कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

'मिस अप्रोच' ले यूएस बंगलादेश विमान दुर्घटनाः विमानस्थल

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यूएस बंगला विमानले अवतरण गर्ने बेलमा नै  ‘मिस अप्रोच’ गरेकोले दुर्घटना भएको बताएका छन् ।

'मिस अप्रोच' ले यूएस बंगलादेश विमान दुर्घटनाः विमानस्थल

‘जहाज ल्याण्ड गर्ने बेलामा विमानस्थलको टावर छेउबाटै आयो । झन्डै झन्डै पार्किङमा रहेको जहाजको अति नजिकबाट टच डाउन गरी कन्ट्रोल गर्न नसकेर पूर्व पट्टीको बार भत्काई खाल्डोमा गएर खस्यो,’ उनले भने, ‘आग्नी नियन्त्रक एलर्ट भएकोले आर्मी प्रहरी सबै मिलेर चाँडै उद्धार र नियन्त्रण भयो । जुन स्थितिमा आगो बलेको मैले देखेको थिएँ, त्यो स्थिति अझै १० मिनेट रहेको भए अझै भयावह स्थिति हुने थियो ।’


बंगला विमान पार्किङमा रहेको थाई एयरवेज विमानको पुछार पट्टीको भागमा ठक्कर हुनबाट जोगिएको थियो । विमानस्थलका अधिकारीहरुका अनुसार थाइमा ठोकिएको भए अझै क्षतिहुने स्थिति थियो । ‘नाइन नटिकल माइल’ आइसकेपछि जहाजलाई साउथ (जिरो टू)बाट ल्याण्ड गर्ने अनुमति दिँदा खेरी पाइलटले उत्तर (टू जिरो) तिरबाट ल्याण्ड गर्छु भनेर उत्तरतिर लागेको उनले बताए ।

‘उत्तरतिर लागिसकेपछि टावर कन्ट्रोलरले फेरी तपाईं (पाइलट)लाई केही समस्या छ र भनेर सोध्नुभयो । पाइलटले केही समस्या नभएको जनाए । तर विमान उत्तर गएर ल्याण्ड गर्नुपर्नेमा उत्तर पूर्व गएर दुई फन्को लगाउनुभयो,’ उनले भने, ‘टावरले तपाईंले किन ल्याण्ड गर्नुभएन ? तपाईंलाई ठीक छ भनेर सोध्नुभयो । पाइलटले म ठीक छु ल्याण्ड गर्दैछु भनेर जवाफ दिनुभयो । ल्याण्ड गर्ने बेला ‘एलाइन्मेन्ट’ मिलेको थिएन । कन्ट्रोलरले ल्याण्ड गर्ने बेला एलाइन्मेन्ट मिलेको छैन भन्दा पाइलटले रेन्सपोन्स गर्नुभएन । त्यसपछि जहाज रनवेबाट सिधा ल्याण्ड गर्नुपर्नेमा रनवेबाट दाइनेतिर (आर्मीको ह्यांगरतर्फ) टावरको छेउबाटै आयो ।’

उनले यात्रुको पूर्ण विवरण विमानस्थलमा रहेको बंगला विमानको काउन्टरसँग समन्वय गरी सार्वजनिक गर्ने बताए ।

विमान दिउँसो २ बजेर १८ मिनेटमा दुर्घटना भएको थियो । विमानमा चालकदलसहित ७१ जना थिए । जसमा ३३ जना नेपाली थिए ।

जसमा ४९ जनाको मृत्यु भएको छ भने २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?