२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वर्षा नआउँदै बाढीले सास्ती

आश गुरुङ

लमजुङ — राइनास नगरपालिका ६  धमिलिकुवा र ८ तार्कुघाटको सीमामा लुखोला छ । तार्कुघाटमै भैंसेखोला पनि छ ।

वर्षा नआउँदै बाढीले सास्ती

यी दुवै ठाडाखोला हुन् । निर्माणाधिन मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने यस ठाउँको तल्लो भेगमा घाम लागिरहेपनि माथिल्लो भेगमा पानी पर्दा खोला पार गर्न स्थानीयलाई सधैंको सास्ती र जोखिम हुन्छ ।


तार्कुघाट–धमिलिकुवा–बोराङखोला सडकमा पर्ने उक्त खोला पार गर्दै दैनिक सार्वजनिक सवारी, राइनास नगरपालिका कार्यालय जानेआउने सेवाग्राही, विद्यालयको गाडीमात्रै नभइकन मध्यपहाडी लोकमार्गकै टिपर, ट्रक तथा मालबहाक एवं अन्य सवारी साधन गुड्ने गर्छन् । तर, खोलामा आएको बाढीले ती सवारी घण्टौं रोकिनु परेको स्थानीय बताउँछन् ।

तार्कुघाटका स्थानीय मीनप्रसाद रानाभाटका अनुसार लुखोला बढ्दा मानिसलाई समेत बगाउने गरेको छ । वारपार हुन नसक्दा कयौंका काम अलपत्र परेका छन् । घुमेर जाने कुनै ठाउँ छैन । ‘लुखोला बौलायो भने त साह्रै आपत छ । मान्छे त तर्नै सकिँदैन, गाडी समेत फस्छ’ उनले भने ।


बाढीले दैनिक ओहोरदोहोर गर्ने स्कुले केटाकेटी बढी मर्कामा परेका छन् । कहिले स्कुल नै जान नसक्ने र कहिले स्कुलबाट फर्कदा समस्या पर्ने गरेको राइनास ८ कल्लेरीका ६७ वर्षीय सेते विकले बताए । नर्सरीमा पढ्दै गरेका नाती आयुषलाई उनी सधै स्कुल बसमा राखेर लानेल्याउने गर्छन् । ‘खोला बढेपछि न आफैं तर्न सक्नु, न बस नै’ उनले भने, ‘बिहानै बाढी आए नातीले पढ्न पाउँदैन । दिउँसो बाढी आए घर आउन पाइँदैन ।’

धमिलिकुवास्थित राइनास भिजन इङ्ग्लिस बोर्डिङ स्कुलका सवारी चालक दुर्गाबहादुर रानाभाटका अनुसार बाढीले बस रोकिँदा समयमा स्कुल र घर पुर्‍याउन नसकिएको बताए ।


सडकका बीचबीचमा ठाडा खोला रहेपनि पूल निर्माण गरिएको छैन । वरपरका सडक ग्राभेल हुने क्रममा छन् । ‘वर्षा सुरु भएपछि यस्ता समस्या पहिल्यैदेखिको हो’ मध्यपहाडि लोकमार्गकै ट्रिपर चालक रामबहादुर विकले भने, ‘बाढीले पहिलेको खोलाले खनेको भाग थप गहिरो बनाउँदै लगेपछि गाडी तार्न सकिन्छ न त केही गर्नै सकिन्छ ।’

खोलामा गाडी फसेपछि खोला सुक्ने आशमा बस्नुबाहेक अरु विकल्प नभएको बताए । ‘सवारी फसेपछि डोजर ल्याएर खोला सम्याउनुका साथै ढुंगामुढा राखेर तार्नुपर्ने अवस्था छ’ उनले भने, ‘ट्रक त जसोतसो पार गर्ला, अन्य सवारी साधन भने तर्न नसकेर यात्रु समस्यामा पर्ने गरेका छन् ।’ उनका अनुसार खोलाले दायाँबायाँ कटान गरेर पहिरोको जोखिम पनि निम्त्याएको छ । सडक विस्तारको काम चलेपनि पानी आउने समयमा बाढी पहिरोले सडक भत्काइदिने गरेको छ ।


राइनास नगरपालिकाभित्रको मुख्य सडक धमिलिकुवा–बोराङखोला सडकको १० किलोमिटर सडक स्तरोन्नति हुँदैछ। स्तरोन्नति हुँदै गर्दा हिलाम्य बाटोमा सवारी दुर्घटना हुने गरेको छ । उक्त सडक नपुग्दैको निर्माणाधिन मध्यपहाडि लोकमार्गमा पनि हिलाम्य सडकले जोखिम बढ्दो रहेको स्थानीय बताउँछन् । पूर्वी क्षेत्रको बोराङखोलाबाट उक्त बाटो हुँदै बेंसीसहर आवतजावत गर्ने गर्छन् ।

राइनासकै तार्कुघाट, मोहोरियाकोट, प्यारजुङ लगायत गाउँका स्थानीय दैनिक सेवा लिन तीतपिप्लेस्थित गाउँपालिका कार्यालय आउनेजाने गर्छन् । तर, ती खोलाहरुमा पूल नबन्दा सेवाग्राही जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । आकाशको बादल हेरेर पानी पर्ने वा नपर्ने निक्र्योल गरी सेवा लिन आउनेजाने गर्ने गरेका छन् ।


सडक विभाग अन्तर्गत पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना (पश्चिम खण्ड) को लमजुङ क्षेत्रका इन्जिनियर सन्तोष थापाले लुखोलामा १५ मिटर लम्बाईको २ लेनको मोटरेवल पूल निर्माणको तयारी गरिएको बताए ।

भैंसेखोलामा पूलको डिजाइन हुँदै गरेको बताए । ‘दुवै खोलामा पूल निर्माण भएपछि नागरिकले सास्ती व्यहोर्नुपर्ने छैन’ उनले भने । उनका अनुसार लुखोलाको मोटरेवल पूलको निर्माण कार्य आगामी असोजमा सक्नेगरी काम अघि बढाइएको छ । स्थानीयले भने वर्षायाममा उक्त खोलामा काम हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७५ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?