कहिले सकिन्छ पशुपति क्षेत्रको पुननिर्माण ?
काठमाडौँ — विश्व सम्पदा सुचीमा सुचिकृत पशुपति क्षेत्रका दुई दर्जन बढि संरचनाहरु पुननिर्माण भैरहेका छन्। भुकम्पले क्षति पुगेका सम्पदाहरुको भग्नावशेष हटाउने, मर्मत सम्भार गर्ने, पुरातात्विक उत्खनन गर्ने काम भैरहेका पशुपति विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आएको बजेटले पुननिर्माण सुरु गरिएको हो । आर्थिक बर्ष ०७३/०७४ बाट सुरु भएको पुननिर्माण अन्तर्गत हाल २७ वटा पुर्वाधारका निर्माण कार्य भइरहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत गतवर्ष २५ करोड रुपैयाँ प्राप्त भएकोमा ३ करोड खर्च भएको छ । चालु आवमा २० करोड ७५ लाख थप विनियोजन भएको छ । मन्त्रालयबाट चालु आवका लागि करिब साढे ४४ करोड रुपैयाँ प्राप्त भएको छ ।
कोषका अनुसार भुकम्पमा परेर ५० बढि सतल, पाटीपौवा, मन्दिर लगायत संरचना ध्वस्त बनेका थिए । हालसम्म लालगणेश मन्दिर र भट्ट निवाशको पुननिर्माण सकिएको छ । स्मारक भत्काउदाका जोखिमपुर्ण संरचना हटाउने कार्य भैसकेको छ । अन्य पुर्वाधारहरु बहुवर्षीय कार्यक्रम अन्तर्गत क्रमागत रुपमा सम्पन्न गर्दै जाने कोषले जनाएको छ । पुर्वाधारहरु पाँच वर्षभित्रमा पुननिर्माण गर्नुपर्ने सरकारले घोषणा गरेको छ ।
गुह्येश्वरी मन्दिर प्राङ्गण र धर्मशाला, भुवनेश्वरीदेखि दक्षिणढोकासम्म ढल, बाटो निर्माण, इाटापाखामा प्रस्तरफलक छाप्ने, वनकालीमा उद्यान विकास र भष्मेश्वर सत्तल जीर्णोद्धार भइरहेका छन् । पशुपतिनाथको भान्सा पुननिर्माण, भण्डारखाल बगैंचाको घेरा पर्खाल पुननिर्माण कार्य भइरहेको छ । सोभनियर पसल निर्माण, पुरातात्त्विक उत्खनन कार्य चलिरहेका छन् । गोरखनाथ मन्दिर पश्चिमको सत्तल, घ्याम्पे सत्तल, शंकराचार्य मन्दिर निर्माण भइरहेको छ ।