कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

विमान दुर्घटना आयोगले काम थाल्याे

एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीचको सवांद अडियो बाहिरिएको विषयमा प्राधिकरणले युट्युबलाई इमेलमार्फत उजुरी दिएको छ
सुरज कुवँर

काठमाडौँ — यूएस बंगला विमान दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले काम थालेको छ । सरकारले सोमबार पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय आयोग गठन गरेको थियो । 

विमान दुर्घटना आयोगले काम थाल्याे

‘आयोगले आजै (मंगलबार) देखि काम थालिसकेको छ,’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले मंगलबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आयोगले दुर्घटना अनुसन्धान गर्दा आवश्यकताअनुसार विज्ञको पनि सहयोग लिनेछ । आयोगलाई १ सय ५० दिनको समय दिइएको छ । सहसचिव आचार्यले दुर्घटनाको छानबिनका लागि अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि हातेमालो गर्नेछौं । बेलायतले पनि सघाउने भनेको छ,’ आचार्यले भने । आयोगको कार्यालय सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा राखिएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दुर्घटनामा परेको बमबार्डियर ड्यास एट क्यु फोर हन्ड्रेड विमान दर्ता भएको मुलुक बंगलादेशबाट जहाजका प्राविधिक डकुमेन्ट झिकाइने बताए । उनले आयोगले जहाजको मर्मत, उडानयोग्य प्रमाणपत्रलगायत प्राविधिक डकुमेन्ट पनि मागिने बताए ।

अडियो सार्वजनिक भएकामा आपत्ति

यसैबीच, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीच भएको सवांदको अडियो बाहिरिएको विषयमा नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणले सोमबारै युट्युबलाई इमेलमार्फत उजुरी दिएको छ । ‘यो गम्भीर विषय हो । पाइलट र एटीसीको संवाद सार्वजनिक गर्न मिल्दैन,’ महानिर्देशक गौतमले भने, ‘हामीले यो अडियो सार्वजनिक भएको विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि भनिसकेका छौं ।’ गौतमले यस्तो अडियो आवश्यक परेमा सुन्न सक्ने अधिकार प्राधिकरणका महानिर्देशक र दुर्घटना भएमा जाँचबुझ आयोगलाई मात्रै हुने बताए । यही अडियो सुनेर यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी (सीईओ) इमरान असिफले विमान दुर्घटनामा पर्नुमा नेपाली एयर ट्राफिक कन्ट्रोलरलाई दोष दिएका छन् । यसबारे प्राधिकरणका महानिर्देशक गौतमले एयरलाइन्सका सीईओको भनाइ आधारहीन भन्दै खण्डन गरेका छन् । ‘सीईओको भनाइमा आधार छैन । जे मन लाग्यो त्यो भन्न पाइँदैन । हामीले पनि पाइलटको गल्ती भनेका छैनौं । दुर्घटना हँुदा देखिएको अवस्थाबारे मात्रै अभिव्यक्ति दिएका हौं,’ गौतमले भने, ‘यो विशुद्ध प्राविधिक कुरा हो । आयोगको अनुसन्धानपछि मात्रै खास कुरा भन्न सकिने छ ।’ पूर्वाधार र उपकरण अभावले यो दुर्घटना नभएको प्राधिकरणले उल्लेख गरेको छ । ‘यात्रु र उडानको चापअनुसार पूर्वाधारको आवश्यकता महसुस भएको पक्कै हो तर, सोमबारको दुर्घटनासँग यसको सम्बन्ध गाँसिएको छैन,’ गौतमले पत्रकार सम्मेलनमा भने ।

बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु तथा चालक दलका ४ सदस्यसहित आएको विमान अवतरणका क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । प्राधिकरणले दुर्घटनामा ४९ को मृत्यु भएको जनाएको छ । तर गृह मन्त्रालयले मृतकको संख्या ५१ पुगेको दाबी गरेको छ । बंगलादेशी सञ्चारमाध्यमले चालक दलका क्याप्टेन अविद सुल्तानको मृत्यु नभएको दाबी गर्दै आएका छन् । तर प्राधिकरणका महानिर्देशक गौतमले यो दुर्घटनामा चालक दलका सबै सदस्यको पनि मृत्यु भइसकेको जनाएको छ । विमानमा ३३ नेपाली, ३६ बंगलादेशी, एक/एक चिनियाँ र माल्दिभ्सका नागरिक तथा चालक दलका चार जना थिए । सबै शव शिक्षण अस्पतालमा राखिएका छन् ।

२२ जनाको उपचार जारी

राजधानीका ६ वटा अस्पतालमा २२ जनाको उपचार जारी छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार सिनामंगलस्थित काठमाडौं शिक्षण अस्पतालमा प्रिन्सी धामी, समिरा व्यन्जनकार, इम्रान कबिर, कबिर हुसैन, मेहेदी हसन, सोवर्णा हसन, सरिम अहमत, एमडी साहिन व्यापारी, सेख रुबायत रसित, आल्मुन नहर एनईको उपचार भइरहेको छ । त्यस्तै ग्रान्डीमा किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार, विनोद पौडेलको उपचार भइरहेको छ । न्युरो अस्पतालमा दिनेश हुमागाईं, मेडिसिटीमा केशव पाण्डे, ओममा रिजवानुल हकको उपचार भइरहेको छ । त्यस्तै नर्भिकमा वसन्त बोहोरा, आशिष रन्जित, सोनाम शाक्य, याकुव अली र रिजाना अब्दुल राखिएका छन् । यीमध्ये अधिकांश खतरामुक्त रहेको विमानस्थलले जनाएको छ ।




प्रकाशित : फाल्गुन २९, २०७४ २२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?