कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असारे विकासको परिणाम

माधव अर्याल

पाल्पा — असार मसान्त आउन लागेपछि हतारमा काम सुरु गरेका निर्माण व्यवसायीले पानी, धुलो, माटो माथि नै कालोपत्रे गरेका छन् । वर्षौदेखि निर्माण कार्य अलपत्र रहेको तानसेन–तम्घास सडकको हार्थोक–रिडी खण्डमा मर्मत गर्दा चिसो र पानी माथि नै कालोपत्रे बिच्छ्याएको हो ।

असारे विकासको परिणाम

रिब्दीकोट गाउँपालिका, ४ भैरवस्थानका तिलक गाहालगायतले गुणस्तरहीन कालोपत्रे गरेको देखेपछि त्यसको उप्काएर बिरोध गरेका हुन् । ‘चिसो मात्र होइन, पानी नै भएको बाटोमा कालोपत्रे बिच्छ्याएको देखियो,’ उनले भने, ‘उप्काउँदा गुन्द्री जस्तै उप्किन्छ ।’


सरकारी रकमको दुरुपयोग मात्र नभएर जनताको रगत, पसिनाबाट तिरेको करको दुरुपयोग भएको उनले बताए । निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्दा सडक डिभिजन कार्यालय भने अनुगमनका लागि एक पटक पनि सम्बन्धित स्थानमा नआएको उनले बताए ।

सडक चौडा, स्तरोन्नति र मर्मतको नाममा खाल्डाखुल्डी, हिलाम्मे सडकमाथि निर्माण कम्पनीले मनलागि हिसाबले गुणस्तरहीन कालोपत्रे गरेको छ । निर्माण व्यवसायीले महिना दिनमै उप्किने गरी कालोपत्रे गरेको स्थानीयको आरोप छ । बिटुमिनले गिट्टी, सरफेसलाई समाएको छैन । कालोपत्रेलाई हातले सहजै उप्काउन सकिने अवस्थामा छ । आर्थिक वर्ष सकिन लाग्दा बजेट सिध्याउँन सडक डिभिजन कार्यालय र निर्माण व्यवसायीको मिलेमतोमा गुणस्तरहीन काम भएको आरोप छ ।


सडक निर्माणको ठेक्का लिएको निर्माण कम्पनी साइन कन्सट्रक्सन प्रालिले यहाँ कालोपत्रेको काम गरेको छ । कामदारहरु घरजाने तयारीमा रहेका बेला हतारहतारमा सडक कालोपत्र गरेको निर्माण कम्पनीका प्रमुख चुरा खत्रीले बताए । ‘कालोपत्रे गर्दा कमजोरी भएको छ,’ उनले भने, ‘कामदारबाट गुणस्तरहीन काम भएको छ । यसलाई पुरै उप्काएर पुन: काम गराउँछु ।’ उप्किएको कालोपत्रे सबै हटाएर पुन: गुणस्तरयुक्त गर्ने प्रतिवद्धता जनाएको छ ।

स्थानीय बासिन्दाले यस विषयमा कुरा नउठाएको भए व्यवसायीको सोही अनुसारकै बिल सडक डिभिजनले पास गर्ने र भुक्तानी दिने थियो । खाल्डाखुल्डी, माटो, पानी भएको सडकमै कालोपत्रे गरेका कारण कालोपत्रे उप्केको ठेकेदारले स्वीकार गरेकाले सो सडक क्षेत्रमा पुन: कालोपत्रे गर्न निर्देशन दिएको सडक डिभिजन प्रमुख बाबुराम सापकोटाले बताए ।


साइट इन्चार्ज, इन्जिनियर, डिभिजन प्रमुख कोही पनि उक्त सडकको अनुगमनका लागि गएका छैनन् । सडक लेन्थमेनका सुपरभाइजर केशव शाहीलाई अनुगमनको जिम्मा दिइएको छ । दैनिक सयौं सवारीसाधन संचालन हुने तानसेन–तम्घास सडक खण्डमा कालोपत्रेको काम हुँदा सडक डिभिजनबाट अनुगमन नभएको स्थानीयले बताए ।


प्रकाशित : जेष्ठ ३०, २०७५ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?