमा निजामती कर्मचारीका शिशुहरुका लागि स्याहार केन्द्रको व्यवस्था गर्ने भनेर दिएको वक्तव्यलाई आधार बनाए केन्द्र स्थापनामा कर्मचारीहरु जुटेका थिए । स्याहार केन्द्रको व्यवस्थापन निजामती कर्मचारी संघको अध्यक्षको संयोजकत्वमा बनेको व्यवस्थापन समितिले गर्छ । त्यसको अध्यक्ष भने बहालवाला मुख्यसचिवकी श्रीमती हुने व्यवस्था छ ।

प्रकाशित : फाल्गुन २५, २०७४ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?