कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ मेलम्चीको सुरूङ

शिल्पा कर्ण

काठमाडौँ — उपत्यकाबासीको लागि एउटा सपना हो मेलम्चीको पानी । पानी यहाँसम्म ल्याउन आवश्यक यो अन्तिम सुरूङ हो । आखिर कस्तो छ त पानी ल्याउन खनिएको मेलम्ची खानेपानी आयोजनाको सुरूङ ?

यस्तो छ मेलम्चीको सुरूङ

कतै कतै घुँडामुनिसम्म आउने पानी, चिसो वातावरण, माथिबाट थोपा थोपा चुहिरहेका पानी, रसाएका भित्ता । यस्तै छ मेलम्चीको सुरूङ । सिन्धु–ग्याल्थुम खण्डको सुरूङ खन्ने कार्य समाप्त भएपनि फिनिसिङ भने बाँकी छ । चैत २९ गते उप–राष्ट्रपति नन्द बहादुर पुन सुरूङको उद्घाटन गरे ।


सँगै अवलोकन तथा प्रगती बुझ्न पुगेकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले झन्डै आठ किलोमिटर सुरूङभित्रको यात्राले आनन्द अनुभव गरेको प्रतिक्रिया दिइन् । उनले चाँडै उपत्यकाबासीको धारामा मेलम्चीको पानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् ।


मन्त्रालय र एडिबीका २५ भन्दा बढी गाडी उक्त दिन सुरूङभित्र प्रवेश गरेका थिए । त्यहाँभित्र पर्याप्त अक्सिजन आपूर्तिका लागि माथितिर पाइप छ । फिनिसिङ पछि पानी रसाउन र चुहिन बन्द हुने र अक्सिजन पाइप हटाएपछि पानी मात्र बग्ने आयोजनाका कर्मचारी बताउँछन् ।


काकाकुल काठमाडौं उपत्यकालाई चौबिसै घन्टा, सातै दिन पानी उपलब्ध गराउने दीर्घकालीन लक्ष्य राखेर २०५७ सालमै यसको अवधारणा ल्याइएको थियो । बहुप्रतिक्षित र राष्ट्रिय गौरवका आयोजनामध्ये एक मेलम्ची खानेपानी आयोजनाको तेस्रो तथा अन्तिम खण्डको सुरुङ छिचोलिएपछि काठमाडौंसम्म पानी आउने सम्भावना नजिकिएको छ ।


सुन्दरीजल–सिन्धु र ग्याल्थुम–अम्बाथानसम्म दुईवटा सुरूङ खन्ने कार्य यसअघि नै समाप्त भइसकेको छ । साढे ७ किलोमिटर लामो उक्त सिन्धु–ग्याल्थुम खण्डको सुरूङ चैत २७ मै छिचोलिएको थियो ।


अब सुरूङभित्रको फिनिसिङ मात्र बाँकी छ, जुन ४ महिनाभित्रमा समाप्त हुने आयोजनाले जनाएको छ । आयोजनाको लागि एसियाली विकास बैंकले ८ अर्ब ७४ करोड रूपैयाँ सहयोग गरेकोमा अहिलेसम्म ५ अर्ब खर्च भएको आयोजनाले जनाएको छ ।


आयोजना सम्पन्न भए काठमाडौं उपत्यकावासीले दैनिक १७ करोड लिटर पानी उपभोग गर्न पाउनेछन् । तर उपत्यकावासीलाई झन्डै ३४ करोड लिटर पानी अझै अपुग हुनेछ ।


प्रकाशित : वैशाख १४, २०७५ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?