कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तामाङ संस्कृति झल्काउने गत्लाङ

शिल्पा कर्ण

गत्लाङ, रसुवा — काठका कलात्मक बुट्टा कुँदिएका तीनकोठे झ्याल, ढुंगाका घरहरू,  सिस्नुको झ्याङ, लहराइरहेको लुङ्दार र कालो छाना अर्थात् पाङलिङ । रसुवाको धुञ्चेबाट ३५ किमी टाढा र समुन्द्री सतहबाट २३ सय मिटर उचाइमा पर्ने गत्लाङको पहिचान यही हो । 

तामाङ संस्कृति झल्काउने गत्लाङ

ग्रामीण पर्यटन विकास कार्यक्रमअन्तर्गतको गोल्जुङ, चिलिमे, थुमन, टिमुरेलगायतका गाउँ समेटेर बनाएको तामाङ सम्पदामार्गमा यो गाउँ पनि पर्छ । गत्लाङको अर्को नाम जुरेको छ, ‘ब्ल्याक भिलेज’ । यहाँ आउने विदेशी पाहुनाले न्वारन गरेको यो गाउँको नाम अहिले परिवर्तन भइरहेको छ, ‘सिल्भर भिलेज’ का रूपमा । आधुनिक घर निर्माण गर्ने होडबाजी चलेको छ स्थानीयबीच ।


भूकम्पपछि ‘पाङलिङ’ अर्थात काठका छाना फेरिए, त्यसको स्थान लिए नयाँ जस्ताको टल्किने छानाले । पहिले अँध्यारो छानाले गर्दा गाउँ टाढाबाट नदेखिने अवस्था थियो, अहिले भने छिर्केबिर्के छ । पर्यटकको लागि होमस्टे पनि सञ्चालनमा छन् । आलु सबैभन्दा बढी उत्पादन हुन्छ यहाँ । यसका साथै मकै, हिमाली सिमी, जौ, गहुँ आदि पनि किसानहरू लगाउँछन् । आलु बाहिर निकासी हुन्छ भने त्यसको सट्टा चामल, नुन र अन्य आवश्यक सामान किनेर ल्याउने गरेको स्थानीय बताउँछन् ।


रसुवामा भूकम्पले धेरै क्षति पुर्‍याएको स्थानमध्ये यो पनि एक हो । अहिले नयाँ बन्ने घरहरू धेरैजसो नयाँ शैलीमा बनिरहेका छन् । इँट्टा र सिमेन्टको प्रयोग गरिएको छ भने काठका घर पनि बनिरहेका छन् । तर न त प्राकृतिक सौन्दर्य न त सांस्कृतिक सम्पदा मासिएका छन् ।


ठाउँठाउँमा ‘माने’ र ‘छोर्तेन’ देख्न सकिन्छ । मृत व्यक्तिको आत्माको शान्तिका लागि ढुंगाको चाङ लगाइएको संरचनालाई छोर्तेन भनिन्छ । स्थानीय फुर्पु सिंगीका अनुसार त्यस्तै किसिमका ठूला संरचना चाहिँ माने हुन् । जसमा पाली लिपिमा मन्त्रहरू लेखिएका हुन्छन् ।


उनले भने, ‘पहिले यहाँ भूतहरू आउँथे भन्छन् । त्यहिबेला गाउँलाई उनीहरूबाट सुरक्षित राख्न मन्त्रसहितको ढुंगा राखिएको हो ।’ अहिलेसम्म अध्ययन भएअनुसार गत्लाङमा नेपालकै सबैभन्दा बढी यस्ता संरचना १ सय ८ वटा भेटिएका छन् । यसभित्र बहुमूल्य सिक्का, पत्थर, मुर्ति, धातुका सामान, ग्रन्थ तथा अन्य विभिन्न सामग्री भएको उनले बताए ।


सहर बजारमा ल्होसार तथा बौद्ध धर्मावलम्बीको चाडपर्वमा मात्र देख्न पाइने तामाङ समुदायको सांस्कृतिक पोशाक यहाँ सबैले दैनिक जीवनमा लगाइरहेका हुन्छन् । युवक युवती मात्र होइन स्यादे, आङदुङ, चे, गोकों, सुर्के, गुनी, स्यादे, शेल्दो, बक्कु जस्ता पहिरन हरेक उमेरका महिला पुरूष लगाइरहेका हुन्छन् । भेषभुषा मात्र होइन, तामाङ संस्कृति र जीवनशैली नजिकबाट अवलोकन र अध्ययन गर्न उपयुक्त स्थान हो, गत्लाङ ।


यहाँका बासिन्दा वैशाख लागेपछि माथितिरको गोठमा, बारीमा वा जंगलतिर बस्ने चलन छ । स्थानीय सिंगीका अनुसार असोज कात्तिकपछि फेरि तल ओर्लिने गर्छन् । याक र भेडा पाल्नुका साथै यहाँका महिला ऊनबाट आफूले प्रयोग गर्ने पोशाक तयार गर्छन् ।


वैशाख र मंसिर पुर्णिमामा हप्तादिन मेला लाग्छ । जनैपुर्णिमामा पनि पार्वती कुण्डमा मेला लाग्ने गर्छ । पार्वती कुण्डलाई स्थानीय भाषामा छोदिङ्मो भन्ने गरिन्छ, जसको अर्थ हुन्छ लामो आयु दिने माता । अर्को अर्थ हो गहिरो कुण्ड । यहाँ निर्मित ढुंगाका संरचना कहिलेदेखिका हुन् भन्ने यकिन नभएपनि तामाङ समुदाय हजारौं वर्षअघि आफ्ना पुर्खाले बनाएको भन्दै यसको संरक्षण गरिरहेका छन् । तामाङ समुदायको विभिन्न थरलाई वर्षैपिच्छे यसको मर्मत सम्भार गर्ने जिम्मेवारी दिइँदै आइको छ ।


आमा छोदिङ्मो गाउँपालिकामा पर्ने गत्लाङको माथिल्लो भेग हिउँदमा हिउँले ढाकिएको हुन्छ । पार्वतीकुण्ड भन्दा माथिको स्थानलाई गोम्बोले भन्छन्, जसको अर्थ सम्म भूभाग भन्ने हुन्छ । त्यहाँबाट लाङटाङ हिमाल र साङ्जेन हिमाल, गणेश हिमश्रृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।


प्राकृतिक रूपमा पनि उत्तिकै धनी छ गत्लाङ । यहाँ तीन रंगका गुँरास पाइन्छन् । बेंसीमा पाइने रातो रंगको गुराँस स्वास्थ्यको दृष्टिले राम्रो र खानयोग्य मानिन्छ । अर्को गुलाफी र सेतो गुराँस भने खान मिल्दैन । गत्लाङ महत्वपूर्ण र दुर्लभ जडिबुटी पाइने स्थान पनि हो । बोजो, जटामसी, चिराईतोदेखि केही मात्रामा यार्सागुम्बा पनि पाइने स्थानीय बताउँछन् ।


प्रकाशित : वैशाख २४, २०७५ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?