काठमाडौँ — रैथाने ३० वटा नेपाली खानालाई विश्व बजारमा पुर्याउने अभियानअन्तर्गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कुक बुक र भिडियो सार्वजनिक गरेका छन् ।
देशभरबाट संकलित २ सयवटा रैथाने परिकारमध्येबाट छानिएका खाना, पकाउने विधि, सामग्री पुस्तकमा समेटिएका छन् । ‘छानिएका खानाको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षण गराई पोषण तत्त्व आदिको प्रमाणीकरण गरिएको यस अभियानका संयोजक तथा होटल संघ नेपालका महासचिव विनायक शाहले बताए । यस अभियानको सुरुआत सात महिनाअघि गरिएको थियो । यसमा पर्यटन व्यवसायी कर्ण शाक्यसहित नेपाली सेफहरू सम्मिलित थिए ।