धोबीखोला करिडोरका पुलहरु आठ वर्षमा पनि अधुरै 

विद्या राई

काठमाडौँ — धोबीखोला करिडोरमा सडक विभागले आठ बर्षअघि निर्माण सुरु गरेका पुलहरु अझै बनेका छैनन् । 

धोबीखोला करिडोरका पुलहरु आठ वर्षमा पनि अधुरै 

निर्माणको क्रममा रहेका तीनवटा पुलको लागत सात करोड २८ लाख २० हजार रुपैयाँ छ । करोडौं लगानीमा पुलहरु सडक विभागको वेवास्ता र ठेकेदारको लापारबाहीले अधुरै छन् । अन्य दुईवटाको डिजाइनसमेत बनिसकेको छैन ।


मैतीदेवी र देवीनगर जोड्ने पुल एक बर्षअघि निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण सुरु भएको तीन बर्ष बित्दासम्म जग खन्नेबाहेक काम अघि बढेको छैन । ठेकेदारले जग खन्ने क्रममा खोला किनारमा पर्ने जग्गा मिचिएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा दायर गरेपछि काम अघि नबढेको डिभिजन सडक विभाग – १ मिनभवनका प्रमुख मुकुन्द अधिकारीले बताए ।


‘सर्वोच्चले काम रोक्न लगाएपछि अघि बढेन, मुद्दा पनि सल्टिएको छैन,’ उनले भने । उक्त पुल भण्डार थोदुङ वोल्र्डवाइड जोइन्ट जेभीले दुई करोड ७४ लाख ४० हजार (मुल्य अभिवृद्धि कर र कन्टेन्जेन्सी बाहेक) मा ०७२ भदौमा ठेक्का सम्झौता गरेको थियो । जग खनेको निर्माणस्थल र निर्माण सामाग्रीहरु अलपत्र अवस्थामा छन् । स्थानीयहरु फलाम तेर्साएर अस्थायी फड्के बनाएर आवतजावत गरिरहेका छन् ।


संगमचोक र नयाँ बनेश्वर जोड्ने पक्कि पुलको पनि हालत उस्तै छ । आव ०६६/०६७ मा ठेक्का लागेको पुल ०६८ चैतमा सम्पन्न हुनुपर्ने थियो । जग खन्ने क्रममा प्राविधिक समस्या आएपछि काम सरेको थिएन । उक्त पुल जयओम ओमी जेभीले एक करोड ३० लाख ९० हजारमा ठेक्का पारेको थियो । हालै उसको ठेक्का रद्द गरेर पुन: डिजाइन भैरहेको बताइएको छ ।


अनामनगरस्थित ०७३ माघमा सम्पन्न गर्ने गरि ०७२ भदौमा ठेक्का लागेको पुल निर्माणकै अवस्थामा छ । ठेक्का लागेको साल भुकम्पको पराकम्पले सुरु गर्न ढिला भएको र पछाडि नाकाबन्दीको प्रभावले निर्माण सामाग्रीको अभावका कारण निर्माण एकबर्ष ढिलाई भएको इन्जिनियर रामबहादुर गुरुङले बताए । डेस्कस्ल्याब ढलान भैरहेको छ । यस पुल भण्डार थोदुङ जिटेक जेभीले तीन करोड २२ लाख ९० हजारमा ठेक्का पारेको थियो । करिडोरका पुलहरु बर्षौ बित्दासम्म बन्न नसक्दा स्थानीयहरुलाई खोला वारपार गर्न समस्या छ । यसैगरी करिडोरको सडक विकास र विस्तारमा पनि असर पारेको तीनकुनेस्थित करिडोर आयोजना प्रमुख दिपक श्रेष्ठले बताए ।


बुढानिलकण्ठ नगरपालिका १ र ४ वडा जोड्ने पक्कि पुल टेण्डर मुल्याकंन भैरहेको छ । यसको अनुमानित लागत दुई करोड ४१ लाख ६५ हजार छ । कपन र महांकाल जोड्ने पक्कि पुल डिजाइन भैरहेको छ ।



प्रकाशित : चैत्र २०, २०७४ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?