विमान दुर्घटनाका घाइते भन्छन्, ‘नयाँ जीवन पाएँ’ [भिडियो]

विमल खतिवडा

काठमाडौँ — हामी १२ जना ट्राभल एजेन्सीका पर्यटन व्यवसायी र यूएस बंगलाका २ जना प्रतिनिधिहरु बंगलादेशको कोक्स बजारमा हुन गइरहेको कस्टमर सक्सेस समिट भनेर ९ तारिखमा त्यसतर्फ प्रस्थान गरेका थियौं ।

विमान दुर्घटनाका घाइते भन्छन्, ‘नयाँ जीवन पाएँ’ [भिडियो]

यूएस बंगला एयरलाइन्सले नै आयोजना गरेको कार्यक्रम भएकाले भाग लिन नेपालबाट अतिथिको रुपमा विजनेस पार्टनरको हिसाबले गएका थियौं । कोक्स बजारको कार्यक्रम सकेर सीधै फर्कने कार्यक्रम थियो । तर, हामी एक दिन बढी बस्यौं । ढाकाका ट्राभल एजेन्सीहरुलाई पनि भेट्नु पर्‍यो र पर्यटन प्रवर्द्धनका केही क्रियाकलाप हुन्छन् कि भन्ने आशा थियो । १२ जना ट्राभल एजेन्सीका साथीमध्ये १० जना बस्यौं । जसमा २ जना यूएस बंगलाका साथीहरु थिए । अन्य २ जना साथीहरु अघिल्लो दिननै फर्किए ।

सोमबार सेड्युल अनुसारकै फ्लाईट थियो । हामी रमाइलो गर्दै प्लेनमा १२ जना साथीहरु अघिल्लो भागमा बसेका थियौं । हामीसँग नेपाली टोलीमा थुप्रै थियौं । बंगलादेशमा डाक्टरको पढाई सकेर फर्किने विद्यार्थीहरु थुप्रै थिए । राम्रा न्युरो सर्जन बालकृष्ण थापा हामी चढेकै जहाजमा हुनुहुन्थ्यो । नेपाल घुम्न आउने पर्यटकहरु पनि थिए । सामान्य हिसाबले हामी आइरहेका थियौं । काठमाडौं भ्याली छिरेपछि ल्यान्डिङको क्रममा जहाजले जुन रुट लिनु पर्ने हो । त्यो रुट नलिइ कोटेश्वर आइसकेपछि दाहिनेपट्टिबाट बढी च्यापेपछि जहाजले एयरपोर्ट मिस गर्‍यो । हामीले सोच्यौं टावरसँगकै कम्युनिकेसनमा उसले त्यसो गरेको हो ।


तर, त्यस्तो देखिँदैन थियो । एयर ट्राफिकिङको समस्या हो कि भन्ने आशंकाचाहिँ थियो । तर, हामीलाई खासै टेक्निकल कुरा थाहा भएन । त्यो भन्दा अघि जहाज काठमाडौंको उत्तरीबेल्ट बुढानिलकण्ठ, बौद्धको वरिपरिका डाँडाकाँडा घुमाउँदा लो-साइटमा फ्लाईङ गरिरहेको थियो । घर र रुख छुने हिसाबले फ्लाईङ भइरहेको थियो । हामीलाई छोयो छोयो भन्ने लागेको थियो । सबै यात्रुमा त्रास छाइसकेको थियो । अब सुरक्षित अवतरण हुँदैन भन्ने लागिसकेको थियो । हाम्रो जीवन खतरामा परिसक्यो भन्ने बुझिसकेका थियौं । तर, कसो कसो पाईलटले ट्रनिङ गरेर एयरपोर्टलाई अप्रोच गर्दै जहाज आइसकेपछि हामीलाई अब बाँचिन्छ कि भन्ने फिल भयो ।

कोटेश्वरबाट दाहिने साईड च्यापेर पाइटलले ल्यान्ड गर्ने क्रममै खतरा छ भन्ने लागिसकेको थियो । टावरले रङ छ भन्ने कुरा त पहिल्यै भन्छ । ल्यान्ड गर्ने बेलामा भन्दैन भन्ने थाहा थियो । रङ ल्यान्डले पाइलटको मिस्टेक भन्ने कुरा बुझिन्छ । यो टेक्निकल कुरा हो । मैले ठोकुवा गरेर भन्न सक्ने कुरा भएन । फर्काएर ल्याउँदा पनि सइ ठाउँमा ल्यान्ड गर्न सकेन । ल्यान्ड गर्नुभन्दा २ मिनेट अघिसम्म एकदमै आशावादी थियौं, बाँचियो भनेर । जब कालो पत्रेमा नठोक्किइ रफमा ठोक्कियो ।

जहाज भुइँमा बजारियो । त्यतिमात्र याद छ । बजारिसकेपछि मेरो अर्को स्मरण भनेको कसरी बाँच्न सकिन्छ भनेर चौरमा स्ट्रगल गरिरहेको थिएँ । म आफैं घस्रिएर दुर्घटनाबाट बाहिर निस्कने प्रयास गर्दै थिए । जहाजबाट पेट्रोलको फोहोरा निस्किइरहेको थियो । जहाज पड्किने र आगलागी हुने खतरा थियो । धुँवा आइरहेको थियो । पछाडि फर्किएर हेर्न सकिनँ । जे हुनुपर्ने । २ मिनेटमा भयो । बाँच्नका लागि भाग्ने प्रयास गरिरहेको थिएँ । खुट्टामा चोट थियो । भाग्नै सकेको थिइनँ । घस्रिँदा घस्रिँदै उद्धारमा खटिएको नेपाली सेनालाई देखेँ ।

उद्धार गरेर केएमसीमा ल्याइयो । त्यहाँ लथालिंग अवस्था थियो । आफन्तले केएमसीमा गाह्रो हुन्छ भनेर नेपाल मेडिसिटी अस्पताल नख्खु लिएर आए । उपचारको क्रममा छु । तर, मलाई दु:ख लागेको छ । पर्यटन व्यवसायी, डाक्टर भाइबैनी, नेपाल आउन लागेका थुप्रै पर्यटक गुमाएका छौं । यसले सबैलाई दु:खी बनाएको छ । मेरो दाहिने खुट्टाको घुँडाभन्दा तल फ्याँक्चर भएको कुरा चिकित्सकले भनेका छन् । दाहिने भागको २ वटा करङमा समस्या भएको कुरा आएको छ । आँखामा थोरै इन्फेक्सन भएको छ । सामान्य चोट शरीरका विभिन्न अंगमा लागेका छन् । अवस्था सामान्य छ । उपचार अझै हप्ता १० दिन लाग्ने कुरा आएको छ । बाँच्छु भन्ने लागेको थिएन, तर धेरै साथी गुमाएर नयाँ जीवन पाए । साथीहरु गुमाउँदा दु:ख लागेको छ ।

(नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचार गराइरहेका पर्यटन व्यवसायी पाण्डेसँगकाे कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन २९, २०७४ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?