दूधमा साेडै सोडा

४२ ब्राण्डका दूध मध्ये ४० मा साेडा भेटियो
सुरज कुँवर

काठमाडौँ — अहिले काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध (पाउच) उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन् । 

कृषि उपजमध्ये सहरबाट सर्वाधिक मुद्रा गाउँ पुर्‍याउने यो मुख्य वस्तुको गुणस्तर खस्केको, स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट भएको गुनासो तालुक मन्त्रालयसमक्ष पुगेपछि सोमबार कृषिमन्त्री चक्रपाणि खनालले राजधानीका चारवटा डेरीमा छापा मारे ।

Yamaha

कृषि राज्यमन्त्री रामकुमारी चौधरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, फुड इन्स्पेक्टरसहित बालाजु औद्योगिक क्षेत्र पुगेका मन्त्री खनालले औद्योगिक क्षेत्रभित्र सञ्चालित आधुनिक डेरी प्रोडक्ट लिमिटेड, सामूहिक कृषक लिमिटेडको सुलभ दूध, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र औद्योगिक क्षेत्र बाहिरको पुष्प डेरी फार्ममा छापा मारेका थिए।

यी सबैमा सरसफाइको कमी देखिन्थ्यो । यीमध्ये दूध बनाउन प्रयोग गरिने धूलो दूधका बोरामा उत्पादन म्याद नखुलेको भेटिएपछि आधुनिक डेरीका ३ र पुष्प डेरीको एक गरी ४ वटा गोदाममा मन्त्री खनालले सिलबन्दी गराए । धूलो दूध बाक्लो दही बनाउन तथा दूधमा हुने ठोस पदार्थ (एसएनएफ) को मात्रा बढाउन प्रयोग गरिन्छ । त्यस्तै उद्योगीले किसानबाट दूधकम संकलन नहुने अवस्थामा धूलोबाटै प्रशोधित दूध बनाई चिल्लो पदार्थ (फ्याट) मिश्रण गरी बिक्री गर्छन्।

आधुनिक डेरीको गोदाममा राखिएको चितवन मिल्क लिमिटेडको राहुल ब्रान्डको धूलो दूधमा उत्पादन मिति/म्याद लेखिएको भेटिएन । गोदाममै कर्मचारी सुत्ने गरेको, सरसफाइ नगरिएको पनि देखियो । दूध र दुग्धजन्य पदार्थको गुणस्तर अभिवृद्धि गर्न राम्ररी उत्पादन गर्ने व्यवहार (जीएमपी) लागू भइसकेको छ । तर डेरीहरूले जीएमपी पालना राम्ररी गरेको देखिएन । डीडीसीको प्रशोसन कक्ष र उपकरण धेरै पुराना देखिन्थे ।

कारखानाबाहिर सरसरफाइको कमी तथा फुटेका दूधका पोकामा झिंगा देखिन्थे । कारखानाभित्र कर्मचारी बिना पन्जा दूध उत्पादन, संकलन गरिरहेका देखिन्थे । सबै डेरीका दूध राख्ने क्यारेट अत्यधिक फोहोर थिए।

मन्त्रीले बालाजुमा छापा हान्नुअघि २५ डेरी उद्योगका ४२ वटा ब्रान्डका दूध पाउच संकलन गरेका थिए । यी मध्ये ४० वटामा मानव स्वास्थ्यलाई हानिकारक हुने सोडियम बाई कारबोनेट (सोडा) फेला परेको महानिर्देशक कर्णले बताए। सोडा दूध फाट्नबाट जोगान प्रयोग गरिएको देखिन्छ। यो स्वास्थ्यका लागि हानिकारक हो। नेपालमा दूधमा सोडा मिसाउन अवैधानिक मानिन्छ।

‘१७ वटा ब्रान्डमा व्यवसायीले चिल्लो पदार्थ (फ्याट) घटाएर प्याकेजिङ गरेको भेटियो,’ महानिर्देशक कर्णले भने, ‘९ वटामा ठोस पदार्थ (एसएनएफ) मापदण्डभन्दा न्यून भेटियो।’

दूधका पाउचमा फ्याट ३ र एसएनएफ ८ लेखिएको हुन्छ । यो मापदण्ड हो। दूधलाई फाट्नबाट जोगाउन सोडा हालेको देखिएको छ । कोलिफर्मलगायत जीवाणु भए/नभएको जाँच्न ७२ घण्टा प्रयोगशालामा राख्नुपर्ने भएकाले यसबारे बुधबार मात्रै जानकारी पाइने छ।

‘उपभोक्ताप्रति कोहीपनि उत्तरदायी देखिएनन्,’ मन्त्री खनालले अनुगमनका क्रममा भने, ‘जनताको स्वास्थ्यमा खेलबाड भइरहेको छ । अधिकांश डेरी उद्योगको मापदण्ड पुग्दैन । पाउडर भरमार प्रयोग गरिएको छ । खाद्य प्रविधिले पनि कडाइपूर्वक छानबिन गरेको देखिएन।’

दूधजस्तो संवदेनशील पदार्थको उत्पादनमा डेरीहरूले पर्याप्त ध्यान नपुर्‍याएको विषयलाई प्रधानमन्त्री र मन्त्रि परिषद्मा लैजाने बताउँदै मन्त्रीखनालले कानुन संशोधन तथा नयाँ आवश्यक भए ल्याउने बताए । यसअघि बुधबार डीडीसीले मन्त्रालयलाई राजधानीका १२ वटा डेरीको दूधको गुणस्तर जाँचेर प्रतिवेदन बुझाएको थियो। त्यो प्रतिवेदनले ७ वटा ठूला डेरीले दूधमा सोडा मिसाउने गरेको प्रतिवेदन दिएको छ।

प्रकाशित : जेष्ठ २८, २०७५ २२:४१
प्रतिक्रिया
पठाउनुहोस्

निगमको वाईडबडी विमान तयार भयो

पहिलो एयरबस असार १४ मा काठमाडौंमा अवतरण गर्दै 
सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले यही असार १४ गते पहिलो वाइड बडी ए३३० विमान काठमाडौंमा आइपुग्ने दाबी गरेको छ  । निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले निर्माता कम्पनी एयरबसले एउटा जहाज तयार भइसकेको जनाउँदै अर्को वाइड बडी ए३३० भदौसम्म काठमाडौंमा आइसक्ने बताए । ‘असार १० गते विहान साढे १० बजे नयाँ विमान काठमाडौं आइपुग्ने कार्यक्रम छ,’ कशांकारले भने । उनका अनुसार, फ्रान्सबाट उड्ने पहिलो विमानले साढे ८ घन्टाको उडान भर्ने छ ।

नयाँँ विमानमा १६ वटा बिजनेश श्रेणीकासहित २ सय ७४ सिट छन्। पहिलो विमानले अहिले निगमले उडान भरिरहेको काठमाडौं–दोहो–काठमाडौं सेक्टरमा उडान भर्ने छ। तीन महिनापछी मात्रै नयाँ रुटमा उडाउने कंशाकारले बताए। ‘एउटा नियम रहेछ, नयाँँ विमानले शुरुमा नयाँ रुटमा उड्न नपाउने, पुरानै रुटमा उडेको २/३ महिनापछी मात्रै नयाँ रुटमा उड्नुपर्ने रहेछ’, कशांकारले भने।

नयाँँ विमानको पछिल्लो अवस्थाबारे जानकारी लिन चतैमा निमित्त महाप्रबन्धक गणेश चन्द, पर्यटन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोल र निगमका वित्तीय निर्देशक उमेश पौडेलसहित ८ जना अधिकारीहरू चैतमा फ्रान्सको टुलुज पुगेर फर्किसकेका छन्। उक्त टोलीमा निगमलाई ऋण उपलब्ध गराउने कर्मचारी सञ्चय कोषबाट तीन र नागरिक लगानी कोषबाट दुईजना कर्मचारी थिए।

यो टोलीपछि जहाजको अवस्था हेर्न फेरि महाप्रवन्धक कशांकारसहित पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, निगमको संचालक समितिका सदस्य अच्युत राज पहाडी, मुक्तिराम पाण्डे र निमा नुरु शेर्पा पनि फ्रान्स घुमेर फर्किसकेका छन्। उनीहरुले जहाजको अवस्थाबारे कुनै प्रतिवेदन सार्वजनिक भने गरीसकेका छैनन्। कशांकारले नेपाल वायुसेवा निगमको वाइडबडी विमान आगमनपछी अमेरिकाको न्युयोर्कसम्म पुग्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरिसकेका छन्।

‘वाइडबडी ल्याइसकेपछि हाम्रो गन्तव्य लन्डनसम्म हो। लन्डनपछिको अर्को हब न्युयोर्क हुनेछ’, कंसाकारले त्यस सम्मेलनमा भनेका थिए, ‘सिड्नी, जापान, कोरिया, दम्माम र युरोपियन सहरमा जानैपर्छ।’ २०४६ साल ताका निगम ११ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उड्थ्यो। तर, अहिले अन्तर्राष्ट्रियतर्फ आठवटा गन्तव्यहरु हङकङ, बैंकक, मलेसिया, दिल्ली, मुम्बई, बैंगलोर, दोहो र दुवईमा मात्रै उडान भर्दै आएको छ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए ३२० र एउटा बोइङ ७५७ मात्र छन्। निगमले दुईटा वाइडबडी खरिदकालागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको छ। यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ। निगमले यी दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको छ।

प्रकाशित : जेष्ठ २२, २०७५ २३:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT