कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निगमको वाईडबडी विमान तयार भयो

पहिलो एयरबस असार १४ मा काठमाडौंमा अवतरण गर्दै 
सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले यही असार १४ गते पहिलो वाइड बडी ए३३० विमान काठमाडौंमा आइपुग्ने दाबी गरेको छ  । निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले निर्माता कम्पनी एयरबसले एउटा जहाज तयार भइसकेको जनाउँदै अर्को वाइड बडी ए३३० भदौसम्म काठमाडौंमा आइसक्ने बताए । ‘असार १० गते विहान साढे १० बजे नयाँ विमान काठमाडौं आइपुग्ने कार्यक्रम छ,’ कशांकारले भने । उनका अनुसार, फ्रान्सबाट उड्ने पहिलो विमानले साढे ८ घन्टाको उडान भर्ने छ ।

निगमको वाईडबडी विमान तयार भयो

नयाँँ विमानमा १६ वटा बिजनेश श्रेणीकासहित २ सय ७४ सिट छन् । पहिलो विमानले अहिले निगमले उडान भरिरहेको काठमाडौं–दोहो–काठमाडौं सेक्टरमा उडान भर्ने छ । तीन महिनापछी मात्रै नयाँ रुटमा उडाउने कंशाकारले बताए । ‘एउटा नियम रहेछ, नयाँँ विमानले शुरुमा नयाँ रुटमा उड्न नपाउने, पुरानै रुटमा उडेको २/३ महिनापछी मात्रै नयाँ रुटमा उड्नुपर्ने रहेछ’, कशांकारले भने ।

नयाँँ विमानको पछिल्लो अवस्थाबारे जानकारी लिन चतैमा निमित्त महाप्रबन्धक गणेश चन्द, पर्यटन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोल र निगमका वित्तीय निर्देशक उमेश पौडेलसहित ८ जना अधिकारीहरू चैतमा फ्रान्सको टुलुज पुगेर फर्किसकेका छन् । उक्त टोलीमा निगमलाई ऋण उपलब्ध गराउने कर्मचारी सञ्चय कोषबाट तीन र नागरिक लगानी कोषबाट दुईजना कर्मचारी थिए ।


यो टोलीपछि जहाजको अवस्था हेर्न फेरि महाप्रवन्धक कशांकारसहित पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, निगमको संचालक समितिका सदस्य अच्युत राज पहाडी, मुक्तिराम पाण्डे र निमा नुरु शेर्पा पनि फ्रान्स घुमेर फर्किसकेका छन् । उनीहरुले जहाजको अवस्थाबारे कुनै प्रतिवेदन सार्वजनिक भने गरीसकेका छैनन् । कशांकारले नेपाल वायुसेवा निगमको वाइडबडी विमान आगमनपछी अमेरिकाको न्युयोर्कसम्म पुग्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरिसकेका छन् ।

‘वाइडबडी ल्याइसकेपछि हाम्रो गन्तव्य लन्डनसम्म हो । लन्डनपछिको अर्को हब न्युयोर्क हुनेछ’, कंसाकारले त्यस सम्मेलनमा भनेका थिए, ‘सिड्नी, जापान, कोरिया, दम्माम र युरोपियन सहरमा जानैपर्छ ।’ २०४६ साल ताका निगम ११ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उड्थ्यो । तर, अहिले अन्तर्राष्ट्रियतर्फ आठवटा गन्तव्यहरु हङकङ, बैंकक, मलेसिया, दिल्ली, मुम्बई, बैंगलोर, दोहो र दुवईमा मात्रै उडान भर्दै आएको छ ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए ३२० र एउटा बोइङ ७५७ मात्र छन् । निगमले दुईटा वाइडबडी खरिदकालागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको छ । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ । निगमले यी दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको छ ।


प्रकाशित : जेष्ठ २२, २०७५ २३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?