कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहिले होला बाग्मती सफा ?

विद्या राई

काठमाडौँ — बाग्मती सफाई अभियान सुरु भएको पाँच वर्ष पुग्दैछ । यो अभियानले हालै मात्र २ सय ५३ औं हप्ता पार गर्‍यो । हजारौं जनाले यसमा सहभागिता जनाइसकेका छन् ।

कहिले होला बाग्मती सफा ?

बाग्मती नदी संरक्षण, ढल निर्माण तथा सरसफाईका लागि अर्बौ रुपैयाँ खर्च भएको छ । बितेको पाँच वर्षमा मात्र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले ४ अर्ब २५ करोड १७ लाख ८८ हजार खर्च गरेको छ ।


तर, श्रम र खर्च गरे अनुरुप नदिको सफाईको स्तर भने देखा परेको छैन । अझै पनि वाग्मती नदिमा असरल्ल फोहोर देखिन्छन्, पानी फोहोर र दुर्गन्धित छ । यसो हुनुमा वाग्मती मिसिने ढल र किनारा बस्तीका स्थानीयको फोहोर व्यवस्थापन नहुनु प्रमुख कारणको रुपमा देखिन्छ । सफाई अभियान चलाई रहेकाहरु भन्छन्, 'हामी फोहोर उठाउँदै जाने, स्थानीयहरुले थुपार्न नछाड्ने प्रवृतिले लक्ष्य अनुरुप प्रगति भएन ।'


हरेक हप्ताको शनिबार सयौंको संख्यामा उपस्थित अभियानकर्ताहरु वाग्मतीको सफाईमा जुट्ने गरेका छन् । सफा गरेको बाग्मती एक हप्ता नपुग्दै जस्ताको तस्तै देखिन्छ । ०७० जेठ ५ बाट सुरु भएको अभियानले हालसम्म शंखमूल, कुलेश्वर, राममन्दिर पशुपति, गुह्श्वरी, टेकु, थापाथली पुल, गुसिंङ्गाल, गोठाटार, तिलगंगा, सिनामंगल, भत्केको पुल, बानेश्वर क्याम्पस, मिनभवन पुललगायत विभिन्न स्थानमा बाग्मती सफाई गरेको छ । ‘हामी सफा गर्दै जान्छौ, मान्छेहरु माथिबाट डंगुर थुपार्दै जान्छन्, यो चक्र कहिलेसम्म ?' थापाथली पुलमा बाग्मती सफाईमा क्रममा भेटिएकी चुडादेवी भट्टराई विडारी प्रश्न गर्छिन् । बिषेशगरी बाग्मती किनारमा रहेका बस्तीका स्थानीयहरुले घरबाट निस्केको फोहोर र ढल बाग्मतीमा मिसाउने गरेका छन् ।


पहिलेको तुलनामा वाग्मती केही सफा हुँदै गएपनि स्थानीयहरुको अटेरीपनाले गर्दा सोचेजस्तो हुन नसकेको डम्बरबहादुर कार्कीले बताए । उनी यस अभियानमा सुरुवातदेखि नै निरन्तर संलग्न रहेका छन्, भन्छन्, ‘नदिको कुरुप र विकराल अवस्था सुधार्न सकिन्छ कि भनेर स्वयंसेवी भावनाले अभियानमा निरन्तर संलग्न छौ, तर सबैमा संस्कार र सभ्यताको बानी विस्तार नभएपछि सोचेजस्तो लक्ष्य पाउन मुस्किल हुने रहेछ ।’


बाग्मतीलाई साँच्चिकै स्वच्छ, सफा, दुर्गन्धरहित, हराभरा बनाउनका लागि सबैभन्दा पहिले मानिसको सोचाई बदल्नु पर्ने सफाइ अभियानमै भेटिएका अधिकांशको भनाई छ । ‘कुहिने फोहोर, नकुहिने फोहोरलाई कसरी व्यवस्थापन गर्ने जस्ता कुरामा जनचेतना फैलाउन आवश्यक छ, साथै अटेरी गर्नेलाई कानुनी कार्यबाहीको व्यवस्था पनि गर्नुपर्छ’ उनीहरुको एक मत छ ।


सफाई अभिायनकर्मीहरुका अनुसार हालसम्म साढे १२ हजार मेट्रिकटन फोहोर व्यवस्थापन गरिसकिएको छ । मनोहरा दोभानमाथि फोहोर, ढल व्यवस्थापन गर्ने काम भैरहेको छ । दुई दर्जन जति बगैचा निर्माण गरिएका छन् । तर बाग्मतीमा मिसिन आउने अन्य नदिहरुले दुर्गन्ध र फोहोर ल्याउने गरेको छ । गुहेश्वरीदेखि सुरु भएर थापाथली, बल्खु, किर्तिपुरसम्म २८ किमि भित्र अभियान चलाइने गरिन्छ । स्वयंसेवी भावनाले सुरु भएको यस अभिायनमा सरकारी, गैरसरकारी तथा परोकारी संस्थाहरु गरेर एक हजार ७ सय ५० भन्दा बढि संलग्न छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेता, पुर्वप्रधानमन्त्रीहरु, मन्त्री तथा सांसदहरु सबैले अभियानमा सहभागिता जनाइसकेका छन् । तैपनि वाग्मती सफाईका लागि अझै प्रभावकारी संयन्त्रको अभाव छ । ‘यति ठुलो जनसंख्या छ, फोहोर दैनिक भैरहन्छ, ढल मिसिन्छ, संस्कार बसिसकेको छैन, दलहरुको प्राथमिकतामा पर्दैन, सरकारको प्राथमकितामा परेको भए यस्तो हुने थिएन' सफाई अभियानमा संलग्न राजु अधिकारीले भन्छन् ।


सरकारी तवरबाट वाग्मती सभ्यता एकीकृत विकास समितिले सफाईको जिम्मेवारी लिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सफाईका लागि मात्र बार्षिक दस लाख बजेट बिनियोजन हुन्छ । उक्त रकम फोहोर उठाउने भाँडो, पञ्जा, मास्क, कुचो, बुट, प्राथमिक उपचारका सामाग्री खरिदमा खर्च हुने गरेको समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले बताए । बाँकी बजेटले ढल, बगैचा निर्माण लगायत भौतिक पुर्वाधार विस्तार भैरहेको उनको भनाई छ । वाग्मतीसंगै रुद्रामती, मनोहरा, हनुमन्ते र बिष्णुमतीको सफाई भैरहेको उनले बताए । रुद्रमतीको २ सय औं, मनोहराको ४८ औं हप्ता पुरा भएको छ । २०७५ लाई राष्ट्रिय सफाई वर्षका रुपमा मनाउने तयारी पनि जारी छ ।

प्रकाशित : चैत्र ७, २०७४ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?